Powered by Blogger.
शिक्षक र अभिभावकको द्धन्द्ध, तिन वर्षदेखि विद्यालयमा ताला

विद्यालयमा तालाबन्दी भएपछि विद्यालय बाहीर चौरमा विद्यार्थीलाई पठनपाठन गराउँदै भोलेन्टीयर शिक्षकहरु । 
जरायोटार (सिन्धुली) १२, फागुन । शिक्षक र अभिभावकविचको विबादका कारण जिल्ला सदरमुकाम नजिकैको एक प्रावि विद्यालयमा तिन वर्ष चार महिना अघिदेखि लागेको ताला अझै खुल्न सकेको छैन् ।
विद्यालयका शिक्षीकाहरुले नौ वर्षदेखि अभिभावक भेला नगराएको, लेखापरिक्षण समेत नगरी  आर्थिक हिनामिना गरेको भन्दै गत २०६९ असोज १८ गतेदेखि कमलामाई नगरपालिका ४ जरायोटार को मनकामना प्राविमा अभिभावकले लगाएको तालबान्दी अझै खुल्न नसकेको हो । उक्त विद्यालयको तालाबन्दी खुलाउने विषयमा विगत दुई वर्षदेखि कुनैपनि तहमा संवाद तथा विधि अपनाइएको छैन् ।
नौं वर्षदेखि विद्यालयमा भएको अनियमितताको छानविन गर्नु पर्ने, प्रअ विनु खड्का, शिक्षीका कमला खड्का र विद्यालय सहयोगी मैयाँ कार्कीलाई कारबाही गरिनु पर्ने अभिभावकको माग छ । दुबै शिक्षीका राहत दरबन्दीका हुन् ।
तर, आफुहरुले कुनै पनि अनियमितता नगरेको बरु विद्यालयमा गैर अभिभावकहरुले विद्यालय व्यवस्थापन समिति कब्जा गर्न खोजेपछि विवाद हुँदा अभिभावकले तालाबन्दी गरिदिएको शिक्षीकाहरु बताउँछन् । 
विद्यालयमा लगाएको तालाबन्दी चालिस महिनादेखी नखुल्दा बालबालिकाहरु कहिले खुल्ला आकाश मुनी चिसो भुइमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा जिल्ला शिक्षा कार्यालयले विवादको समाधान तथा अन्य विकल्प नदीदाँ उक्त विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । विद्यालयमा भएको आर्थिक अनियमितताका सम्बन्धमा छानविन गरिदिन अख्तियार दुरुपयोग आयोगमा समेत उजुरी गरेपनि कुनै पनि छानविन हुन नसकेको अभिभावकहरुको गुनासो छ । विद्यालयमा भएको अनियमितताको छानविन गर्नु पर्ने माग गर्दै ताला लगाएको चालिस महिना भइ अभिभावकको मागको सुनुवाइनै नहुँदा ताला नखुलेको स्थानीय अभिभावक तेजबहादुर रानाको भनाई छ ।
‘विद्यालयको हिसाव किताब हेर्दा चित्त नबुझेपछि नौं वर्षदेखिको हिसाव किताब छानविन गरिदिन माग गरेपनि सम्बन्धित निकायले चासो नदिँदा तालाबन्दी गरिएको हो,’ उनले भने ।  विद्यालयको हिसाव माग गर्दै विद्यालय व्यवस्थापन समिति समेत बदल्न माग गर्दा शिक्षक र अभिभावक विचको दुरी बढ्दै गएको उनले थपे । तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर रानासंगको मिलेमतोमा आर्थिक अनियमितता भएको अभिभावकको अरोप छ । ‘नौं वर्षदेखि विद्यालयको कुनै पनि हिसाव किताव अभिभावकलाई थाहा छैन्,’ अर्का अभिभावक पूर्ण विकले भने, ‘हिसाव माग गर्दा नदेखाएपछि विद्यालयमा विवाद सुरुभई तालाबन्दी गरिएको हो ।’ भ्रष्ट शिक्षकलाई छानविन गरी कारबाही नभएसम्म कुनै हालतमा विद्यालयको ताला खोल्न नदिने अभिभावकको चेतावनी छ । अहिले विद्यालयमा अभिभावकहरुलेनै स्वयमसेवक शिक्षकहरु खटाएर पठन पाठन गराउँदै आएका छन् । उनिहरुलाई तलब भत्ता समेत दिन नसक्दा विद्यालयमा नियमित पठनपाठन समेत हुन सकेको छैन् । 
उता उक्त विद्यालयका प्रअ विनु खड्काले भने आफुहरु महिला भएका कारण आरोप लगाइएको जिकिर गर्छिन् । ‘हामीले कुनै पनि कमजोरी गरेका छैनौं । अभिभावकहरुले गैर अभिभावकलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन दवाव दिएको भएपनि नियमभन्दा बाहिर जान नमिल्ने भन्दा आफुमाथी अनेकौं आरोप लगाइएको छ । यो सरासर झुटो हो,’ उनले भनिन् । 
अभिभावकले उक्त विद्यालयमा आफ्ना बालबालिकानै नभएका स्थानीय प्रेमबहादुर भण्डारीलाई विद्यालयको व्यवस्थापन सुधार गर्न भन्दै सर्वसम्मत चयन गर्न दवाव दिएका थिए । विद्यालयमा आफुहरुलाई हाजिर हुन नदिएपछि शिक्षा कार्यालयले खटाएको विद्यालयमा हाजिर भएर अर्की शिक्षीका कमला खड्का सहित आफुले पनि त्यहि विद्यालयमा पठनपाठन गराउँदै आएको उनको भनाई छ । खड्काले आफुहरु चालिस महिनादेखि छिमेकी विद्यालयमा काजमा काम गर्दै आएको बताउँछीन् । उक्त विद्यालयकी कार्यालय सहयोगी कार्कीले भने राजीनामा दिइसकेकी छिन् ।
विद्यालयमा चालिस महिना देखि तालबान्दी हुँदा विद्यार्थीहरुले छात्रवृत्ति, पाठ्य पुस्तक, खेलकुद सामाग्री लगायतका सुविधाबाट समेत बन्चित भएका छन् । विद्यालयमा लागेको तालबन्दी खुल्न नसकेपछि शिक्षा कार्यालयले यस्ता सबै सुविधा कटौती गर्दै आएको छ । विद्यालयमा लागेको ताला खुलाउँन विवाद मिलाउने विषयमा विभिन्न चरणमा छलफल तथा विभिन्न प्रयास गरिएपनि सफल नभएको जिल्ला शिक्षा कार्यालयले जनाएकाे छ । 


, ,

0 comments

Write Down Your Responses