Powered by Blogger.
परीक्षणमा गगन गर्जन !



नरेन्द्र चुडाली 
गगन थापा यस्ता राजनीतिक पात्र हुन जो हरेक असम्भवलाई सम्भव देख्छन् र राजनीतिमा ठूला ठूला जोखिम मोल्न सक्ने तागत राख्दछन् । कुनै बेला नेपाली काङ्ग्रेस संवैधानिक राजतन्त्रको आधिकारिक प्रतिनिधि भएर उभिँदा गगन थापा देशमा गणतन्त्रको आवस्यकता छ भनेर पार्टीभित्र बहस चलाउने हिम्मत गर्थे । जुन हिम्मत गर्ने आँट काङ्ग्रेसभित्र अरु कसैमा देखिएन् । डा. केसीले अख्तियार प्रमुखलाई लगाएका आरोपका सन्दर्भमा अन्य सासंसदहरु सुनेको नसुनेझैँ गरिरहँदा गगन थापाले कार्की विरुद्धका आरोपको बारेमा छलफल हुनुपर्ने भन्दै संसदमा प्रस्ताव दर्ता गराएर एक किसिमको बाहादुरी देखाए । उनी विद्यार्थी राजनीतिदेखि नै अग्रगामी र निडर व्याक्ति थिए । त्यसैले त गगन थापालाई पार्टिभित्र पनि अघिल्लो पुस्ताबाट जबरजस्त थिच्ने प्रयास भयो । तर उनी हारेनन् । अन्ततः काङ्ग्रेस पनि गणतन्त्रकै लाइनमा आयो । भलै काङ्ग्रेसको गणतन्त्रमा जाने निर्णय देशमा विकशित राजनीतिक घटना क्रमको उपज थियो । तर त्यो बाटो गगनले पहिले नै देखिसकेका थिए । आफ्ना आवाज पार्टीभित्र बुलन्द पारिरहेका थिए । त्यसबाट पनि प्रष्ट हुन्छ गगन थापाका निर्णयहरु अग्रगामी हुन्छन् भनेर ।

राजतन्त्रको अन्त्य र गणतन्त्रको प्राप्तिका लागि भएको ०६२÷६३ को जनआन्दोलनमा गगन थापा यस्ता पात्र थिए जो आफ्नो भाषणकलाबाट गणतन्त्र प्राप्तिको खातिर सडकमा उत्रिएका लाखौँ युवा जमातको नसा नसामा तातो रगत तरङ्गित गराउन सफल हुन्थे । जुन आन्दोलनको सफलताका लागि तात्कालिक अपरिहार्यता थियो । गगन काठमाडौँका सडक सडकमा गर्जिंदा उनको आवजसँगै हजारौँ युवाहरुको गर्जन नारायणहिटीका शासकको कानमा चर्कैसँंग परेको यथार्थता हो । राजतन्त्रको अन्त्य गरेर देशमा जनताको सर्वोच्चता कायम राख्नका लागि देशैभरी आन्दोलनको राप तात्दै गर्दा त्यो राप काठमाडौँमा अझ आवश्यक थियो । जुन राप सिर्जना गर्नका लागि युवाहरु जुर्मुराउनु अपरिहार्य थियो । त्यसका लागि गगन थापाले आफ्ना भाषण कलाबाट युवा विद्यार्थीलाई जुरुक्कै उचालेर नारायणहिटीलाई धक्का पुर्याएकै हुन् । जसरी माओवादी आन्दोलनबाट प्रचण्डले गरिब पिछडिएका र सर्वहारा जनतामा राजनीतिक चेतनासहित गणतन्त्र आवश्यकताको महसुस गराउन महत्वपूर्ण भूमिका खेले त्यसरी नै गगन थापाले विद्यार्थीहरुको नयाँ युवा पुस्तामा गणतन्त्र आवश्कताको औचित्य पुष्टि गरेर युवाहरुलाई सडकमा कुदाउन महत्वपूर्ण भूमिका खेलेकै हुन् । यस कुरालाई विर्सनु उनीमाथि अन्याय हुनेछ । तर यहाँ गगन लाई जबरजस्त लोकप्रियताको पगरी ओढाउन खोजेको भने पक्कै होइन ।

मात्र गगनका योगदानको समीक्षा गरेको हो । किनभने एउटा राजनीतिक प्राणीका लागि ऊप्रतिका समर्थन र आलोचनाहरु अपरिहार्य हुन्छन् । भलै यसमा अरुको पनि योगदान राम्रो छ । तर समकालीन पात्रभन्दा गणतन्त्रको आन्दोलनमा युवा नेता गगन थापाको भूमिका बढी नै छ भन्नु न्यायोचित नै हुन्छ । त्यसैले त गगन थापाको लोकप्रियता एकाएक चुलियो । युवा पुस्तामा उनी एउटा आशाका केन्द्र भए । उनीप्रतिका अपेक्षाहरु बढ्दै गए । उनलाई आफ्नो भरोसाका पात्र र आफ्नो पुस्ताको अघोषित प्रतिनिधि नै बनाए युवाहरुले । चाहे त्रिचन्द्र कलेजमा राजनीति गर्दा होस् चाहे राष्ट्रिय राजनीतिमा सकृय रहँदा गगन सधैँ चर्चित पात्र नै रहँदै आएका छन् । उनको उपस्थितिलाई अहिले हरेक ठाउँमा महत्व दिन थालिएको छ । यसको मुख्य कारण हो, गगनको अग्रगामी सोच र दृढ आत्मविश्वास । गगन सधैँ असम्भवलाई सम्भव देख्छन् । उनी चलिरहेको प्रवृत्तिभन्दा फरक गतिमा हिँड्ने प्रयास गर्छन् । जुन धेरै हदसम्म औचित्यपूर्ण हुन्छ । अब देशको अग्रगामी आर्थिक समृद्धिका लागि परम्परागत शैलीबाट बाहिर आएर नैतिक र वैज्ञानीक ढङ्गले चल्नु आवस्यक छ । जुन सोचको प्रतिनिधित्व गगनले गर्दै आएका छन् । आफूले ५५ वर्षमा राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका गगन थापा अहीले सम्म जुन भूमिकमा रहेका छन् । त्यो भूमिकमहरुलाई अन्याय हुन दिएका छैनन ।

अब युवाहरुलाई अवसर दिनुपर्छ भनेर पार्टीभित्र र बाहिर आवाज बुलन्द पार्ने गगन बोल्ने मात्र होईन गरेरै देखाउँछ भन्ने कुरा विविध घेराबन्दी र चुनौतीहरुका बीच पार्टीको १३औँ माहाधिवेशनमा माहामन्त्रीमै उमेदवारी दिएर प्रष्ट पारिसकेका छन् । भलै उनी हारे तर उनको विश्वास र प्रतिबद्धताले जितेको छ । उनले भन्दा दुई चार वटा बढी भोटो फटालेका नेताहरु नेविसङ्घकै चुनावमा नेतृत्वका लागि दावी गर्दै गर्दा उनले राखेका सोच र अग्रगामी पथहरुको सम्मान गर्नै पर्छ ।

उनी अहिले नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् । सम्भवत मन्त्रीपरिषदमा कान्छा सदस्य रहेका गगनको चर्चा मन्त्री भएपछि झन् चुलिएको छ । कुनै बेला प्रचण्डलाई आफूले चुनावमा हराइदिने चुनौती दिने गगन आज प्रचण्डकै नेतृत्वमा सरकारमा मन्त्री भएका छन् । उनलाई आफ्नो भरोसा ठान्ने समर्थकहरुले उनले आजसम्म ब्याक्त गरेका प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने सुझाव दिइरहेका छन् ।

स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिहरुको अन्त्य गर्न र देशका जनताहरुले सर्वसुलभ स्वास्थ्य सुविधा प्राप्त गर्ने वातावण बनाउनु नै गगनको प्रमुख चुनौती हो । आजसम्म आफ्ना विचारबाट लोकप्रिय रहेका गगन अहिले एउटा परीक्षमा सामेल भएका छन् । जुन परीक्षा उनको मात्र नभएर आम युवा पुस्ताको हो । गगन त एउटा प्रतिनिधि पात्र मात्र हुन् । यो परीक्षा पास गर्नु उनको चुनौती हो । फेल भएमा गगनको आजसम्मको लोकप्रियता गुम्ने निश्चित छ ।
जनतामा नेताहरुप्रति चरम निराशा भइरहेको बेलामा एउटा यस्ता पात्र अगाडि आएका छन् जुन पात्रप्रति जनताहरुको अझै पनि भरोसा छ । त्यसैले त्यो जनतामा रहेको भरोसा टुट्न नदिन पनि गगन आफ्नो जिम्मेवारीमा सफल हुनु जरुरी छ । गगनलाई सफलता प्राप्त गर्न यहा कुनै चमात्कार गर्नुजरुरी छैन । मात्र जनहितका कार्यलाई इमान्दारीताका साथ गरिदिए पुग्छ । गगनले नैतिकता देखाउँदै कानुनी राज्य र सार्वजनिक सेवा प्रवाहका मान्यतालाई सम्मान गर्दै नातावाद, कृपावाद र चाकडीवादको अन्त्य गरी आफ्ना हरेक सामार्थ जनहितमा लगाउनु जरुरी छ । जसले देश र जनताको त हित गर्छ नै उनको राजनीतिक भविश्य पनि चम्कने छ ।
चुनौती तथा कार्यहरु के छन् ?
 जनउत्तरदायी बन्न नसकेको कर्मचारी संयन्त्रलाई जनहितमा तन, वचन र मनले काम गर्न सक्ने बनाउनु गगनको प्रमुख चुनौती हो । उनको योजना र भिजनलाई कार्यान्यन गर्ने भनेकै कर्मचारी संयन्त्रबाट हो । यसमा उनलाई सहयोग भएन भने उनी गन्तब्यमा पुग्न सक्ने छैनन् । कर्मचारीबाट असहयोग भएको गुनासो यसअघिका मन्त्रीहरुबाट पनि आउने गरेको थियो । त्यसैले गगन थापा यस मामलामा कडा ढङ्गमा प्रस्तुत हुनुपर्ने देखिन्छ । जसको लागि दण्ड र पुरस्कारको व्यावस्था गर्नु जरुरी छ । कर्मचारीसँग उचित समन्वयको आधार तयार गर्नुपर्नेछ ।
 स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति अनि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा हुने गरेका भष्टचारलाई निर्मुल पार्नु पनि गगन थापाका लागि चुनौती हुनेछ ।
 स्वास्थ्य सेवालाई जनस्तरमा सर्वसुलभ बनाउनका लागि मन्त्रालयगत रुपमा गर्नुपर्ने कामलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।
 मेडिकल क्षेत्र सुधारका लागि गोविन्द केसीले उठाएका सवालहरुको सम्बोधन गर्नु गगन थापाको चुनौती हुनेछ । किनभने यसअघि सबैभन्दा पहिले गोविन्द केसीका मागको समर्थन गर्न टिचिङ जाने गगन थापा नै हुन । लोकमान सिंह बारे छलफल गर्नुपर्छ भनेर संसदमा प्रस्ताव दर्ता गराउने पनि गगन नै पहिला संसद हुन् । अहिले ठाउँमा पुग्दा यी सबालमा काम गर्छन कि गर्दैनन् भनेर धेरैको चासो छ ।
 जिल्ला अस्पतालमा व्याप्त भद्रगोल र गैरजिम्मेबारीपनाको अन्त्यको लागि गगन थापाले आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । धेरै जिल्ला अस्पतालहरुमा एक्सरे मेसिन लगायतका अत्यावश्यक उपकरणहरु बिग्रिँदा जनताहरु स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेकको छ । यसप्रति आवश्यक काम अगाडि बढाउनुपर्ने छ ।
 एउटा सिटामोल खान नपाएर ज्यान गुमाउन बाध्य कर्णालीका जनताहरुको समस्यालाई गम्भीर ढङ्गले सम्बोधन गर्नु अहिलेको आवश्यकता हो ।
 स्वास्थ्य जस्तो अति संवेदनशिल क्षेत्रमा देखिने गरेका दलालीपन, विचौलीया प्रवृत्ति, व्यापारीकरण, कमिसनखोरी र माफीयाकरणको जालो पत्ता लगाई निर्मुल गर्नु पनि गगनको चुनौती हुनेछ ।
 सरकारले दिने निःशुल्क औषधी, सुत्केरी सुविधालाई दूरदराजमा पुर्याएर जनताले प्रत्यक्ष लाभ लिने गरी सर्वसुलभ बनाउनु पर्ने चुनौती पनि एक हो ।
 विरामीको स्वास्थ्मा लापरबाही गरी विरामीको ज्यान जाने क्रम बढिरहेको सम्दर्भमा त्यसको नियन्त्रमा कडा नियम ल्याउनु जरुरी छ ।
 स्वास्थ्य क्षेत्रका कर्मचारी डाक्टरलगायत सम्पूर्ण सरोकारवालाहरुको हकहितका लागि पहल गरी उनीहरुलाई पनि सन्तुष्ट पारी कामप्रति जिम्मेवार बनाउनु जरुरी छ ।
 सीटीईभीटी तथा आईओएमबाट हुने स्वास्थ्यसम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउनुपर्छ । सीटीईभीटीबाट एचए, अनमि, सिएमए लगायतका परीक्षा सञ्चालनमा हुने लापरबाहीसम्बन्धी विद्यार्थीहरुको गुनासोको उचित सम्बोधन गर्नु जरुरी छ ।
 मेडिकल कलेज तथा अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा तथा प्रविधि तथा पूर्वाधारको अनुगमन गर्नु आवश्यक छ ।
 औषधी पसलको नियमित अनुगमन तथा कारबाही अगाडि बढाउन ढिला गर्नु हुँदैन ।
 पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा गगन थापाले प्रयोगमा ल्याउन खोजेको नयाँ सोच जनता क्लिनिकको प्रभावकारिता मूल्याङ्न गर्दै उपयुक्त सावित भए देशका अन्य ठाउँमा पनि यो कार्यक्रम विस्तार गर्दा फलदायी हुन्छ ।

यसर्थ यी जिम्मेवारीहरु गगनलाई चुनौतीका साथ साथै अवसर पनि हुन् । एउटा राजनीतिक व्याक्तिको लागि मन्त्री पद क्षमता परीक्षणको सूचक मानिन्छ । त्यसैले यो मन्त्री पद गगनको राजनीतिक करियरको टर्निङ प्वाइन्ट पनि हो ।

आम युवा पुस्ताहरु गगनले राजनीतिमा नयाँपन ल्याउनुपर्छ भनेर खबरदारी गरिरहेका छन् । किनभने अहिलेको युवा पुस्ता गगनको सफता र असफताको अंशियार बन्नुपर्नेछ । अतः गगनले आफ्ना प्रयत्नहरु जनतालाई शिरमा राखेर अगाडि बढाउनुपर्ने छ । जनताहरु हरकदम साथमा रहिरहने छन् । गगन गनगन मात्र गर्छ भनेर सुन्न नपरोस । हामी सबैको अपेक्षा यही हो । सफलताको शुभकामना ।
साभारः राताेपाटी डटकमबाट


,

0 comments

Write Down Your Responses