Powered by Blogger.
जिल्ला प्रशासन मार्फत नयाँ शक्तिले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र



सिन्धुली २९ पुस । जनताका सरोकारका मुद्दाहरुमा सरकार उदासिन देखिएको भन्दै नयाँ शक्ति पार्टीले सरकारको ध्यानकर्षण गराएको छ । शुक्रबार नयाँ शक्ति पार्टीले देशभरका ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरी सरकारको ध्यानाकर्षण गरेको हो ।
नयाँ शक्तिले राजनीतिक दलहरुको चरम सत्ता स्वार्थका कारण उत्पन्न दलिय झगडाले राष्ट्रिय पुर्ननिर्माण, संविधान कार्यान्वयन, राष्ट्रिय स्वाधिनता र जनजिविकाका विषयहरु ओझेलमा परेको भन्दै जनताको सरोकारका मुद्दाहरुमा ध्यान दिन सरकारलाई तीन बुँदे ज्ञापनपत्र पेश गरेको छ ।
ज्ञापनपत्रमा मुलुकको राजनीतिक स्थायित्वका लागि नेपालको शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्ने, भ्रष्टाचारविरुद्धको शून्य सहनशिलता, पारदर्शी र सुशासनका लागि शक्तिशाली स्वायत्त संवैधानिक लोकपाल गठन गर्नुपर्ने, भुकम्पपछिको पुनःनिर्माणको काम तत्काल तीव्र रुपमा अघि बढाउनुपर्ने, महंगी कालोबजारीको अन्त्य गर्नुपर्ने लगायतका मागहरु राखेको छ ।
ज्ञापनपत्रमा उल्लेख गरिएको छ, ‘वर्तमान संसदीय प्रणालीबाट राजनीतिक स्थायित्व, विकास र प्रगति सम्भव देखिदैँन । त्यसर्थ वर्तमान शासकीय स्वरुपमा परिवर्तन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद रहने व्यवस्था सबैभन्दा उत्तम विकल्प हो । संविधान संशोधनको क्रममा यो विषयलाई समेत समाविष्ट गर्न सरकार समक्ष जोडदार माग गर्दछौँ ।’

त्यस्तै देशका लागि भ्रष्टाचार महारोग बनेको भन्दै राजनीतिक दलहरुकै आड, भरोसा र संरक्षणमा भ्रष्टाचार मौलाउने गरेको भन्दै सोको अन्त्यका लागि लोकपालको गठन गर्न माग गरेको छ । ज्ञापनपत्रमा उल्लेख गरेको छ, ‘भ्रष्टाचार विरुद्धको अभियानमा शुन्य सहनशिलता, पारदर्शिता र सुशासनका लागि संविधानमा संशोधन गरी एउटा शक्तिशाली स्वायत्त संवैधानिक लोकपाल गठन होस भन्ने माग गर्दछौँ ।’

विज्ञप्तीमा उल्लेख छ, ‘महंगी, बेरोजगारी, युवा पलायनलाई रोक्न सकिएको छैन । सामाजिक विकृतिको रुपमा रहेको छुवाछुत, जातिय भेदभाव, महिला हिंसा, बालश्रम शोषण आदी घट्नुको साटो झन बढेर गएका छन । यसतर्फ सरकारको उचित ध्यान पुग्न सकेको छैन । नयाँ शक्ति पार्टी, नेपाल जनताका यी सरोकारका विषयमा गम्भिर हुन जोडदार माग गर्दछ ’


, ,

0 comments

Write Down Your Responses