४ हजार ४५८ लिखत पारित, १ करोड ७२ लाखभन्दा बढी छुट
सिन्धुली, १२ साउन। आर्थिक वर्ष २०८२/०८३ मा भूमि प्रशासन कार्यालय सिन्धुलीले १८ करोड ४७ लाख ५४ हजार ११४ रुपैयाँ राजस्व संकलन गर्दै अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा करिब ७५.३२ प्रतिशत वृद्धि हासिल गरेको छ। आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले १० करोड ५३ लाख ७४ हजार ३५६ रुपैयाँ राजस्व संकलन गरेको थियो।
कार्यालयका सूचना अधिकारी राजकुमार प्रसाईका अनुसार गत आर्थिक बर्षमा रजिस्ट्रेशन दस्तुरबाट ९ करोड ४६ लाख ५५ हजार ६०८ रुपैयाँ, पूँजीगत लाभकरबाट ६ करोड ८३ लाख ६० हजार ३ रुपैयाँ, रोक्का दस्तुरबाट १ करोड ५८ लाख ५५ हजार १६१ रुपैयाँ तथा सेवा शुल्क र अन्य प्रशासनिक दस्तुरबाट ५८ लाख ८३ हजार ३८२ रुपैयाँ राजस्व संकलन भएको छ।
सेवा प्रवाहतर्फ हेर्दा कार्यालयले एक वर्षमा ४ हजार ४५८ वटा लिखत पारित, ४८७ वटा नामसारी, २ हजार ८२७ वटा रोक्का, १३ वटा नयाँ जग्गा दर्ता तथा ८३ वटा दाखिला–खारेज सम्पन्न गरेको जनाएको छ।
यस अवधिमा सरकारले लक्षित वर्गका लागि उपलब्ध गराएको सहुलियत कार्यक्रम पनि प्रभावकारी देखिएको छ। कार्यालयका अनुसार महिला, दलित तथा आदिवासी जनजाति, शहीद परिवार र अपाङ्गता भएका व्यक्तिहरूलाई २ हजार २१२ वटा लिखतमा १ करोड ७२ लाख ८८ हजार ४४३ रुपैयाँ बराबरको रजिस्ट्रेशन दस्तुर छुट प्रदान गरिएको छ। यसले सम्पत्ति हस्तान्तरणमा लक्षित समुदायको पहुँच बढाउन राज्यले लिएको नीतिले व्यवहारमा पनि प्रभाव पारेको देखिन्छ।
राजस्व संरचनालाई हेर्दा कुल राजस्वको झण्डै ८८ प्रतिशत हिस्सा रजिस्ट्रेशन दस्तुर र पूँजीगत लाभकरबाट आएको छ। यसले सिन्धुलीमा घरजग्गा खरिद–बिक्री तथा स्वामित्व हस्तान्तरणका कारोबार बढ्दै गएको संकेत गर्छ। अर्कोतर्फ २ हजार ८२७ वटा रोक्का कायम हुनु भने बैंक तथा वित्तीय संस्थाको कर्जा, अदालत वा अन्य कानुनी प्रक्रियासँग सम्बन्धित जग्गाको संख्या अझै उल्लेख्य रहेको देखाउँछ।
विश्लेषकहरूका अनुसार पछिल्लो समय बैंकको ब्याजदरमा आएको कमी, आर्थिक गतिविधिमा क्रमिक सुधार तथा घरजग्गा काराेबारमा बृद्वि हुँदा राजस्व वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
समग्रमा हेर्दा भूमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/०८३ मा राजस्व संकलनसँगै सेवा प्रवाह र सामाजिक सहुलियत कार्यक्रम कार्यान्वयनमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको देखिन्छ।

0 comments
Write Down Your Responses