Powered by Blogger.
कमलामाई भित्र मासु पसल सञ्चालन गर्न इजाजतपत्र अनिवार्य

सिन्धुली,१३ कात्तिक। कमलामाई नगरपालिकाले नगरपालिकाभित्र मासु पसल सञ्चालन गर्ने व्यक्ति तथा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिन आग्रह गरेको छ।

नगरपालिका कार्यालयले सूचना जारी गर्दै पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ तथा पशु वधशाला र मासु जाँच नियमावली, २०५७ अनुसार तोकिएका मापदण्ड पूरा गरेर मात्रै मासु पसल सञ्चालन गर्नुपर्ने जनाएको हो।

नेपाल सरकारले २०८३ भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सिन्धुली जिल्लाका नगरपालिकाहरूमा २०८३ माघ १ गतेदेखि पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लागू हुने व्यवस्था गरेको छ।

नगरपालिकाभित्र पशु वधशाला स्थापना गर्ने वा मासु बिक्री गर्ने व्यक्ति तथा संस्थाले नियमावलीको नियम ५ र ८ बमोजिम तोकिएको मापदण्ड पूरा गरी इजाजतपत्र लिनुपर्नेछ। यसका लागि नगरपालिकाको पशुपन्छी विकास शाखामा अनुसूची–३ बमोजिमको दरखास्त फाराम भरी मंसिर मसान्तभित्र पेस गर्न अनुरोध गरेको छ।

नगरपालिकाले इजाजतपत्र नलिई मासु पसल सञ्चालन गरेमा वा मासु बिक्री वितरण गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

ऐनको दफा १७ को उपदफा (२) अनुसार यस्तो कसुरमा १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना, तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ । 

नगरपालिकाले बिहिबनर सूचना प्रकाशित गर्दै सम्बन्धित सबै मासु व्यवसायीलाई समयमै आवश्यक प्रक्रिया पूरा गरी इजाजतपत्र लिन अनुरोध गरेको हो।


,

0 comments

Write Down Your Responses