Powered by Blogger.
सर्बोच्चको आदेश बिपरीत बीपी मार्गमा ठुला सवारी


सिन्धुली, २४ जेठ । बीपी राजमार्गमा ठुला सवारी साधन नचलाउन सर्वोच्चले दिएको अन्तरिम आदेशलाई अवज्ञा गर्दै स्थानीय प्रशासनले निर्वाध रुपमा बढी भारवहन क्षमताका मालवाहक तथा यात्रुवाहक सवारी साधनलाई सञ्चालन गर्न दिइएको छ । 
बीपी राजमार्गमा बढी भरवहन भएका सवारी साधनलाई रोक लगाउन परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले जेठ २० गते अन्तरिम आदेश जारी गर्दै बढी भरवहन क्षमताका ठूला सवारीलाई रोक लगाएको थियो । 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत जेठ १३ मा बीपी राजमार्गमा ठूला सवारी साधन समेत चल्न पाउने निर्णय गरेका थिए । त्यसविरुद्ध अधिवक्ता कैलाश दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
यातायात व्यवस्था विभागले बीपी राजमार्गमा बढी भारवहन क्षमता भएका सवारी साधनलाई चल्न दिने निर्णय गरेको थियो । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको आदेशअनुसार सूचना नै प्रकाशन गरेर मापदण्ड तोकी बढी भारवहन क्षमता भएका सवारी साधनलाई चल्न दिने यातायात व्यवस्था विभागले निर्णय गरेकामा कानुनविपरीत भएको भन्दै रिट परेको हो । 
यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधन ह्लिवेस चार हजार दुइसय २५ एमएमको चालकसहित ३२ सिट भएको विहान ५ देखि बेलुका ८ बजेसम्म चल्न दिने नयाँ निर्णय गरेको थियो ।
मालवाहक सवारी जिभिडव्लु (कुल वजन) १६२०० किलो (१६.२ टन) ह्लिवेस चार हजार दुइसय २५ एमएमसम्मका सवारी साधन प्रति एक्सल भार १०.२ टन नबढ्ने गरी राति ९ देखि बिहान ५ बजेसम्मका लागि अनुमति दिएको थियो ।
अन्तरिम आदेश भएको चार दिन बित्दा समेत स्थानीय प्रशासनले जानकारी नभएको भन्दै निर्वाध रुपमा भारवहन क्षमता भएका सवारी साधन सञ्चालन गर्न दिएको छ । आधिकारिक पत्र प्राप्त नभएकाले बढी भारवहन क्षमताका सवारी साधनलाई रोक नलगाइको कामु प्रजिअ ज्ञानप्रसाद ढकालले बताए । 


, ,

0 comments

Write Down Your Responses