Powered by Blogger.
तीज गीतका नाममा अश्लीलताको व्यापार

ज्योति मगर भन्छिन्, लुकीलुकी हेर्ने अनि गाली गर्ने ?
२६ साउन, काठमाडौं । एउटा ‘तिज गीत’ को म्युजिक भिडियो अहिले यूट्यूवमा भाइरल बनेको छ । पोस्ट भएको तीन दिन नबित्दै ३ लाख २५ हजारले हेरिसकेको म्युजिक भिडियोमा आखिर के छ ?
‘कि रेखाको चल्छ, कि देखाको चल्छ‘ भन्दै म्युजिक भिडियोमा खुलेर आफ्नो जवानी देखाइदिएकी छिन् गायिका ज्योती मगरले । यद्यपि यो उनले गाएको गीत होइन, केवल मोडलिङ गरेकी हुन् । गीतका गायक-गायिका प्रकाश कटुवाल र श्रीदेवी देवकोटा चर्चाभन्दा धेरै टाढा छन् । चर्चामा केवल ज्योती छिन् ।
म्युजिक भिडियोजति धेरैले हरेका छ्न्, त्यति आलोचित पनि बनिरहेको छ । यसमा ज्योतीले अश्लीलताको पराकाष्टा देखाएको भन्दै यूट्यूवमा उनको व्यापक आलोचना भएको छ । यूट्यूवमा आएका सयौं कमेन्टमध्ये अधिकांश उनीमाथि गाली छन् । धेरैले उनलाई ‘शरीर देखाउने रहर भए ब्लु फिल्म खेल्न’ सुझाव दिएका छन् । उनको शरीर भद्दा भनेर उडाउनेहरु पनि धेरै छन् ।
यस्तै कतिपयले म्युजिक भिडियोमाथि प्रतिवन्ध नै लगाउनुपर्ने उल्लेख गरेका छन् ।
उदीयमान हास्य कलाकारहरु सागर लम्साल (बले) र हरी निरौला (कक्रोच) लाई खेलाएर म्युजिक भिडियोलाई कमेडी फ्लेबरमा ढालिएको छ । तर, कमेडीभन्दा अश्लीलता बेसी भएको दर्शकहरुको आरोप छ । गीतको बीच-बीचमा दोहोरो अर्थ लाग्ने आपत्तिजनक सम्वादहरु पनि घुसाइएको छ ।
चर्चित निर्देशक शंकर बीसीले यो म्युजिक भिडियो निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई बिकाउ बनाउनकै लागि उनले ज्योतिलाई अभिनय गर्न प्रस्ताव गरेका थिए ।
ज्योति खासमा गायिका हुन् । तर, आफ्नो गीतले भन्दा अंगप्रदर्शन र उछृंखल व्यवहारका कारण बारम्बार चर्चामा आउँछिन् । केही समयअघि नेपाल टेलिभिजनमा अन्तरवार्ता दिँदा छाती उघ्रेको लुगा लगाएको भनेर टेलिभिजनले उनको अन्तरवार्ता नै रोकेको थियो । देश तथा विदेशमा हुने स्टेज शोहरुमा पनि उनले अंगप्रदर्शन गरेरै दर्शक बटुल्ने प्रयत्न गर्दै आएकी छिन् । यूट्यूवमा आएका एक सयभन्दा बढी प्रतिक्रियामध्ये अधिकांशमा ज्योतीलाई गाली गरिएको छ ।
ज्योति भन्छिन् : धित मरुञ्जेल हेर्छन्, अनि गाली गर्छन्
तिज गीतमा पनि अंगप्रदर्शन गर्न बाँकी राख्नुभएन होइन ?
त्यस्तो धेरै पनि गरेकी छैन । अहिलेको जमानामा यति त पचाइहाल्छन् नि  ।
तिज गीतको म्युजिक भिडियो पनि यस्तो उछृंखल हुन्छ र ?
हल्ला मात्रै धेरै भएको हो । मलाई त त्यस्तो उछृंखल छ जस्तो लाग्दैन । के नै देखाएकि छु र ?
केटी मान्छेको फ्रक उचालेर हेरेको दृश्य दर्शकले कसरी पचाउलान् ?
फ्रकभित्र स्ल्यास लगाएकी छु नि त । धेरैले पेन्टी देखाएको भनेर गाली गर्नुभएको छ । तर, त्यो पेन्टी नभएर स्ल्यास हो । अरु बेला स्ल्यास मात्रै लगाएर त बसिन्छ ।
तर, तीज गीतमा यस्तो दृश्य कसरी आवश्यक भयो ?
मैले मात्रै यस्तो गरेकी होइन क्यारे । कोमले वलीले गाएको गीत हेर्नुभएको छ ? उहाँले पनि त गुन्यू चोलो फालेर जिन्स पाइन्ट लगाउनुभो नि ।
यूट्युवमा कमेन्टहरु कस्ता आएका छन् हेर्नुभएको छ ?
छैन । मैले फेसबुक र युट्यूवमा आउने कमेन्टहरु हेर्न छाडेको छ धेरै भइसक्यो ।
किन ? फिडब्याक चाहिँदैन तपाईंलाई ?
कमेन्ट गर्नेहरुले राम्रो कहिल्यै लेख्दैनन् । धित मरुन्जेल हेर्छन् अनि गाली गर्छन् । त्यहि भएर हेर्न छाडेकी हुँ ।
गाली खाने कामचाहिँ किन गर्नुहुन्छ त ?
मैले जे गरेकी छु, ठीक गरेकी छु । यो मेरो मानवअधिकार हो । सबैलाई आ-आफ्नो तरिकाले बाँच्न पाउने अधिकार छ नि ।
अंगप्रदर्शन नगरी पनि त कलाकारिता गर्न सकिन्छ होला नि । के लामो लुगा बिझाउँछ तपाईंलाई ?
मैल लामो लुगा लगाएर पनि खेलेकी छु नि । मेरो पोहोरको म्युजिक भिडियो हेर्नुभएको छ ? त्यसमा मैले साडी लगाएकी छु ।
यो म्युजिक भिडियो परिवारसित बसेर हेर्न सक्नुहुन्छ ?
सक्छु, किन नसक्ने ? हेरेकी पनि छु । यो म्युजिक भिडियो फुपू र भाइहरुसित बसेर हेरेँ । सबैले राम्रो नै भनेका छन् ।
तपाईंको शरीरलाई पनि धेरैले भद्दा भनेर आलोचना गरेका छन् नि ?
हो, म अलि मोटी नै छु । मलाई जिरो फिगर बन्नु पनि छैन । फेरि मलाई मोटी नै राम्रो देख्छ के !
तपाईंको म्युजिक भिडियो ‘ब्याण्ड’ गर्नुपर्छ भनेर पनि लेखेका छन् नि धेरैले ?
किन ब्याण्ड गर्नु ? मन नपरे नहेरे भइगो नि  । लुकीलुकी हेर्ने, अनि ब्याण्ड गर्नुपर्छ भन्नेहरुलाई म के भनौं ?
आफूले चाहिँ तिज गीत गाउनुभएको छैन यसपालि ?
गाएकी छु । चाँडै रिलिज हुन्छ । ‘म त नाच्ने हो छोटो सारीमा’ बोलको गीत छ ।
भनेपछि त्यसको भिडियो त झन बबाल होला नि ?
(हाँस्दै) हेरौं ।
(अनलाइनखबर बाट)


, , ,

0 comments

Write Down Your Responses