सिन्धुली, असार २ गते। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता तथा ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा वित्तीय साक्षरताको महत्व, नियमित बचत गर्ने बानी, ऋणको सदुपयोग, वित्तीय अनुशासन, डिजिटल बैंकिङ, साइबर सुरक्षालगायत विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। साथै ग्राहकका अधिकार तथा कर्तव्य, वित्तीय संस्थाबाट प्राप्त हुने सेवासुविधा र वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानीबारे समेत सहजीकरण गरिएको थियो।
संस्थाका प्रतिनिधिहरूले वित्तीय पहुँच विस्तारसँगै वित्तीय शिक्षाको आवश्यकता अझ बढ्दै गएको उल्लेख गर्दै वित्तीय ज्ञानले व्यक्तिलाई सही आर्थिक निर्णय लिन सहयोग पुग्ने बताए। कार्यक्रममा सहभागीहरूले बचत, लगानी, उद्यमशीलता विकास तथा पारिवारिक आर्थिक व्यवस्थापनका बारेमा जिज्ञासा राखेका थिए।
कार्यक्रमका क्रममा विभिन्न समूह तथा सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण समेत गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले आर्थिक चेतना अभिवृद्धि गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।
नेशनल लघुवित्तले हाल देशका विभिन्न जिल्लामा शाखामार्फत सेवा प्रवाह गर्दै आएको छ। संस्थाले वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्दै ग्रामीण तथा विपन्न वर्गसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, समूह सदस्य, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। संस्थाले आगामी दिनमा पनि वित्तीय साक्षरता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

0 comments
Write Down Your Responses