Powered by Blogger.
यी हुन् नेपालमा हुँइकिने करोडमाथिका बिलासी गाडी

दर्जन बढी कम्पनीका बिलासी कार नेपालमा


१७ साउन, काठमाडौं । आजकल राधजानी काठमाण्डौका सडकमा बिश्वका चर्चित र महंगा गाडीको संख्या बढ्दै गएको छ । एक करोड रुपैयाँभन्दा बढि मूल्य पर्ने गाडीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
अहिले नेपाली सडकमा ५ करोड रुपैयाँसम्म पर्ने कार हुँइकिन थालेको अटो व्यवसायीहरु बताउँछन् । विश्व बजारमा देखिने करोडौं मूल्यका कार नेपाली बजारमा भित्रिसकेका छन् । विदेशमा कम मूल्यमै पाइने विलासी कारहरु नेपाल आइपुग्दा साढे दुई गुना महंगो भएका हुन्छन् ।
विलासी गाडीमा नेपालीको आकर्षण बढेपछि कम्पनीबीच महंगा गाडी भित्राउने होडबाजी चल्न थालेको छ । अहिले विश्वका चर्चित ब्रान्डका विलासी गाडीहरु नेपालमा पाइन थालेका छन् । नेपालमा बिक्री हुने धेरैजसो ब्रान्डको शो रुममा एउटा भएपनि करोड माथिको गाडी देखिन्छ ।
नेपालमा टोयोटा, ल्यान्ड रोभर, भक्सवागन, माज्दा, किया, हुन्डाइ, मर्सिडिज, बिएमडब्लु, फरारी, पिजियो, निशान, हम्मर, होन्डा, सुवारु लगायत ब्रान्डका विलासी गाडीहरु बिक्री हुँदै आएका छन् ।
‘मानिसले आम्दानी अनुसार आफ्नो स्टाटस अपग्रेड गर्दै जाने हुन्, त्यसैले आम्दानी बढ्ने वित्तिकै महंगा गाडीको खोजी  भइहाल्छ’ लक्ष्मी हुन्डाइका निर्देशक अञ्जन श्रेष्ठले भने- ‘पछिल्लो समय महंगा गाडी चढ्ने समुदाय विस्तारै बढ्दै गइरहेको छ ।’
बिएमडब्लु 
अहिले उच्च आम्दानी हुने अधिकांशले करोड माथिको कार चढ्न थालिसकेको नेपाल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा)का उपाध्यक्ष समेत रहेका श्रेष्ठ बताउँछन् । बिजनेश भोल्यूम ठूलो भएका उद्योगी व्यवसायीको रोजाईमा महंगा विलासी कार पर्न थालेका छन् । नेपालका अधिकांश बैंकर्सहरुसँग पनि विलासी गाडी छन् ।
नेपालमा लामो समयदेखि युरोपमा निर्मित विलासी गाडी बिक्री गर्दै आएका किशोर गेयर्सका प्रवन्ध निर्देशक किशोर बादे श्रेष्ठले उच्च आम्दानी हुनेहरुको रोजाइमा महंगा गाडी पर्न थालेको बताउँछन् । तर, सरकारले गाडीमा मोटो कर असुल्ने गरेकोप्रति उनले असन्तुष्टी व्यक्त गरे ।
सरकारले भन्सार कम असुलेमा विलासी गाडीको मूल्य पनि कम हुने र बिक्री पनि हृवात्तै बढ्ने श्रेष्ठको भनाई छ । उनले ल्यान्ड रोवर, रेञ्ज रोवर, मर्सिडिज, बिएमडब्लु लगायतका महंगा गाडी आयात तथा बिक्री गर्दै आएका छन् ।
‘सरकारले सबैभन्दा बढी कर विलासी गाडीबाट उठाइ रहेको छ’ श्रेष्ठले भने- ‘पछिल्ला दुई वर्षमा विलासी गाडीको करोड भन्दा बढी भन्सार बुझाउनु परिरहेको छ ।’ सरकारले भन्सार घटाइदिएर विलासी गाडीमा नेपालीको पहुँच बढाइदिन आग्रह समेत गरे ।
टोयोटा
टोयोटा ल्यान्ड क्रुजर एलसी २०० भिएक्स ।
जापानीज अटो ब्रान्ड टोयोटा विश्वकै अग्रणी कार निर्माता हो । लक्जरी कार निर्माता टोयोटाका नेपालमा एक दर्जनको हाराहारीमा करोडमाथिका गाडीहरु छन् । रेभ ४, फर्चुनर, प्राडो, ल्यान्ड क्रुजर, क्याम्री लगायतका मोडलको मूल्य एक करोडमाथि रहेको छ । टोयोटा रेभ ४ पेट्रोल इञ्जिन गाडी हो भने फर्चुनर, प्राडो र ल्यान्ड क्रुजरका सबै भेरियन्ट डिजेल इञ्जिन हुन् ।
नेपालमा एक करोड माथिका सबैभन्दा बढी मोडल टोयोटाकै छन् । टोयोटाको नेपालमा ३४ लाख ६० हजार रुपैयाँदेखि २ करोड ७० लाख रुपैयाँसम्म पर्ने गाडीहरु रहेका छन् । एक करोड बढी मूल्यका फर्चुनर बाहेक सबै गाडी जापानमा बनेका हुन् । फर्चुनर टोयोटाको इन्डिया प्लान्टमा बनेको हो ।
टोयोटाको सबैभन्दा महंगो गाडी ल्यान्ड क्रुजर ‘एलसी २०० भीएक्स’ हो । यसको मूल्य २ करोड ७० लाख रुपैयाँ रहेको छ । यो मोडल परिस्कृत भर्सनमा आउन लागेको नेपाली बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ । परिस्कृत भर्सनमा आउँदा यसका फिचर, आन्तरिक तथा बाहृय आवरण र मूल्यमा पनि फेरवदल हुने छ । यो ४४६१ सीसीको डिजेल गाडी हो ।
टोयोटा प्राडो ।

टायोटा ल्यान्ड क्रुजर ‘एलसी ७०’ को मूल्य १ करोड ६० लाख रुपैयाँ रहेको छ । यो पनि ४४६१ सीसीको इञ्जिन भएको शक्तिशाली गाडी हो ।
रेभ ४ अटोमेटिक गियर भएको एसयुभी गाडी हो । यसलाई नेपालमा अत्याधिक मन पराइएको छ । यसमा सन रुफ एन्ड मुन रुफ, स्मार्ट इन्ट्री, ४ एचडी हेड ल्याम्प, पावर ब्याक डोर, लगायतका सुविधाहरु रहेका छन् । रेभ ४ गाडी २४९४ सीसीको हो । रेभ ४ (एस.एम) को मूल्य ९९ लाख ९० हजार र रेभ ४ (अटोमेटिक)को मूल्य १ करोड २० लाख रुपैयाँ रहेको छ ।
टोयोटा प्राडोका चारवटा भेरियन्ट नेपाली बजारमा रहेका छन् । प्राडोका सबै भेरियन्ट २९८२ सीसी इञ्जिन क्षमताका हुन् । डबल एसीयुक्त म्यानुअल गियर भएको प्राडो टिएक्सको मूल्य नेपालमा १ करोड ६३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, अटोमेटिक गियर भएको डबल एसीयुक्त प्राडो टिएक्सको मूल्य १ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
यसैगरी प्राडो भिएक्स एमटीको मूल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ । यो पनि डबल एसी भएको म्यानुअल गाडी हो । यसमा एयर ब्याग, रुफ रेल, क्लियरेन्स सोनार, क्रुज कन्ट्रोल, कुल एन्ड हट बक्स, ब्ल्याक मोनिटर, स्टेरिङ हृवील लेदर, अटो ब्याक मोनिटर लगायतका सुविधाहरु रहेका छन् ।
टोयोटा रेभ ४ 
प्राडो भिएक्स अटोमेटिक गियरको मूल्य २ करोड ७ लाख रुपैयाँ रहेको छ । यसमा पनि डबल एसी छ । यसमा रुफ रेल, क्लियरेन्स सोनार, क्रुज कन्ट्रोल, कुल एन्ड हट बक्स, अटो हेड ल्याम्प, हेड ल्याम्प क्लिनर, सन रुफ एन्ड मुन रुफ, सिट हिटर, ब्ल्याक मोनिटर ४ क्याम, ९ वटा स्पिकर लगायत रहेका छन् ।
फर्चुनरको मूल्य १ करोड १६ लाख रुपैयाँ रहेको छ भने क्याम्रीको मूल्य १ करोड २० लाखभन्दा बढी रहेको छ । त्यस्तै, ल्यान्डक्रुजरको मूल्य २ करोड १० लाख रुपैयाँभन्दा बढी रहेको छ ।
टोयोटाको सबै गाडीको मूल्य परिवर्तन भएर आउन लागेको युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ । नयाँ मूल्य आउँदा घटबढ जे पनि हुनसक्ने कम्पनीको भनाई छ ।
ल्यान्ड रोवर, रेञ्ज रोवर
विश्व अटो बजारमा ल्यान्ड रोवर र रेञ्ज रोवर महंगो गाडी मानिन्छ । नेपाली सडकमा कुद्ने महंगा गाडीहरुमा यिनै अग्रपंक्तिमा पर्छन । ल्यान्ड रोवर र रेञ्ज रोवर दुबै गाडीको मूल्य नेपालमा डेढ करोडदेखि तीन करोड रुपैयाँसम्म पर्छ ।
मर्सिडिज

नेपाली सडकमा ढाई करोड रुपैयाँसम्मको मर्सिडिज कार दौडिन्छन् । राष्ट्रपति डा. रामवरण यादवदेखि उद्योगी व्यवसायी महंगा मर्सिडिज चढ्छन । नेपालमा मर्सिडिज कारको २४२ प्रतिशतसम्म भन्सार बुझाउनुपर्छ ।
मर्सिडिज यूरोपको लक्जरी कार ब्रान्ड हो । जुन कार विश्वभर चर्चित रहेको छ । विश्वका धनाढ्य व्यक्ति तथा उच्च ओहोदाका मानिसको रोजाइमा मर्सिडिज पर्दै आएको छ ।
सुवारु
सुवारु जापानको चर्चित लक्जरी कार ब्रान्ड हो । नेपालमा सुवारुको ‘आउट ब्याक’ मोडल उपलब्ध छ । जसको मूल्य १ करोड २० लाख रुपैयाँ रहेको छ । एसयुभी सेगमेन्टको यो गाडी २५०० सीसी पेट्रोल इञ्जिनमा मात्र उपलब्ध हुने नेपाली बिक्रेता विजय मोटर्सले जनाएको छ ।
बिजय मोटर्सका महाप्रबन्धक रविन्द्र राउतका अनुसार कम्पनीले नेपालमा डिजेल भर्सनको गाडी पठाउँदैन । अटोमेटिक र म्यानुअल दुबै गियरमा उपलब्ध यो गाडी ६/७ वटा कलरमा उपलब्ध गराउन सक्ने उनले बताए । यो पाँच सिटर गाडी हो ।
सुवारुको ‘फरेष्टर’ मोडलको पनि केही महिना अघिसम्म एक करोड माथि पर्थ्यो । ‘विभिन्न भेरियन्टमा उपलब्ध फरेष्टरको मूल्य ७/८ महिना एक करोड २ लाखदेखि १ करोड ७ लाख रुपैयाँसम्म रहेको थियो’ विजय मोटर्सका महाप्रबन्धक राउतले भने ‘तर, अहिले जापानी मुद्राको भ्यालु घटेपछि फरेष्टरको मूल्य ९२ लाखमा झरेको छ।’
फरेष्टर अहिले २००० सीसीमा उपलब्ध छ । यो गाडी म्यानुअल र अटोमेटिक दुबै गियर भएको गाडी हो । यसमा बक्सर इञ्जिन जडान गरिएको छ । जुन सुवारु र क्रसमा मात्र राखिएको हुन्छ । बक्सर विश्वकै सबैभन्दा महंगो इञ्जिन भएको राउतले दाबी गरे । सुवारुका सबै गाडीको ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ ।
माज्दा

जापानीज लक्जरी ब्रान्ड माज्दाको ‘सिएक्स-५’ नेपालमा उपलब्ध महंगो गाडी हो । दुईवटा भेरियन्टमा उपलब्ध यो गाडीको मूल्य एक करोड र एक करोड पाँच लाख रुपैयाँ रहेको छ ।
माज्दा ‘सिएक्स-५’ २००० सीसी र २५०० सीसीमा उपलब्ध छ । पेट्रोल इञ्जिन भएको ‘सिएक्स-५’ एसयुभी गाडी हो । यो गाडी ६ स्पीड अटोमेटिक तथा म्यानुअल गियरमा उपलब्ध छ । सुरक्षामा विशेष ध्यान दिइएको यो गाडी स्पोर्टी लुकमा रहेको छ ।
हुन्डाई, सान्टा फे
कोरियन मोटर्स कम्पनी हुन्डाईको करोड माथिको गाडी ‘सान्टा फे’ हो । एसयुभी सेगमेन्टको यो गाडीको मूल्य नेपालमा १ करोड २० लाख रुपैयाँ रहेको छ । यो गाडी कुटनीतिक नियोग, प्रोजेक्ट, हाइ इन्कम भएका मानिसको रोजाइमा पर्दै आएको छ ।
‘सान्टा फे’ वर्षमा ८/९ थान बिक्री हुने गरेको लक्ष्मी हुन्डाईका निर्देशक अञ्जन श्रेष्ठ बताउँछन ।
‘सान्टा फे’ २२०० सीसीको डिजेल इञ्जिन गाडी हो । यसमा ड्राइभर सहित ६ वटा सिट रहेका छन् । आकर्षक डिजाइनमा रहेको यस कारमा आन्तरिक तथा बाहृय सजावटलाई विशेष ध्यान दिइएको छ । पछिल्लो विकसित प्रविधि प्रयोग गरिएको कम्पनीको दाबी छ ।
भक्सवागन-टोरेग
फक्सवागन जर्मनीको लक्जरी कार ब्रान्ड हो । पौने दुई करोडको हाराहारीमा पर्ने फक्सवागनको ‘टोरेग’ गाडी नेपाली सडकमा कुद्ने गर्छ । भक्सवागनको टोरेग फुल्ली लोडेड र टोरेग एक्स्क्लूसिभ गाडी उपलब्ध छ ।
टोरेग एक्स्क्लुसिभको मूल्य १ करोड ८२ लाख रुपैयाँ रहेको छ । यसमा रिभर भ्यू क्यामेरा, १८ इञ्चको हृवील, सिट डिटिङ एन्ड कुलिङ सिष्टम लगायतका सुधिवाहरु रहेका छन् । टोरेग फुल्ली लोडेड गाडीको मूल्य १ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
दुबै भेरियन्ट एसयुभी सेगमेन्टका हुन् । अहिलेसम्म टोरेग ८० वटा बिक्री भइसको कम्पनीले जनाएको छ ।
किया सोरेन्टो
कोरियन कम्पनी कियाको सोरेन्टो करोड माथिको एसयुभी गाडी हो । २२०० सीसीको डिजेल इञ्जिनयूक्त सोरेन्टोको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ । यसमा अटोमेटिक गियर रहेको छ । यो ७ सिट क्षमताको गाडी हो ।
पहिलो पटक सोरेन्टो सन् २००४ मा नेपाल भित्रिएको थियो । त्यसपछि सोरेन्टोको अपग्रेडेड भर्सन नेपाली बजारमा आइसकेको छ । यो गाडी ६ वटा कलरमा उपलब्ध भएपनि हृवाइट र सिल्भर कलर बढी बिक्री भइरहेको छ । यो गाडी सिधै कोरियाबाट नेपालमा आयात गरिन्छ ।
निसान

जापानीज ब्रान्ड निसानको जीपको मूल्य १ करोड ३५ लाख रुपैयाँ भन्दा बढी रहेको छ । यसमा ३००० सीसीको पेट्रोल इञ्जिन रहेको छ ।
यसको अलवा करोड माथिका थुप्रै ब्रान्ड नेपाली सडकमा दौडिन्छन् । मित्सुबिसी, पिगो, बिएमडब्लु, फरारी, हम्मर लगायतका विश्वचर्चित ब्रान्ड पनि नेपाल भित्रिसकेका छन् । यी कारको मूल्य करोड माथि रहेको छ ।


, ,

0 comments

Write Down Your Responses