Powered by Blogger.
रेखा थापाले भनिन्-म मदर टेरेसा बन्न चाहन्छु

बिहे गरे भने अबको २ बर्षमा, नत्र अर्को जुनीमा
नेपाली चलचित्रमा विगत १२ बर्षदेखि निरन्तर विभिन्न कारणले चर्चामा रहेकी नायिका हुन् रेखा थापा । चर्चा, आलोचनाको घेरामा पर्दै रेखाले १२ बर्षदेखि आफूलाई नायक सरह स्थापित गरेकी छिन् । जीवनको यो क्षणमा बिबाह, विछोडदेखि थुप्रै कुरा उनले भोगेकी छिन् । सायद, यही भएर पनि होला भदौ ५ गते अर्थात आज आफ्नो ३२ औं जन्मदिन मनाउँदै गर्दा रेखाले आफू परिपक्क भएको बताइन् ।
चलचित्रकर्मी र पत्रकारलाई मैले विर्सिएछु
विगत १ बर्षयता ममा जुन खालको सोच आएको छ, त्यसले मलाई परिपक्क बनाएको महशुश गरेकी छु । म झगडालु स्वभावको थिएँ, आफूलाई ‘वन म्यान आर्मी’ जस्तो सोच्थे । तर, यस्तो रहेनछ भन्ने मैले बल्ल वुझे । म मेरो योग्यताले मात्र यो क्षेत्रमा आएकी होइन । मलाई यहाँ पुर्‍याउन चलचित्रमा काम गराउने चलचित्रकर्मी र मेरो कामलाई दर्शकमाँझ पुर्‍याउने पत्रकार मुख्य हुन् । यो दुई पाटोलाई मैले विर्सिएर दर्शक मात्र सवथोक भन्ने सोचेकी थिएँ । तर, दर्शक मेरा लागि चलचित्रकर्मी र पत्रकार पछि मात्र छन् भन्ने मैले वुझे । यो कुरामा आज मैले आत्मालोचना गरेकी छु । म आफूलाई ९९ प्रतिशत सामान्य मानिस र १ प्रतिशत नायिकाको रुपमा लिन्छु ।
जब कोही पनि मानिस सफल हुन्छ, उ एक्लो हुन्छ जस्तो लाग्छ । म अगाडि त बढे, तर एक्लो दौडमा दौडिएछु र पहिलो भएछु भन्ने लाग्दैछ । अहिले आएर मैले धेरै कुराको मुल्यांकन गर्न थालेकी छु ।
मैले जवानी विताउन पाइन
मैले जीवनमा जवानी उमेर बिताउन पाइन । १६ बर्षको उमेरमा अरु यूवती जस्तै सडकमा चटपटे खादै डेटिङ जाने अवसर मलाई मिलेन । १६ बर्षको उमेरदेखि नै मजदुर भएर मैले काम सुरु गरे । मैले  टिन एजको फिलिङ्सलाई महशुश गर्न नै पाइन । अब यो जीवन बिताउनका लागि त मैले अर्को जुनी नै कुर्नु पर्छ । तर, पनि मलाई रमाइलो लाग्छ । किनकी, मलाई त चलचित्रकर्मी, पत्रकार र दर्शकले सधै साथ दिएका रहेछन् । म सबैको साथले अगाडि बढेकी रहेछु । मैले आज मेरै नाममा इन्जोए गरिरहेको छु, जुन कुरामा चलचित्रकर्मी र पत्रकारको ठूलो हात छ । मैले दर्शक मात्र सवथोक सोच्ने गर्थे, तर यस्तो मात्र होइन रहेछ ।
मैले जीवनमा जान अञ्जानमा कसैलाई तुच्छ शब्द बोले होला, कसैसँग नराम्रो व्यवहार गरे होला, यो कुरामा मलाई अहिले संझदा लाज लाग्छ । त्यतिखेर माहोल नै अर्को थियो भन्ने लाग्छ मलाई । मलाई सबैले साथ र सहयोग गरिरहनु भएको छ, म आभारी छु । मसँग यदि चलचित्रका बिषयमा कुनै पनि नायिका या कसैले कुरा गर्न चाहन्छ भने सिधा कुरा गर्न सक्नुहुनेछ । मलाई ज्योतिषले ‘तेरो यो बचपन’ लामो समयसम्म टिक्दैन’ भन्थे, अहिले हो जस्तो लाग्दैछ ।
बिहे गरे २ बर्ष भित्रमा, नत्र गर्दिन
बिहे गर्ने कुरा मेरो हात्तमा छैन । बिहे सबैले गर्नुपर्छ भनेका छन् । परिवार र साथीभाईबाट बिहे गर्नुपर्छ भन्ने प्रेसर छ । तर, यदि मेरो भाग्यमा बिहे लेखिएको छ भने म २ बर्ष भित्र बिहे गर्छु । होइन भने म बिहे नै गर्दिन । म कसैको प्रेममा छैन, कसैको प्रेमिका म होइन । मैले जीवनमा चुरा, पोत्ते लगाउन पाएको छैन । सायद, भगवानले मेरो जीवनमा यो कुरा लेखिदिएका छैनन् होला । म अरु नै कामका लागि यो धर्तीमा आए जस्तो लाग्छ । म कुनै पनि केटाको आँखामा हेरेर कुरा गर्न सक्दिन, मलाई लाज लाग्छ ।
मदर टेरेसा बन्ने सपना
म चलचित्र क्षेत्रमा हरेक कुरामा सफल भएँ । यसैले मेरो चाहना विदेश नगई चलचित्र क्षेत्र र देशको सेवा गरौ नै भन्ने हो । तर, अहिले देशको माहोल देख्दा कताकता चिन्ता पनि लाग्छ । समाजसेवा गरेर यही नै बस्ने र दिदीबहिनीहरुलाई हरेक कुरामा सहयोग गर्ने चाहना छ । मेरो सपना भनेकै अब ‘मदर टेरेसा’ बन्ने हो ।
पशुपतिनाथसँग माफी, छविलाई धन्यवाद
जन्मदिनको दिनमा मैले माफी माग्नु परेको खण्डमा म पशुपतिनाथ भगवानसँग नै माग्छु । जान अन्जानमा मबाट गल्ती भएको भए मलाई माफ गर्नुहोस् । यदि, कसैलाई मसँग चित्त दुखाई छ भने कृपया मसँग सिधा आएर कुरा गर्न सक्नुहुनेछ । यदि, कसैसँग अन्जानमा गल्ती भएको खण्डमा ‘आई एम सरी’ भन्न चाहन्छु ।
म धन्यवाद मेरा माता र पितालाई दिन चाहन्छु । जसले मलाई यसरी सक्षम बनाइदिनुभयो र चलचित्र क्षेत्र नराम्रो छ जानु पर्दैन भनेर कहिल्यै भन्नु भएन । अनी मलाई यो क्षेत्रमा भित्र्याउनु हुने छवि ओझा र निर्देशक नरेश पौडेललाई पनि धन्यवाद दिन चाहन्छु । (साभार अनलाइन खबरबाट)


,

0 comments

Write Down Your Responses