Powered by Blogger.
राष्ट्रिय झण्डा र जनावर फेर्न सभासदको संशोधन प्रस्ताव

एमाले र कांग्रेसका सभासदलाई संशोधन नहाल्न निर्देशन

१४ भदौ, काठमाडौं । संविधानको परिमार्जित विधेयकमा संशोधन खुला भएको पहिलो दिन तीनवटा साना दलका केही सभासदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
संविधानसभा सचिवालय विधेयक शाखाका अनुसार राप्रपा संसदीय दलका नेता दीपक बोहोरा, जनमुक्ति पार्टीका शिवलाल थापा र सीमा बिक तथा समाजवादी दलका प्रेमबहादुर सिंहले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
संशोधन दर्ताका लागि ७ दिनका समय रहेकाले अन्य सभासदहरुले पनि संशोधन हाल्ने तयारी गरिरहेका छन् ।
जनमुक्तिका सभासद शिवलाल थापा र सीमा बिकले राष्ट्रिय झण्डा र राष्ट्रिय जनावर फेर्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।
उनीहरुले चन्द्र र सूर्य अंकित राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने र राष्ट्रिय जनावर गाईको साटो एकसिंगे गैंडा राखिनुपर्ने भन्दै संशोधन दर्ता गराएका हुन् ।
त्यस्तै राप्रपा संसदीय दलका नेता दीपक बोहोराले प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरुलाई हटाई एकीकृत नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश बनाउन संशोधन प्रस्ताव हालेका छन् ।
त्यस्तै उनले राप्रपाका तर्फबाट हालको संशोधनमा धर्म निरपेक्षता भन्ने शब्दावली हटाई सनातन सर्वधर्म सापेक्ष राष्ट्र भन्ने शब्दावली राख्न वा धर्म निरपेक्षताको विषयमा जनमत संग्रहबाट टुंगो लगाउने प्रस्ताव दर्ता गराएका छन् ।

ठूला दल चुपचाप

ठूला दलका तर्फबाट भने सभासदहरुले व्यक्तिगत रुपमा संशोधन हाल्ने सम्भावना देखिएको छैन । कांग्रेसले सभासदहरुलाई भेला गरेर फकाइरहेको छ ।
एमालेले कुनै पनि सभासदलाई पार्टीको अनुमतिबिना संशोधन नहाल्न निर्देशन दिइसकेको छ । एमाले स्रोतका अनुसार आदिवासी जनजाति सभासदहरुको आग्रहबमोजिम पार्टी नेतृत्वले केही विषयमा कांग्रेस एमाओवादीसहितको सहमतिमा संशोधन हाल्दैछ ।
स्रोतका अनुसार आदिवासी जनजातिको माग सम्बोधन गर्नका लागि धर्म निरपेक्षताबाट पछि नहट्ने सम्भावना छ ।
त्यस्तै संविधानमै आदिवासी जनजाति आयोग व्यवस्था गर्ने सन्दर्भमा एमालेसहितका अन्य दलका नेताहरु सकारात्मक रहेकाले जनजातिको ठूलो माग पूरा हुन लागेको एमाले सभासद शेरधन राईले बताए ।
अबको संशोधनमा आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेसी आयोग र थारु आयोग थप्ने गरी छलफल चलिरहेको छ । यसका लागि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नै पहल गरेका छन् ।
दुई तिहाई बहुमत पुग्ने गरी यी विषयमा संशोधन प्रस्ताव आउनेछ । यस बाहेक एमाओवादीले शासकीय स्वरुप लगायतका केही विषयमा संशोधन प्रस्ताव ल्याउने भएको छ ।


,

0 comments

Write Down Your Responses