Powered by Blogger.
पहिलो आवधिक योजनाको तयारी गर्दै जिविस सिन्धुली

सरस्वती काफ्ले
सिन्धुली/ १८ श्रावण/ विगत २० वर्ष देखी वार्षिक रुपमा योजना निर्माण र कार्यान्वयन गर्दै आएको जिल्ला विकास समिति सिन्धुली यतिवेला जिल्लाको समग्र विकासलाई दिर्घकालिन रुपमा अगाडि बढाउन आवधिक(पन्चवर्षिय)योजना निर्माणमा जुटेको छ ।

जिल्लाको समग्र विकासको ५ वर्षको लक्ष्य, उदेश्य, निती, रणनीती, कार्यनीति, कार्यक्रम तथा बजेटको रुपरेखा तयार पार्न जिल्ला विकास समिति सिन्धुलीले सरोकारवाला निकायहरुसँग अन्तिम चरणको अन्तरक्रिया आजबाट सिन्धुलीमाढीमा सुरु गरेको छ । 
उक्त अन्तरक्रिया कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्दै सिन्धुली क्षेत्र नं.२ का सभासद मोहन प्रसाद बरालले जिल्लाको समग्र विकासको लागी निर्माण गर्न लागीएको आवधीक योजना बस्तुनिष्ट र समय सापेक्ष बनाउनु पर्नेमा जोड दिए । आवधिक योजनामा शिक्षा, पर्यटन लगायतका क्षेत्रको विकासमा जोड दिनुपर्ने उनको भनाई थियो ।
त्यस्तै विशेष अतिथीको रुपमा बोल्दै सिन्धुली क्षेत्र नं.१ का सभासद गणेश पहाडीले जिल्लामा रहेका विकासका भौतिक पुर्वाधारहरुलाई राम्रोसँग पहिचान गरी सरोकारवालाहरुसँगको बृहत छलफल मार्फत आवधीक योजना निर्माण गर्नुपर्ने बताए । योजना निर्माणमा जति धेरै सहभागीता रह्यो त्यति कार्यान्वयन पक्ष सबल हुने उनको भनाई थियो ।
जिविस,सिन्धुली फाइल फाेटाे
अर्का विशेष अतिथी एकीकृत माओवादीका केन्द्रिय कोषाध्यक्ष समेत रहेका सिन्धुली क्षेत्र नं.३ का सभासद हरिबोल गजुरेलले आवधीक योजना निर्माणमा सिन्धुलीलाई मायाँ गर्ने सवैपक्ष जागरुक भएर लाग्न सकियो भने मात्र जिल्लाले भोलीका दिनमा विकासमा गति लिन सक्ने धारणा व्यक्त गरे । सिन्धुली जिल्लालाई माथि उठाउन यहाँको पुर्वाधारहरुको सहि पहिचान गरेर त्यसको सहि प्रयोगमा ल्याउनु पर्ने उनको भनाई थियो । 
स्थानीय विकास अधिकारी प्रदिप कुमार निरौलाको अध्यक्षतामा उदघाटन भएको आवधीक जिल्ला विकास योजना तर्जुमा सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.रविन्द्र कुमार शाक्य, नेपाल सरकारका पुर्व सचिब सुशिल घिमिरे, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, राष्ट्रिय सर्भिसेज प्रा.ली. पोखराका टिकाराम धमला लगायतको विशेष उपस्थिती रहेको थियो । 
बुधबार सम्म चल्ने कार्यशालालाई राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.रबिन्द्र कुमार शाक्य, नेपाल सरकारका पुर्व सचिब सुशिल घिमिरे लगायत राष्ट्रिय सर्भिसेज प्रा.लि.पोखराबाट आएका विज्ञहरुले आवधिक योजना निर्माणको बारेमा सहजीकरण गर्ने कार्यक्रम रहेको जिल्ला विकास समिति सिन्धुलीले जनाएको छ । 
कार्यक्रममा जिल्लाका सभासदहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधी, जिल्लामा कार्यक्रम सञ्चालन गरेका अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनीधीहरु, स्थानीय गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनीधीहरु, उद्योग वाणिज्य संघ, स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनीधी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको छ ।
सिन्धुली जिल्लाकाे नक्सा 
विश्वमा सन १९२८ बाट रुसले योजना निर्माणको काम सुरु गरेको र नेपालमा वि.स.२००८ मा पहिलो पटक आर्थिक बजेट वा वार्षिक योजना निर्माण भएको इतिहास रहेको छ । 
वि.स.२०१३ सालबाट आवधीक योजना बन्न सुरु गरेको नेपालमा हाल सम्म १३ वटा आवधिक योजना बनेको छ । जिविस सिन्धुलीमा भने अहिले सम्म आवधीक योजना निर्माण हुन सकेको अवस्था थिएन । केहि समय अघि आबधीक योजना निर्माणको तयारी गरिएको भएपनि प्राविधिक कारणले उक्त काम स्थगीत भएको थियो । हाल सयुक्त राष्ट्रसंघीय जनसंख्या कोष(युएनएफपीए)को आर्थिक सहयोगमा जिविस सिन्धुलीले आवधीक योजना निर्माण गर्न लागेको हो । 
जिल्लाको आवधिक योजना निर्माणको अन्य प्रक्रियाहरु पुरा गरी सकिएकाले यो अन्तरक्रियाले आवधीक योजनालाई अन्तिम रुप दिने र जिल्ला परीषदबाट पारीत गरी कार्यान्वयनमा ल्याइने जिल्ला विकास समिति सिन्धुलीका बरिष्ठ सामाजिक अधिकृत सागरकुमार ढकालले जानकारी दिए । 


,

0 comments

Write Down Your Responses