Powered by Blogger.
हेर्नुस, कोइरालालाई प्रधानमन्त्री बनाउन के–के गरे बावुरामले

काठमाडौं– एकीकृत माओवादी र सांसद पद परित्याग गरेका डा.बाबुराम भट्टराईले प्रधानमन्त्री निर्वाचनमा चासो राखेका छन् । उनले काग्रेस सभापतिको पक्षमा लविङ गरेका छन् । स्रोतका अनुसार शनिवार प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भएलगत्तै उनले आफू नजिक मानिएका एकीकृत माओवादीका सांसद र तराई–मधेश केन्द्रित दलका नेताहरुसँग कोइरालाको पक्षमा लविङ गरेका थिए ।
‘डा.बाबुराम भट्टराईले फोन गरेर ओली प्रधानमन्त्री हुँदा देशको जटिलता बढ्न सक्ने भनेर कोइरालाको पक्षमा लविङ गर्नुभएको थियो ’ एमाओवादीका एक सांसदले भने । त्यसो त एकीकृत माअ‍ोवादीको ओलीलाई समर्थन गर्ने निर्णयमा असहमति राखेका एकीकृत माओवादीकै नेता देवेन्द्र पौडेलले शनिवार बालुवाटार पुगेर कोइरालासँग भेट गरेका थिए । भेटमा आफ्नो तर्फबाट सहयोग गर्ने आश्सवन पौडेलले कोइरालालाई दिएको बालुवाटार स्रोतले बतायो ।
नयाँ शक्ति बनाउन भन्दै सांसद पदबाट समेत राजीनामा गरेका भट्टराईले प्रधानमन्त्री चयन प्रक्रियामा अनाबश्यक चासो देखाएको भन्दै उनकै निकट मानिएका एकीकृत माओवादीका नेताहरुबाट समेत आलोचना भएको थियो ।
स्रोतका अनुसार कोइरालालाई भेट्न पौडेल भट्टराईकै योजनामा गएका थिए । भट्टराई नजिक मानिएका प्रभु साहले पनि पार्टी निर्णय अनुसार भोटिङ गर्ने भनेर विज्ञप्ती निकालेका छन् । संविधानमा हस्ताक्षर नगरेर उनले तराई–मधेशको आन्दोलनमा समर्थन गरेका थिए । भट्टराईले ओली प्रधानमन्त्री भए देशमा थप तनाव बढ्ने आशंका लिएको उनी निकट स्रोत बताउँछ । झलनाथ खनाललाई प्रधानमन्त्रीमा सहयोग गर्ने एकीकृत माओवादीको निर्णयमा पनि भट्टराईले त्यसबेला फरक मत राखेका थिए ।
एमाले र एकीकृत माओवादीबीच नयाँ सरकार गठनलगायतका विषयमा भएको १४ बुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्री बन्दैछन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमति पत्रमा तराई–मधेसमा आन्दोलनरत दलहरू, थारु समुदाय र विभिन्न रूपमा आफ्ना मुद्दा र आवाज उठाइरहेका आदिवासी, जनजातिलगायतका अन्य उत्पीडित समुदायसँग वार्तामार्फत समस्याको राजनीतिक सम्बोधन गरी समाधान गर्ने उल्लेख गरिएको छ ।

सरकारको खेलमा मतलव छैनः बाबुरामको सचिवालय


उता सचिवालयले भने सरकार बनाउने खेलमा डा.भट्टराईको कुनै चासो नरहेको बताएको छ । आइतवार स्वकीय सचिव विश्वदीप पाण्डेले प्रेस नोट निकालेर भट्टराई यस्तो खेलमा सहभागी भएको भनि आएका समाचार निराधार भएको उल्लेख गरेका छन् ।
‘संसदमा आज हुने प्रधानमन्त्री चुनावमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले आफू निकट सभासदहरूलाइ मतदान गर्न रोक्दैहुनुहुन्छ, भन्नेजस्ता हल्लाहरू निराधार र गलत भएको स्पष्ट पार्न चाहन्छौं ।’ प्रेस नोटमा छ, ‘उहाँ अहिले सरकार बनाउने वा गिराउने कुनैपनि भूमिकामा संलग्न नहुने स्पष्ट पार्न चाहन्छौं । उहाँको एउटै ध्येय छ–पछिल्लो समयमा कमजोर हुँदै गएको पहाड–तराइ–मधेसको एकता बलियो बनाउने र बृहत राष्ट्रिय एकताको वातावरण बनाउन पहल र प्रयत्न गर्ने । त्यसका लागि उहाँ विगत केही समयदेखि क्रियाशील रहदै आउनुभएको सर्बविदितै छ ।’
प्रेस नोटमा राजनीतिक दाउपेचमा मात्रै अल्झिनु भन्दा अब राष्ट्रिय एकता सँगसँगै मुलुकलाइ आर्थिक समृद्धितिर कसरी लैजाने भन्ने बिषयमा भट्टराई विज्ञहरूसँग छलफलमा केन्द्रित रहेको उल्लेख छ । ‘विज्ञ र सरोकारवालाहरूसँगको छलफल र आन्तरिक तयारी पश्चात उहाँले मुलुकको आर्थिक समृद्धिको योजना सार्बजनिक गर्नुहुनेछ ’ प्रेस नोटमा भनिएको छ ।

बाबुरामसँगको परामर्शपछि ३० केन्द्रीय सदस्यको असहमति


ओलीलाई प्रधानमन्त्री बनाउने पार्टी निर्णय गलत भएको बाबुराम निकट मानिने ३० केन्द्रीय सदस्यले बताएका छन् । डा.भट्टराईसँगको परामर्शपनि यस्तो भनाई सार्वजनिक आएको स्रोतले जानकारी दियो ।

एककिृत माओवादीका ३० जना केन्द्रीय सदस्यले शनिवार विज्ञप्ती निकालेर यस्तो जनाएका थिए । ३० जना केन्द्रीय सदस्यको विज्ञप्ती आउनुपूर्व लाजिम्पाटमा बसेको स्थायी समिति वैठकमा नेता देवेन्द्र पौडेलले फरक मत राखेका थिए ।

‘देशको विद्यमान परिस्थितिको जिम्मेवारपूर्ण रुपमा हल गर्ने पहलकदमी लिनुको साटो निःसर्त एमालेलाई समर्थन गर्ने निर्णयले देश झनै दलदलमा फस्ने खतरा रहेको हुंदा हाम्रो जस्तो शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्सा रहेको जिम्मेवार पार्टीको यस्तो गलत र गैरजिम्मेवार निर्णयप्रति हाम्रो विमती रहेको जानकारी गराउन चाहन्छौं ’ विज्ञप्तीमा भनिएको छ ।

कैयौं आफ्ना जायज मागहरु सहित आन्दोलनमा रहेका पक्षहरुलाई वार्तामा ल्याउने वातावरण वनाउन लाग्नुपर्ने, सम्पूर्ण नेपालीहरु मिलेर पुनःनिर्माणमा लाग्नु पर्ने, कैयौं वांकी रहेका शान्ति प्रक्रियाका विषयहरुलाई पुरा गर्नु पर्ने बेलामा एकीकृत माअ‍ोवादीले एमालेलाई समर्थन गरेको जनाइएको छ ।
त्यसैगरि आसन्न चाडपर्वहरुको पूर्व सन्ध्यामा कैयौं उपभोग्य वस्तुहरुको सहज आपूर्तिका लागि पहल गर्नु पर्ने, स्वाधिनताको भावना सहितका सम्पूर्ण नेपालीहरुलाई आन्तरिक रुपमा गोलवन्द गरेर देशको विद्यमान समस्याको समाधान गर्ने र राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाको लागि राष्ट्रिय सहमति कायम गरेर जानु पर्ने अवस्थामा यो निर्णयले गंभिर एवं आश्चर्यचकित वनाएको विज्ञप्तीमा जनाइएको छ ।


,

0 comments

Write Down Your Responses