पक्राउ परेका ५ खेलाडीलाई आज फेरि म्याद थप्न विशेष अदालत लैजाने
काठमाडौं, कात्तिक १५ । म्याच फिक्सिङको आरोपमा प्रहरी हिसासतमा रहेका पाँच खेलाडीलाई प्रहरीले आज फेरि म्याद थपका लागि विशेष अदालत लैजाने भएको छ।
खेलाडीहरूलाई आजै अदालतमा उपस्थित गराएर फेरि म्याद थपको आग्रह गर्ने काठमाडौं प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए।
यसअघि कात्तिक १० गते विशेष अदालतले म्याच फिक्सिङको अभियोग लागेका फुटबलका चार जना राष्ट्रिय खेलाडी र एक पूर्व प्रशिक्षकलाई कात्तिक १३ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौले कात्तिक १६ गतेसम्म हिरासतमा राख्न अनुमति माग गरेकामा विशेष अदालतले अनुसन्धानका लागि कात्तिक १३ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको थियो। तर, बिचमा सार्वजनिक बिदा परेकाले आज मात्र उनीहरूलाई अदालत लैजान लागिएको पोखरेलले सेतोपाटीलाई बताए।
सात वर्ष यता विभिन्न मुलुकसँग भएका खेलमा म्याच फिक्सिङ गरेको अभियोगमा प्रहरीले असोज २७ गते राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री र पूर्वप्रशिक्षक अन्जन केसीलाई उनीहरुकै घरबाट पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ गरेको दिनबाट लागू हुने गरी २० दिन थुनामा राख्न माग गरेकामा अदालतले १७ दिनको समय दिएको थियो।
0 comments
Write Down Your Responses