Powered by Blogger.
जनकपुरधाममा बमको हल्लाले सर्वसाधारणदेखि सुरक्षाकर्मीसम्मलाई सास्ती

७ पुस, जनकपुरधाम  । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आइतबार रातिदेखि सोमबार बिहानसम्म खैलाबैला मच्चियो । मुख्य बजारमै बम राखिएको हल्लाले रातिदेखि नै सुरक्षाकर्मीले सुरक्षा दिइरहे । मान्छेका आवतजावत नै बन्द गराइयो ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित संघीय प्रहरी कार्यालयदेखि झण्डै ५० मिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालयदेखि झण्डै डेढ् सय मिटर पश्चिम मुख्य रोडमै बम राखिएको खबर केही व्यक्तिले प्रहरीलाई गरेका रहेछन् ।
प्रहरीले जानकारी पाए लगत्तै उक्त ठाउँलाई घेरा हाली आवतजावतमा रोक लगायो । बिहानै नेपाली सेनाको टोली आउँदा उक्त वस्तु बम नभएको पुष्टि भयो । ‘नेपाली सेनाको टोलीले हेर्दा उक्त वस्तु माटोको मूर्तीको टाउको भएको पुष्टि भयो’ धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी रामेश्वर कार्कीले भने, “त्यसभित्र हड्डीका टुक्रा र पुराना तारहरु बेरिएको थियो ।”

बम भनेर शंका गर्ने तर, बम फेला नपर्ने पछिल्लो दृष्टान्त मात्रै हो, यो घट्ना । पछिल्लो एक साता यता धनुषामा बमको हल्ला गर्ने गरिएपनि बम भने फेला परेको छैन् ।

२८ मंसिरको राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा राखिएको कुकर बम बिष्फोट हुँदा साहसहित उनका १५ वर्षीय छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमीर दाहालको ज्यान गएपछि धनुषामा शंकास्पद वस्तु देखिनेवित्तिकै बमको हल्ला चलाउने क्रम बढेको छ ।

तीन जनाको ज्यान जाने गरी बम बिष्फोट भएको एक दिन नबित्दै २९ मंसिरको राति जनकपुरधाम ९ स्थित संकटमोचन मन्दिर छेउमा बम राखिएको भन्दै रातभरी प्रहरीले सुरक्षा दिइरहे । यो बमलाई ३० मंसिरको बिहान ११ बजेतिर नेपाली सेनाको टोलीले निष्क्रिय पारे लगत्तै जनकपुरकै बाह्रबिघा छेउमा अर्काे बम फेला परेको हल्ला फिंजियो । सोही दिन धनुषाधाम ५ स्थित मावि पर्वतामा पनि बम राखेको हल्ला चलाइयो । सोही दिन मिल्स एरियास्थित मानव वस्तीमै मोटरसाइकलमा बम फिट गरेको हल्ला पनि बाहिर आयो । तर संकटमोचन मन्दिरबाहेक अन्य कतै बम फेला परेन । सबैतिर फोहोर राखेको पाइएको थियो ।

यो हल्लाहरु सेलाउन नपाउँदै महेन्द्रनगरकै सखुवा चोकमा बम राखिएको हल्ला फैलियो । २ असोजमा यो हल्ला फैलिएपछि प्रहरीले सावधानी अपनाउँदै सुरक्षा दियो । पछि नेपाली सेनाको टोली आउँदा शंकास्पद भनिएको झोलाभित्र व्यक्तिका कपडाहरु फेला परेको थियो ।

ती कपडाहरु महोत्तरीका गोकुल सदा भन्ने व्यक्तिको रहेको जानकारीमा आयो’ डीएसपी कार्कीले भने, “घर जाने बेलामा उहाँले कडाको झोला बिर्सनुभएको रहेछ ।”

तर्साइएको होइन्, चेतना जागृत भएको हो : प्रहरी

अहिले जताततै शंकास्पद वस्तु भेटाउने वित्तिकै बम भएको हल्ला फैलाउने काम भइरहेको छ । तर हल्ला फैलाइएका अधिकांश ठाउँमा बमबाहेकका फोहोर या अन्य सामान फेला परिरहेको छ । यसबाट सर्वाधारणमा त्रास उत्पन्न हुनु स्वभाविकै हो । तर, प्रहरी भने यो कुनै व्यक्तिले सर्वसाधारणलाई तर्साउनका लागि नराखिएको पुष्टि हुँदै गएको जनाएको छ । ‘यस्तो हल्लाले कसैलाई त्रसित हुनुपर्ने अवस्था देखिएको छैन्’ धनुषा प्रहरीका प्रबक्ता कार्की भन्छन्, “कुनै पनि वस्तुमा शंका लागेपछि छुन नदिएर आफैंले चासो लिइरहेका छौं ।”

फेला परेका शंकास्पद वस्तुहरु नक्कली बमहरु नभएको बताउँदै उनी कसैले शंकास्पद वस्तु राखेर तर्साउन समेत नखोजेको बताउँछन् ।

जनकपुरधाममा आइतबार राति फेला परेको शंकास्पद वस्तुबारे कार्की भन्छन्, “फेला परेको ती वस्तु १५/२० दिनदेखि फोहोर फालिएको ठाउँमा राखिएको जानकारी पाएँ । ती वस्तु कुकुरहरुले बोकेर ल्याइएका रहेछन् ।”

सर्वसाधारणलाई शंका लागेपछि खबर गरेको बताउँदै उनी यस्तो खबर गर्ने क्रमलाई बम छुन नहुने सम्बन्धी चेतना जागृत भएको ठान्छन् । ‘महेन्द्रनगरमा तीन जनाको ज्यान जानेगरी भएको घट्नापछि जनतामा एक किसिमको चेतना जागृत भएको छ’ उनी भन्छन्, “यो धेरै राम्रो पक्ष हो ।”
                                                                                                          copy by
online khabar.com


0 comments

Write Down Your Responses