Powered by Blogger.
कार्यदलको प्रतिवेदनमा छलफल गर्न ओली–प्रचण्ड भेट

भदौ ८, २०७७ काठमाडौं :  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधानका लागि महासचिव नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भएको छ।  प्रतिवेदनमाथि छलफल गर्नका लागि ओली र दाहालबीच छलफल हुने कार्यक्रम तय भएको प्रचण्डको सचिवालयले जनाएको छ। पार्टीको विवाद समाधान गर्नका लागि ओली दाहालले गत शुक्रबार महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल निर्माण गरेको थियो। कार्यदलले एक साता लामो छलफलपछि शनिबार प्रतिवेदन बुझाएको छ। १७ पृष्ठ लामो प्रतिवेदनमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको कार्यविभाजन स्पष्ट पारिएको छ। ०७६ मंसिर ४ को सहमति अनुसार ओलीले र दाहालले पार्टीको सम्पूर्ण जिम्मेवारी निर्वाह गर्न सुझाव दिइएको छ। आवश्यकता अनुसार मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर, ओलीले यसअघि जस्तै एकलौटी निर्णय लिन नपाउने र पार्टी एकताको काम टुंगोमा पुर्‍याएर महाधिवेशनको तयारीमा जाने कुरा पनि समावेश गरिएको छ।  यस्तै, राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति हुनुपर्ने, असार १० गतेबाट जारी स्थायी कमिटीको बैठक राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्ने, बैठकमा ओलीको राजीनामा विषयले प्रवेश पाउन नहुने, पार्टी एकताको बाँकी काम सक्ने, शान्ति प्रक्रियाका बाँकी प्रक्रिया टुंगोमा पुर्‍याउने लगायत विषयमा समेटिएका छन्।  महाधिवेशनको कार्यसुची, पार्टीको कार्यदिशा हाललाई ‘जनताको जनवाद’ हुने, पार्टीका सबै तहका बैठकहरू नियमित बस्नुपर्ने, सीमाविवाद कुटनीतिक रुपमा हल गर्नुपर्ने, कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणमा योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने, सबै तहका सरकारको समिक्षा पार्टीका सम्बन्धित कमिटीमार्फत गर्नुपर्ने लगायतको सुझाव कार्यदलले दिएको छ।  यिनै  बिषयमा छलफल गर्न ओली–दाहाल जुटेका हुन्। कार्यदलको प्रतिवेदनमाथि ओली–दाहालले छलफल गरेपछि सचिवालय, स्थायी कमिटीमा छलफल हुनेछ।


,

0 comments

Write Down Your Responses