Powered by Blogger.
उच्च रक्तचाप जोखिम सङ्क्रमित


सिन्धुली / पहिलादेखि स्वास्थ्यमा समस्या भएका तथा दीर्घकालीन रोग भएका मानिसहरू सङ्क्रमित हुने वा उनीहरूमा सङ्क्रमण गम्भीर हुने बढी जोखिम हुन्छ ।

अध्ययनले उच्च रक्तचाप र कोरोना भाइरसबाट सङ्क्रमित हुने जोखिमबीचको स्पष्ट सम्बन्ध भेट्टाएको छ । इजरायलको चाइम शेबा मेडिकल सेन्टरको अध्ययनअनुसार उच्च रक्तचाप भएका मानिस भाइरसबाट सङ्क्रमित हुने सम्भावना छ गुणा बढी हुन्छ । धेरैजसो अवस्थामा खराब जीवनशैली, तनाव र अस्वास्थ्यकर खाने बानीको परिणामका कारण उच्च रक्तचापको समस्या सुरू हुन्छ ।

उच्च रक्तचापको विकासलाई निम्त्याउन तनाव एक प्रमुख कारक हो । र, महामारीका कारण बढेको तनाव र अव्यवस्थित जीवनशैलीका कारण उच्च रक्तचाप हुने मानिसहरूको सङ्ख्या पनि बढेको छ । भारतीय मेडिकल रिसर्च काउन्सिलका अनुसार ८० प्रतिशत कोभिड सङ्क्रमितमा लक्षण हल्का हुने र उनीहरू पूर्ण रूपमा निको हुन्छन् । तर, मधुमेह, उच्च रक्तचाप र अन्य रोगबाट पीडित केही व्यक्तिलाई लक्षण गम्भीर हुने तथा जटिलताको विकास हुनसक्छ ।

तथ्याङ्कअनुसार कोभिडका कारण मृत्यु हुने धेरै मानिसमा उच्च रक्तचापको समस्या थियो । यसैले, स्वास्थ्यमा समस्या भएका तथा दीर्घकालीन रोग भएका मानिस सङ्क्रमित भए उनीहरूलाई थप हेरचाह आवश्यक हुन्छ । एसियन हार्ट इन्स्टिट्युट, मुम्बईका वरिष्ठ हृदय रोग विशेषज्ञ डा. सन्तोषकुमार डोराका अनुसार उच्च रक्तचाप हृदय रोगका लागि मुख्य जोखिमको कारक हो ।

र, कुनै लक्षण देखा नपर्ने कारण यसलाई प्रायः साइलेन्ट किलर पनि भनिन्छ । तनावको बृद्धि, शारीरिक गतिविधिको अभाव र अस्वस्थकर जीवनशैलीले वर्तमान समयमा उच्च रक्तचापलाई बढाइरहेको छ । रक्तचाप नियमित अन्तरालमा जाँच गर्नुपर्छ । यस रोगलाई जीवनशैली र खाना परिवर्तन गरी, तौललाई ठिक्क राखी नियमित व्यायाम, चुरोटरक्सीको सेवन त्यागेर तनाव कम गर्नुका साथै डाक्टरको सल्लाहमा औषधिको सेवन गरी धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । 


,

0 comments

Write Down Your Responses