Powered by Blogger.
दुधौली नगरपालिकाका जलन पीडितको निःशुल्क उपचार हुने


सिन्धुली, साउन २८। दुधौली नगरपालिकाका जलन पिडित बिरामीको उपचार अब काठमाडौंको कीर्तिपुर अस्पतालमा निःशुल्क हुने भएको छ। यसका लागि दुधौली नगरपालिका र जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल, कीर्तिपुर अस्पतालबीच तीन वर्षका लागि उपचारसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार दुधौली नगरपालिकाका स्थायी बासिन्दा तथा नगरपालिकामा कार्यरत कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई आगलागीबाट हुने जलनसम्बन्धी उपचारका लागि अस्पतालले सेवा उपलब्ध गराउनेछ। उपचारका लागि नगरपालिकाले बिरामीको अवस्था र आवश्यकताका आधारमा अस्पतालमा सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।


सम्झौताअनुसार दुधौली नगरपालिकाले ‘जलन भएका बिरामीहरूको उपचार तथा व्यवस्थापन’ शीर्षकमा १० लाख रुपैयाँको जलन उपचार कोष स्थापना गर्नेछ। अस्पतालले उपचारका क्रममा लाग्ने खर्च सम्झौतामा तोकिएको सेवा शुल्कका आधारमा उक्त कोषबाट दाबी गर्ने व्यवस्था गरिएको छ।


उपचारका लागि बिरामीले दुधौली नगरपालिकाभित्र स्थायी बसोबास गरेको प्रमाणित कागजात वा दुधौलीको स्थायी ठेगाना भएको नागरिकता, मतदाता परिचयपत्र वा जन्मदर्ताको प्रतिलिपि पेश गर्नुपर्नेछ। नगरपालिकाका कर्मचारी तथा कर्मचारीका परिवारका हकमा नगरपालिकाको परिचयपत्रको प्रतिलिपि आवश्यक पर्ने सम्झौतामा उल्लेख छ। त्यस्तै, बिरामी भर्ना तथा डिस्चार्ज कागजात र डिस्चार्ज हुँदाको अन्तिम बिल भर्पाइसमेत पेश गर्नुपर्नेछ।


सम्झौताले नगरपालिकाभित्रका स्थानीय बासिन्दा तथा मतदातामध्ये अनौपचारिक क्षेत्रका श्रमिक, हिंसापीडित, एकल महिला, विपन्न तथा लक्षित वर्गका व्यक्तिलाई समेत आवश्यकताअनुसार जलन उपचार सेवा उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ। त्यस्ता बिरामीलाई नगरपालिकाले संवेदनशीलताका आधारमा सिफारिस गर्न सक्नेछ।


त्यसैगरी जलनसम्बन्धी प्राथमिक उपचार, दुर्घटना न्यूनीकरण, दुर्घटनाबाट बच्ने उपाय तथा दुर्घटनापछि तत्काल गर्नुपर्ने उद्धारसम्बन्धी तालिम र अभिमुखीकरण कार्यक्रम दुवै पक्षको समन्वयमा सञ्चालन गर्ने सहमति भएको छ।


सम्झौताअनुसार जलन उपचार कोषमा रहेको रकम, सोधभर्ना तथा थप बजेटलगायत विषयमा दुवै पक्षबीच आवश्यकताअनुसार छलफल बैठक कम्तीमा वर्षमा दुई पटक बस्नेछ। सम्झौता आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा परिमार्जन गर्न सकिनेछ।


सम्झौता हस्ताक्षर भएको मितिदेखि तीन वर्ष लागू हुने उल्लेख छ। सम्झौतामा दुधौली नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थापा र जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल, कीर्तिपुर अस्पतालका तर्फबाट अस्पताल निर्देशक डा. किरण किशोर नकर्मीले हस्ताक्षर गरेका छन्।


, ,

0 comments

Write Down Your Responses