Powered by Blogger.
सक्रिय हजुरबाहरुलाई चिठी : ‘लाजनीतिमा थकाइ भन्ने शब्द हुन्छ !’



राष्ट्रपति र प्रधानमन्त्री बन्न कति वर्ष पुग्नुपर्छ हजुरबा ?
प्रिय सुशील हजुरबा !
बिमल आचार्य   

भन्न त हजुरलाई हजुरभन्दा सत्तरी वर्ष कान्छाकान्छीले पनि ‘दा’ भनी बोलाउँछन् केरे । तर, म हजुरको अनुमतिविनै हजुरलाई हजुरबा भनी बोलाइरहेछु । बिहे नगरीकनै तन्नेरीमै म कसैको हजुरबा कसरी भएँ, नभन्नुहोला । मेरा आफ्नै हजुरबा र हजुरको उमेर ७६ वर्षको समान भएकाले मैले यसो हजुरहरुलाई जोख्ने धृष्टता मात्र गरेको हुँ । नरिसाउनुहोला है !

यता मेरा हजुरबा हजुरले नै नेतृत्व गरेको राज्यको परिभाषाअनुसार ‘वृद्ध’ हुन् । हजुरकै नियमानुसार ५९ वर्ष कटेपछि सक्रिय घेरो कटेका निष्क्रिय जन हुन् । हजुरकै राज्यले हाम्रा हजुरबालाई ‘तँ अब बूढो भइस्, सेवा गर्न सक्तैनस्’ भनेकै १६ वर्ष भइगयो । हजुरबा निवृत्त हुँदा गर्भमै रहेकी मेरी बहिनीले एसएलसी पास गरेर नागरिकता पाइसकी ।
मेरा हजुरबाकै बर्खका हजुर चाहिँ लाजनीतिबाट निवृत्त हुने छाँटकाटै देखिरहेको छैन म । सेना, प्रहरी, कर्मचारी, शिक्षक, प्राध्यापक सबैजसोले बुढ्यौलीले छोएपछि सेवा गर्न सक्तैनन् भनेर अवकाश दिनुहुन्छ हजुरहरु नै । अनि हजुर चैं यत्रो गरुङ्गो देशै चलाइरहनु भएको छ, कसरी हजुरबा ? लाजनीतिमा अवकाश भनेकै चिता र चिता भनकै अवकाश हो हजुरबा ?  स्व. मदन बाजेले लाजनीतिमा थकाइ भन्ने शब्दावली (शब्द भन्नुपर्ने) हुँदैन भनेर लास्टै झुर कुरा बोल्देका छन् । सबका सबले पछ्याका पछ्यायै भए यहाँ ।
सुशील हजुरबा ! हजुरकै उमेरका सबले ‘बूढ्यौलीभत्ता’ बुझ्न थालेको दसौं बर्ख भइगयो हाम्रो टोलमा । हजुरकै अर्थमन्त्री महत काकाले हजुरजस्ता वृद्धवृद्धाका लागि तलब बढाका छन् त बजेटमा । बृद्ध र रोगी अनि परनिर्भर र निष्क्रिय हुन सक्छन् भनेरै हैन र हजुरहरुले कृपा गरिदिएको ? अनि हजुर कसरी पर्नुहुन्न त आफैले बनाएको घेरोभित्र ?
मेरा हजुरबालाई हाम्रो हेरविचार र मायाको जरुरी छ यो उमेरमा । उसो त हजुर जति धेरै थलिनुभएको पनि छैन । तर पनि बुढ्यौलीले च्यापेर हामीबीच सधैं मस्तराम हुन्छन् बूढा । छोराछोरी र नातिनातिनाले घेरिएर आरामले बस्छन् । उही उमेरका हजुरहरु भने हामी लाठे नाति-नातिनाहरुको उज्यालोका लागि सारा बत्ती निभाएर अहोरात्र खट्नुभएको छ ।

आफ्नो चिन्ता बिल्कुल छैन हजुरलाई । घरमा हजुरआमा, काका-काकी भएको भए पनि हजुर ‘हलिउडको हिरो’ हुन सक्नुहुन्थ्यो होला अझै पनि । तर…(सबैलाई थाहै छ) ।

उ अर्थात् लाष्ट्र, लाष्ट्रियता, छान्ति, छंविधान, लोकतन्त र एक्ताकै चिन्ता छ हजुरलाई हरबखत । तर, यी सब कुरा हजुरको शासनझैं जीर्ण र रुग्ण भए पनि हजुरसँग छैन केही गुनासो । यत्रो भूकम्पका बेला समेत कत्ति पनि नहल्लिई नाथे सय घण्टाभित्रै हामीलाई सम्बोधन गर्न भ्याउनुभो हजुरले । दुई सय घण्टाभित्रै उद्धार र तीन सय घण्टाभित्रै राहत पुर्याइदिनुभयो, हामी धन्य छौं । जाबो असी दिनमै बर्खा नलाग्दै हजुरले उद्धार त के पुनःस्थापनाको कामै सयका सय प्रतिशत फत्ते गरिसक्नुभो ‘जुद्ध’स्तरमा ।

हजुरले कम्ती काम गर्नुभयो त ? धेरै गर्नुभयो । हजुर महान् हुनुहुन्छ हजुरबा । यस्ता हजुरलाई कोटी कोटी प्रणाम । हजुरको जीवनी, व्यक्तित्व र कीर्तित्वको चर्चा हजार जिब्रा भएका पुकदा काकाले पनि गर्न सक्नुहुन्न, हामी नाथे के सकौंला र !

हजुरको यो नाति ३५ वर्ष कटेपछि सरकारी जागिरको ढोका बन्द हुन्छ । यसको अर्थ ३५ कट्नेबित्तिकै ऊ काम गर्नै नसक्ने वा कामै नलाग्ने हुन्छ त ?

हजुरले नै भनेअनुसार हजुर डुल्न र घुम्न अनि मोज र मस्ती गर्न विदेश गइरहने होइन । स्वास्थ्य जँचाउन नै जाने हो । ‘बिरामी हुनुहुन्छ, वृद्ध भइसक्नुभयो, काम गर्नु सक्नुहुन्न’ भन्दा किन रिसाउनुहुन्छ ? हामी साराका सारालाई कति ठूलो अन्याय र पाप बोकाउनुहुन्छ हजुरबा ? मानवअधिकारको विश्वव्यापी मान्यता, विश्व स्वास्थ्य संगठनलगायत हाम्रै ऐनकानुनका बर्खिलापमा गई हामीले हजुरलाई यस्तो अवस्थामा पनि न्यूनतम आराम गर्न दिएका छैनौं । यो उमेरमा यस्तो बिमार हुँदा हजुरले उचित खानपान, निद्रा, आराम, ओखती, हेरविचार, माया, सम्मान पाउनु हजुरको आधारभूत मानवअधिकार हो । मैले भनेको मान्नुहुन्छ भने हामी सब तन्नेरी पीडकहरुविरुद्ध अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा हालिदिनुस्- नेपालमा जति धेरै उमेर बढ्दै गयो, काम उति धेरै गर्नुपर्छ भनेर ।
हामी सब नेपाली जन हजुरजस्तो ‘एजिङ पिपल’को मानवअधिकारका गम्भीर उल्लङ्घनकर्ता अपराधी भएका छौं । हामीलाई यस्तो पाप र अपराधबाट मुक्ति दिइदिनुस्न । परेको हामी बेहारौंला, अब चैं आराम गर्नुस् के बड्डा !
मेरो घरमा मात्र किन र, हरेक घरमा हामी तन्नेरी नै ‘कार्यकारी ‘प्रमुख’ छौं । हाम्रा हजुरबा-हजुरआमा सेरेमोनियल रोल लिई सल्लाहकारका रुपमा खटाउनुहुन्छ हामीलाई । हजुरकै नेतृत्वको राज्यले पनि त हामी १५ देखि ५९ वर्षलाई मात्र ‘सक्रिय’ भनेको छ केरे, हैन्त ? तर हजुरको विशालघर (सरकार) मा त ठ्याक्कै उल्टो अर्थात् ६० वर्षमाथिका ‘निष्क्रिय’हरु मात्रै ल्याङल्याङ गरिरहेको देख्छु त म । हजुरंका तन्देरी छोरा-नाति हजुरका उपदेशक-सल्लाहकार, अनि हजुर चैं रातदिन खट्ने गरुङ्गो भारीवाहक गधा-भरिया ? यो त कानुनी, व्यावहारिक र विश्वव्यापी कुनै पनि रीतले सुहाएन है बड्डा !
जलस्रोत समितिका गगन थापा, विकास समितिका रवीन्द्र अधिकारी, लेखा समितिका जनार्दन शर्माजस्ता रातापिरा जिउँदा छोरा-नातिले हजुर जस्तो क्षम्तावान् र शक्तिशाली हजुरबालाई ‘तँ सुड्डोले राम्ररी काम गरिनस्’ भन्दै र्‍याखर्‍याख पारेको, सल्लाह र उपदेश अझ निर्देशनै दिएको दृश्य साह्रै अमिल्दो लाग्यो है मलाई त । हाम्रा घरमा बाजेलाई अह्रनखटन गर्ने आँट कसैले गर्न सक्दैन । हजुरलाई कसरी सकेका ती अल्छी बज्जेहरुले अह्रनखटन गर्न ? ‘धेरै नकराओ तिमरु, म बूढाका ठाउँमा बसी हेर त’ भनेर उनीहरुलाई आफ्नो कुर्सीमा थचार्दिनुस् न । अनि बल्ल था‘ पाउँछन् लाठेहरले । के (न)गर्दा रचन्, हेरम्ला नि हामी पनि ।

मेरा हजुरबाले जस्तो हजुर पनि आफ्नो परिपक्क र पाको अध्ययन र अनुभव आफ्ना छोरा-नातिसँग साट्नुहोस् अनि कडा रुपमा अह्रनखटन गर्नुहोस् । सुशील बाजे ! के तपैंले कहीँकतै कसैको घर-परिवारमा हृष्टपुष्ट नाति-नातिनाले वृद्ध र अशक्त (अशक्त भनेर साँचो बाल्नै परेकामा माफी चाहन्छु) बाजेलाई सल्लाह र निर्देशन दिँदै सुतीसुती खाको देख्नुभएको छ ? देख्नुभएको छ भने, तुरुन्त भूमिका फेरिदिनोस् । अनि मात्र घर ठीकठाक हुन्छ, काम पनि प्रभावकारी हुन्छ ।
हजुरबा ! हजुर लोभी र अल्छी अनि भ्रष्ट र बेइमान त हुँदै होइन । यो हामी सबैलाई थाहै छ । अन्यथा नलिनुहोला, हामी नेपालीको औसत आयु ६९ वर्ष छोएर हजुर आठ वर्ष टाढा पुगिसक्नुभो । यस्तो ‘डाँडामाथिको मुन’ जस्तो बितरागी बाजेलाई लोभी र भ्रष्ट भने त हामीलाई झन् महापाप लाग्छ ।

मलाई के लाग्छ भने हजुरले सधैं राम्रो गर्न चाहिरहनु भएको छ । कुन चाहिँ घरमूलीको चाहना हुँदैन र, सबै सदस्यको प्रिय बनी मनमनमा बस्न पाऊँ । हजुरलाई पनि आफ्ना सान्दाजु बीपीझैं केही राम्रो गरेर सुनाम फिँजाऊँ भन्ने चाहना छ, हामी बुझ्छौं । तर हजुरले चाहेझैं भइरहेको छैन । किन त ?

हजुरको उमेर र स्वास्थ्यले धेरै खट्न दिँदैन, यो लुकाउने कुरै छैन । यस्तो बेला हजुर आफ्ना सहयोगी मन्त्री र सल्लाहकारको प्राइभेट इन्ट्रेस्टमा भर पर्नुपर्ने हुन्छ । हजुरको शासनकै आडमा तिनीहरुलाई आफ्ना शाखासन्तानलाई तीस जुनीसम्म पुग्ने गरी धनैश्वर्य जोड्नु छ, सरुवा-बढुवाको सेटिङ मिलाउनु छ, देशविदेश चहार्नु छ । धाक र धम्की, रवाफ र आडम्बर प्रदर्शन गर्नुछ । किन छोडाउँछन् हजुरलाई कुर्सीबाट ? सल्लाहकार समयको आरनमा पाकेको होस्, सम्बन्धित विषयमा अध्ययन-अनुसन्धान वा अनुभवको संग्रह बोकेको होस् । सल्लाह दिने मान्छे जुँगादाडी फुलेको सत्तरी वर्षे ‘सुको’शर्मा ब्राह्मणझैं हुनुपर्छ भन्ने मेरो कुरो होइन तर ऊ हजुरभन्दा निरपेक्ष, निस्वार्थी, त्यागी र दूरदर्शी हुनैपर्छ ।

हजुरलाई पो अब जिन्दगी धेरै सोच्नुछैन । जसरी बीपी, गणेशमान, किसुनजी जस्ता प्रपितामह जानुभयो, हजुर र मसमेत सबै जाने नै हो । तर, यो देश र हजुरका छोरा-छोरी र नाति-नातिनाको निराश-उदास-हतास अनि रित्तो-खल्लो-एक्लो वर्तमान हेर्नुस्त ? आत्मालाई नटाँढी भन्नुस्त बाजे, यही ताल हो भने यो देश दश या बीस वर्षपछि कस्तो होला ? मलाई त डर लाग्छ, पूर्वन्यायाधीश भरत उप्रेतीझैं स्वयंफैसला गर्दै उड्नेको संख्या बढ्दै जाने त होइन ? नहोओस् ।

जोसिला र क्षमतावान् नाति-नातिनीलाई एक्जुकेटिभ पावरसहित काममा खटाइदिनुभयो भने हाम्रो भविष्य त के वर्तमान नै उज्ज्वल हुन सक्छ । हजुर पाकाहरु हातमा अनुशासन र नियमको लौरो लिई बस्नुस्, अल्छी र ढाँटलाई पाखा लाइदिनुस् । देशबाट अभाव र तनाव अनि दबाब र प्रभाव दूर होइजाला कि !

हजुरबा ! हजुर आफै कुद्न छोडेर गगो-अआ (गगन, गोकर्ण, अभिषेकप्रताप, आहूति) जस्ता पहाडै उचाल्ने जोस र जाँगर अनि मिसन र भिजनवाहक ‘हनुमान’हरुलाई आफ्नो भूमिका दिनुस्त । के हामीले गगो-अआ जस्ता बाघहरुलाई हजुरहरुझैं ७६ वर्षमा ल्याङल्याङ र म्याउँम्याउँ गर्दै दिउँसै उङिरहेको अवस्थामा मात्र मन्त्री-प्रधानमन्त्री भएको देख्न पाउने हो ?

हजुरको यो नाति ३५ वर्ष कटेपछि सरकारी जागिरको ढोका बन्द हुन्छ । यसको अर्थ ३५ कट्नेबित्तिकै ऊ काम गर्नै नसक्ने वा कामै नलाग्ने हुन्छ त ? हुँदैन । तर तोकिएको वर्ष सेवा गर्न सकोस्, राज्यको व्ययभार धेरै नहोस्, नयाँ सोचको नयाँ पुस्ता पनि समेटियोस् भनेर यस्तो अनुशासन बनाएको होइन हजुर विधिनिर्माताहरुले ? सबै ठाउँमा छिर्न निरोगिताको प्रमाणपत्र अनिवार्य चाहिने अनि लाजनीतिमा छिर्न चाहिँ रोगिताकै प्रमाणपत्र चाहिने यो के बिल्याँटो नियम हो बाज्या ?

उता ५४ वर्षे ओबामा अंकल राजनीतिबाट विश्राम लिँदै छन् । यता यही असार १७ गतेदेखि ५१ वर्ष टेकेका गोकर्ण विष्ट अंकल भने हाम्रा ‘भविष्यका युवा नेता’ हुन् । हाम्रो यस्तै संरचना यथावत रहने हो भने यी पनि ७६ वर्षमा प्रम वा पार्टी प्रमुख बन्लान् । खै, त्यो पनि कुन्नि ?

केही दिनअघि रवीन्द्र मिश्रसँग बीबीसी नेपालीमा ६२ वर्षे प्रचण्ड बाजेले भन्स्यो, ‘७-८ वर्ष सक्रिय राजनीति गर्ने नै मनस्थितिमा छु ।’ सुनेर म मरें । केपी बाजेको ६४ वर्षे उमेर र त्यस्तो स्वास्थ्यले संसारको कुन कुनामा के जागिर पाइन्छ ? मलाई भन्न पर्‍यो । तीतीन चोटि प्रम भइसकेका ६९ वर्षे देउवा बाजे अनि १६ चोटि प्रम भइसकेका ७० वर्षे रामचन्द्र बाजेहरुले कार्यकारी हुने सपना नदेख्नुस् है । अब यहाँहरु पनि ४७ र ६३ को पूर्वसंविधानझैं पूर्वनेता हुनपर्‍यो ।

संविधान मस्यौदा पढेँ । मेरो कुरो : सांसद हुन २५ देखि ३५ वर्ष, मन्त्री-मुख्यमन्त्री हुन २५ देखि ४० वर्ष, प्रधानमन्त्री हुन २५ देखि ५० वर्ष, राष्ट्रपति हुन २५ देखि ६० वर्ष उमेर तोकिदिनुस् । हैन भने मलाई पनि छयहत्तर वर्ष पुगेपछि आर्मी-पुलिसमा भर्ना लिनुस् । हजुरले ७६ वर्षमा गरुङ्गो देशै उचाल्न पाउने, अनि मैले जाबो एउटा बन्दुकै उचाल्न नपाउने ? हजुलको नाम पनि त शिथिल कोइलाला होइन नि ! न्यूनतम मात्र हैन, अधिकतम उमेर ताक्नैपर्छ बाजे !

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद इत्यादिको सल्लाहकारमा तत्तत् विषयमा अध्ययन र अनुसन्धान तथा अध्यापन र अनुभव लिएका तथा ६० वर्ष पुगेका हजुरहरुजस्ता आजका सबै दलका सबै शीर्ष हजुरबाहरु सल्लाहकार हुनुहोस् ।

सल्लाह र परामर्शको काम निःशुल्क गर्नुपर्ने गरी अनुभवी पेन्सनवाला कर्मचारीलाई खटाउनुहोस् । भर्खर जुँगारेखी बसेका र भर्खर छाती उठ्दै गरेकाहरुले संसदीय समितिका सभापति भई हजुरलाई सुतीसुती निर्देशन र उपदेश दिने तर अहोरात्र खट्नुपर्ने पदमा सत्तरी कटेका शिवशर्मा बाहुनहरु मात्र हुने यस्तो बिब्ल्याँटोलाई पर्लक्क उल्ट्याइदिनुहोस् । एक न एक दिन नउल्ट्याई सुखै छैन केरे । परम्प्रिय‘प्रम’ शिथिल कोइरालाज्यू ! हजुरको पहलमा संविधानमै लेखिने गरी यस्तो प्रस्ताव पारित गर्नुभयो भने धेरै त भन्दिनँ हजुर हाम्रा प्रपितामह बीपी सान्दाजुलाई जितेर सबै नेपालीका ठूल्दाजु हुनुहुनेछ ।

यो चिठी प्रधानमन्त्रीको रोलक्रममा बसेका बिरामी र शिथिल समस्त हजुरबाहरु र पटकपटक प्रम भई केही लछारपाटो नलाएका तमाम हजुरबाहरुलाई पनि हो, अरु हजुरबाहरु मख्ख नपरे हुन्छ । यो अहिलेका मुख्य हजुरबालाई सम्बोधन गरिएको सबै हजुरबालाई बोधार्थ चिठी हो । युवा नेता भनी सबभन्दा बढी प्रचारित गगन दाइ नै ४० वर्षे अंकल भइसके ।

थाहा छ कि नाइँ ?  ऋषिकेश जंग शाह, रामकुमारी भाँक्री, चन्द रेणुजस्ता युवाहरुले दलमा विद्रोह नगरेको देखेर म यिनीहरुलाई पनि ‘बाजाबजेई’ नै भन्छु अब । रोलक्रम कुर्दै गए भने यिनीहरु असी वर्ष पुगेपछि पार्टी प्रमुख बन्लान् ।
प्रिय अरु हजुरबाहरु ! बेरोजगार बनाउँदैनौं, चिन्ता नगर्नुस् । हजुरहरु ५९ कटेका जति पनि ‘अयोग्य लडाकु’हरु हाम्रो पदीय लाजनीतिमा उच्चासनमा हुनुहुन्छ नि, हजुरहरु सबैलाई ‘उचित समायोजन र सम्मानजनक व्यस्थापन’ गर्ने आइडिया मसँग छ ।

हजुरहरु हाम्रा विभिन्न कार्यकारी पदका सल्लाहकार-परामर्शदाता, संसदीय समितिका उपसभापति, उपराष्ट्रपति, विभिन्न निकाय र क्लबमा वरिष्ठ सल्लाहकारदेखि वरिष्ठ उपाध्यक्ष, विभिन्न वृद्धाश्रमका सीइओ (जसको समस्या उसको नेतृत्व भए प्रभावकारी हुन्छ नि), पशुपतिलगायत भजनमण्डलीका व्यवस्थापक तथा यी र यस्तै मूर्तिवत् उपाध्यक्ष पदमा नियुक्त हुन वाञ्छनीय योग्यता पुगेका हुनुहुन्छ । हजुरहरु मानसिक र बौद्धिक काम गर्नुस्, हामीलाई  यी प्लस शारीरिक काम गर्न दिनुस् ।

हजुरबा ! मलाई थाहा छ, यो चिठीमा हजुरको पहुँच हुनेछैन । हजुरका आसेपासेलाई न्याँकेको यो चिठी उनीहरुले हजुरलाई पढ्न पक्कै दिनेछैनन् । तर पनि मेरो यो सधैंको असन्तुष्ट-आक्रोशित (अ-आ) मन मान्दै मान्दैन ।

ल्याङल्याङेहरुको म्याउँम्याउँ सुनेर हरपल छटपटी र उकुसमुकुस हुन्छ म मुसालाई । मनका कुरालाई बाँधी नराखेको मात्रै हुँ । हजुरहरुले नित्य बाँडिरहने आहतले भरीभराउ बोतलहरु पिउँदापिउँदै हल्का पागल भएको तालमा बेहोसीमै धेरै कराएँ केरे म ।

यो चिठी पढेर हजुरबाहरुको मन पूर्वन्यायाधीश भरत उप्रेतीझैं दुख्यो भने म क्षमा माग्नेछैन, बरु औधि खुसी पो हुन्छु कि !

हस्त आजलाई यत्ति । बिदा पाऊँ ।

जाँदाजाँदै फेसबुकमा भेटेको यो छोटो तर मोटो तुक्का यसै पत्रसँगै नत्थी गर्छु । पढ्सेला ।

उता युवाहरु शासन गर्छन्

र, बूढाहरुलाई पेन्सन दिन्छन् ।

यता बूढाहरु भाषण गर्छन्

र, युवाहरुलाई टेन्सन दिन्छन् ।

‘सक्रिय’ तथा रोजगारप्राप्त हजुरबाहरुको

उही बेरोजगार नाति ।

हाल : काम नपा, त्रिपाल नं. ६०१, ने (नेता)+पाल ।


,

0 comments

Write Down Your Responses