तथ्यांक अनुसार २०८१/०८२ को पछिल्लाे ८ महिनामा बर्दिबास ब्युरोले सिन्धुली जिल्लामा ८ वटा अपरेसन गरेको थियो। ती अपरेसनहरूबाट कुल ८ जना पुरुष र २ जना महिला पक्राउ परेका छन्।
सबै अपरेसनहरूमा ब्राउन सुगर (Brown Sugar) नामक लागू औषध प्रमुख रूपमा बरामद गरिएको छ, जुन हेरोइन समूहमा पर्ने अत्यन्तै घातक नशालु पदार्थ हो।
बरामद सामग्रीको विश्लेषण गर्दा निम्न पक्षहरू देखा परेका छन् । अपरेसनहरूमा बरामद ब्राउन सुगरको मात्रा घटिमा २५० मिलिग्राम देखि बढिमा ९९.८६० ग्रामसम्म रहेका छन। हरेक घटनामा मोबाइल फोनहरू समेत बरामद गरिएका छन्, जसले लागूपदार्थ कारोबारमा सञ्चार प्रविधिको प्रयोग व्यापक भएको देखाउँछ। एक घटनामा रु.६,८०० नगद पनि बरामद गरिएको छ, जसले कारोबार आर्थिक लेनदेनको पुष्टि गर्छ।
सबै अपरेसनहरू लागू औषध नियन्त्रण ब्युरो बर्दिबास र ईलाका प्रहरी कार्यालय भिमानसँगको सहकार्यमा भएका छन्। अधिकांश अपरेसनहरू सिन्धुलीको ईलाका प्रहरी कार्यालय भिमान, कमला क्षेत्र र सदरमुकाम आसपास केन्द्रित छन्। पक्राउ परेका अधिकांश व्यक्ति पुरुष छन्, तर महिला संलग्नता पनि देखिएको छ, जसले लागूपदार्थ कारोबारमा लैङ्गिक सहभागिता विस्तार हुँदै गएको सङ्केत दिन्छ।
सिन्धुलीमा लागूपदार्थको कारोबार बढ्दो क्रममा देखिएको छ। युवावर्ग र सीमान्तकृत क्षेत्रलाई लक्षित गरी कारोबार सञ्जाल फैलाइएको देखिन्छ। मोबाइल र नगदको प्रयोगले कारोबारीहरू प्रविधिमैत्री र सुनियोजित रूपमा क्रियाशील रहेको देखाउँछ।
लागूपदार्थ कारोबार नियन्त्रणमा सशस्त्र अपरेसन मात्र पर्याप्त छैन। स्थानीय तह, विद्यालय, अभिभावक र स्वयंसेवी संस्था समेतको सक्रिय भूमिका आवश्यक देखिन्छ। पुनर्स्थापनाका कार्यक्रमहरू, जनचेतनामूलक अभियान र युवा लक्षित कार्यक्रमहरूले दीर्घकालीन समाधान दिन सक्छन्।
नेपाल सरकार अन्तर्गत लागू औषध नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन गर्न तथा लागू औषधको अवैध उत्पादन, ओसारपसार, वितरण, प्रयोग र यसको अपराध नियन्त्रण गर्ने मुख्य जिम्मेवारीसहित लागू औषध नियन्त्रण ब्युरो (NCB) को स्थापना गरेकाे हाे ।
देशभित्र तथा सीमा क्षेत्रमा लागूपदार्थको अवैध कारोबार रोकथाम गर्नु, लागू औषध सम्बन्धी अपराधको अनुसन्धान, निगरानी तथा अपरेसन सञ्चालन गर्नु, अन्य देशका सुरक्षा निकाय र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्दै सञ्जाल नियन्त्रण गर्नु, लागू औषधको दुष्परिणामबारे जनचेतना कार्यक्रम सञ्चालन गर्नु र लागू औषध प्रयोगकर्तालाई सुधार गृह वा पुनर्स्थापना केन्द्रमा पठाउने व्यवस्था गर्नु यस्काे मुख्य उदेश्य रहेकाे छ ।
![]() |
अप्रेशन बिवरण |
लागू औषध नियन्त्रण ब्युरोले बढ्दो लागू औषधको समस्या नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। तथापि, यो समस्या केवल प्रहरी कारबाहीबाट समाधान नहुने भएकाले समाज, परिवार, शिक्षा र नीति तहमा समग्र प्रयास आवश्यक छ । सिन्धुली जिल्लामा बर्दिबासस्थित लागू औषध नियन्त्रण ब्युरोको सक्रियता प्रशंसनीय छ। तथापि, कारोबारको प्रवृत्ति, संलग्नताको विविधता र प्रविधिको प्रयोगले गर्दा थप प्रभावकारी रणनीति आवश्यक छ। लागू औषधमुक्त समाज निर्माणका लागि राज्य, समाज र परिवार सबैको समन्वय आवश्यक छ।
0 comments
Write Down Your Responses