स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा घ्याङलेख पहिलो
सिन्धुली । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा सिन्धुलीका स्थानीय तहहरु मध्ये घ्याङलेक गाउँपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०⁄०८१ मा गरेको मूल्याङ्कनमा घ्याङलेक गाउँपालिकाले ९६.५ अङ्क प्राप्त गरेर जिल्लामा उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो । मूल्याङ्कनका विभिन्न विषय क्षेत्रका सूचकहरू पूरा गर्दै घ्याङलेकले उच्चतम अङ्क प्राप्त गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले जानकारी दिनुभयो । घ्याङलेक गाउँपालिका बागमति प्रदेशका स्थानीय तहहरु मध्ये तेश्रो स्थानमा समेत पर्न सफल भएको छ ।
अनियमितता कम भएका कारण यस पालिका पहिलो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै कुराको व्यवस्थापन गर्न कठिन छ । त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्नसके र कानुनसम्मत चल्नसके सफल भइँदोरहेछ ।” नागरिकको भावना बुझेर काम गर्दा यो परिणाम प्राप्त गर्न सफल भएको उहाँको भनाइ छ ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापन जस्ता मूल्याङ्कनका विषय क्षेत्रमा घ्याङलेक उत्कष्ट अङ्क ल्याउन सफल भएको बताइएको छ । एक सय पूर्णाङ्कमा घ्याङलेक गाउँपालिकाले ९६.५ अङ्क ल्याएको छ ।
स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याकंन कार्यविधी २०७७ अनुसार १०० वटा सुचकहरुको आधारमा गरिएको मुल्याकंनमा सुनकोशी गाउँपालिकाले ९४ अंक, हरिहरपुरगढी गाउँपालिकाले ९२ अंक, दुधौली नगरपालिकाले ९१ अंक, , मरिण गाउँपालिकाले ९०.५ अंक, फिक्कल गाउँपालिकाले ८९.५ अंक प्राप्त गरेका छन । त्यस्तै कमलामाई नगरपालिकाले ८८.५ अंक, तिनपाटन गाउँपालिकाले ८६.५ अंक र गोलन्जोर गाउँपालिकाल ७१.५ अंक प्राप्त गरेको छ ।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिँदै आएको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्यव समिति मार्फत प्रत्येक आर्थिक वर्षको वित्तीय सुशासन जोखिम मूल्याङ्कन गर्दै आएको छ ।
0 comments
Write Down Your Responses