Powered by Blogger.
युद्धकालमा अनलाइन रेडियो

  • दीपक मैनाली
तत्कालीन नेकपा (माओवादी) र सरकारी पक्षबीचको दोस्रो वार्ता असफल हुने लगभग निश्चित जस्तै थियो । ०६० साउनको अन्तिमतिर प्रचारसँग सम्बन्धित प्रायः सबै साथीहरुको कार्यक्षेत्र र कार्यविभाजन टुंगिएको थियो । म पनि आफ्नो कार्यक्षेत्रमा जान आतुर थिएँ । तर, साथीहरु सबै हिंड्दा पत्रिका ननिस्कने र त्यसले चलिरहेको वार्ता–प्रक्रियामा थप प्राविधिक समस्या समेत उत्पन्न हुनसक्ने भएकाले मलाई केही दिन उपत्यकामै रहेर ‘जनादेश’ १÷२ अंक निकालेर मात्र जाने निर्देशन भयो । सोही बमोजिम मैले भदौको पहिलो हप्ता मात्र उपत्यका छोड्न पाउने भएँ । आफ्नो जिम्मेवारी पूरा गरेर म पनि आफ्नो कार्यक्षेत्र पुगें । दिल्लीको शालिमार वाग भन्ने ठाउँमा मलाई ‘रिसिभ’ गर्न मेरा अग्रज महेश्वर दाहाल आउनुभएको रहेछ । म त दिल्लीमा एकदमै नयाँ, उहाँले कता–कता हुँदै एउटा कोठामा पु¥याउनुभयो । त्यहाँ चिरपरिचित सुरेश ‘आइडु’ (हामी सुरेश आले मगर सरलाई ठट्टा गरेर आइडु’ सर भन्थ्यौं । अंग्रेजी आईबाट म र डुबाट गर) लगायतका साथीहरु हुनुहुँदो रहेछ । पछि, सूर्यप्रकाश सुवेदी ‘पथिक’ पनि आउनुभयो । काठमाडौंदेखि दिल्ली पुग्दासम्मका आशंका, अनिश्चितताका वादल फाटे । चिनजान र आत्मीय साथीहरुसँग भेट हुने क्रम बढ्दै गयो । पथिक र महेश्वरले दिल्लीको ‘वातावरण’ बारे मलाई थोरै बताउनुभयो । केही दिन त्यहीं सुरेश सरसँगै बस्ने, वातावरण बुझ्दै जाने र कोठा पनि खोज्ने भनेर उहाँहरु छुट्नुभयो तथापि हाम्रो भेटघाट दैनिक अझ बिहान–बेलुकै हुन्थ्यो ।

हामी स्वप्निल यात्रीहरु, ‘म’ भन्ने ‘हाम्रो’ अगाडि लत्रक्क पथ्र्यो । हामी क्रान्तिका पथिक, ‘हाम्रा’ अगाडि ‘मेरो’ भन्ने सबै चीज व्यर्थ थियो । हामीले आफ्ना सबै व्यक्तिगत आकाङ्क्षाहरुलाई धूलो चटाएका थियौं । आफ्नो परिवारलाई होइन, सबै मानवलाई परिवार बनाएका थियौं । जहाँ गए, जहाँ रहे पनि क्रान्तिको लागि, जहाँ मरे पनि क्रान्तिको लागि । जीवनका सबै आयामहरुलाई क्रान्तिको लागि समर्पित गर्ने । बस, थियो भने हाम्रो स्वार्थ त्यत्ति मात्रै थियो– मरे क्रान्तिको लागि, बाँचे पनि क्रान्तिकै लागि । हामीले युवाहरुको गीत पढेका थियौं, आमा र मेरा विश्वविद्यालयहरु पढेका थियौं, अग्निदीक्षा र भियतनामका वीरहरुको गाथा पढेका थियौं । सायद त्यही भएर होला हामी ‘पावेल’हरु खोजिरहेका थियौं, ‘आमा’ हरु खोजिरहेका थियौं । हामीमध्ये कतिले आफूलाई त्यस्तै–त्यस्तै पात्रहरुमा रुपान्तरण गर्न खोजिरहेका थियौं । जेहोस्, हामीसँग क्रान्तिबाहेक अरु कुनै सोंच र सपना थिएन ।

दिनहरु गुज्रिरहेकै थिए । हाम्रो ध्यान प्रचारलाई कसरी व्यवस्थित बनाउने भन्नेमै केन्द्रित थियो । उच्च प्रविधिले सजिएको साम्राज्यवाद–विस्तारवादका नेपाली दलालविरुद्ध सापेक्षित रुपले उच्च प्रविधिको प्रयोग हामीले पनि गर्नुपर्छ भन्नेमा हामी सबै प्रष्ट थियौं । ‘जनादेश’ साप्ताहिकलाई एचक्यूमा केन्द्रित गरिएको थियो । पूर्व, पश्चिम, मध्य र प्रवास गरी चार कमाण्डबाट प्रकाशन गर्ने निर्णय गरिएको थियो । प्रवास र केन्द्रीय कार्यालयलाई एकै ठाउँमा जोडिएको थियो । पूर्वमा गोविन्दजी, पश्चिममा ओमजी, मध्य, प्रवास र एचक्यूलाई एकै ठाउँमा केन्द्रित गरिएको थियो । पथिक, महेश्वर, म, सीता अधिकारी भाउजु र विष्णु महर्जन ‘नारायण’ (वादल दाइका स्टाफ)को एउटा टास्कफोर्स जस्तो बनेको थियो । महेश्वर र सीता भाउजु प्रवासबाट, नारायण मध्यकमाण्डबाट, पथिक र म एचक्यूबाट । जनादेशका लागि खास म्याटरहरु यही टोलीले तयार गरी कमाण्ड कार्यालयहरुमा पठाउने र कमाण्डहरुले आफ्ना विशेषता र आवश्यकताअनुसार म्याटरहरु थप गर्न सक्ने व्यवस्था गरिएको थियो । त्यस अतिरिक्त हामीले अझ बढी मेहनत गर्नुपर्ने विषय पचष्कजलबकभल।यचन लाई व्यवस्थित बनाउने थियो ।

विदेश विभागमा रहे पनि अंग्रेजीमा विशेष दख्खल राख्ने भएको हुनाले सुरेश सरलाई अनलाइनमा प्रकाशित सामग्रीहरु अनुवाद गर्नका लागि अंग्रेजी संस्करणको जिम्मा दिइएको थियो । त्यही क्रममा एचक्यूमा एउटा प्रस्ताव पठायौं । एउटा अनलाइन रेडियो चलाउने । हाम्रो प्रस्ताव स्वीकृत भयो । हामीले अनलाइन रेडियो पनि चलाउने र देशैभरबाट प्रसारण हुने एफएमहरुसँग पनि त्यसलाई जोड्ने भयौं । सायद हामी त्यति धेरै खुशी कहिल्यै भएका थिएनौं होला । हाम्रो खुशी सँगसँगै चुनौती पनि आएको थियो । हामीले सोचका हिसावले धेरै माथिल्लो स्तरबाट सोच्यौं । तर हाम्रो परिस्थिति, परिवेश र बाध्यता अर्कै थियो । हामीलाई एउटा मेल गर्न पनि धेरै अप्ठ्यारो थियो ।

अब यी सबै कामका लागि अफिसको जरुरी भयो । सम्भव भए जति सबै साथीहरुलाई कोठाको लागि अनुरोध गरियो । दिल्लीमा कोठा पाउन हामीलाई सहज भएन । कोठा खोज्नकै लागि नारायण सर (कमलप्रसाद) ले पनि धेरै मेहनत गर्नुभयो । हामी दिनैभरि कोठा खोज्दै हिंड्थ्यौं र बेलुका निराश भएर फर्कन्थ्यौं । अझ त्यस क्रममा घरवालालाई अन्तर्वार्ता दिंदादिंदा हैरान भइन्थ्यो । दिल्लीवालाहरु खासगरी अविवाहित पुरुषलाई कोठा दिन डराउने रहेछन् । केही ठाउँमा सबै कुरा मिल्थ्यो तर म छेंडें (दिल्लीमा अविवाहित पुरुषलाई छेंडें भनिने रहेछ) हुनुको कारणले कुरा बिग्रिन्थ्यो । धेरै मेहनतपछि नारायण शर्मा सर र म दिल्लीको सिमाना हरियाणातिर लाग्यौं । दुर्गम तर मनमोहक त्यस गाउँमा पुग्ने वित्तिकै अलि फरक अनुभूति भयो ।

गाई प्रचूर पालिने त्यस गाउँका सडकमा हिंड्दा पनि गोबरमा चिप्लिएर लडिने खतरा । जाटहरुको अधिक बाहुल्यता भएको त्यस गाउँमा एकातिर गोबरको गन्ध, अर्कोतिर दूधका परिकारहरुको बासना, भौतिक पूर्वाधारका दृष्टिले हेर्दा हाम्रै तराईतिरको गाउँ प्रतित हुने पुठकला नाम भएको त्यस दुर्गम तर मनोरम गाउँमा हामीले अनलाइन रेडियो र प्रचार विभागलाई आवश्यक पर्ने एक फ्ल्याट भेट्यौं । त्यतिबेला नेपालमा माओवादी र सरकारको द्वन्द्वका कारण घर नेपाल भनेपछि झनै कोठा पाइन्नथ्यो । वैधानिकता मिलाएर बस्न पनि कठिन । महेश्वर दाहालसहित दिल्लीबाट नेपाल यसअघि सुपुर्दगी भएर भर्खरै छुटेर आएकाले पनि हामीेले जोगिएर सतर्कतापूर्वक काम गर्नुपर्ने थियो । त्यसैले मेरो घर दार्जिलिङको आम्बोटे भन्ने ठाउँमा छ भनियो । घरवाला त्यस घरमा नबस्ने भएकोले होला सायद हामीले त्यो तीन तले घरको बीचको तला भाडामा पाउने भयौं । साथीहरुलाई पनि देखाइयो र हुन्छ भन्ने भयो ।

अफिसको लागि आवश्यक कम्प्युटर, प्रिन्टरलगायतका उपकरणहरुको व्यवस्था त गरियो । तर हामीमध्ये कसैलाई पनि न रेकर्डिङ स्टुडियोको बारेमा जानकारी थियो, न त रेकर्डिङ र एडिटिङका लागि आवश्यक पर्ने उपकरण र प्रविधिको नै सामान्य ज्ञान र जानकारी । जसरी होस्, हामीले अनलाइन रेडियो सञ्चालन गरेरै छाड्नु थियो । त्यति गर्दा जनयुद्धमा एउटा कोसे ढुङ्गा थपिन्छ भन्ने तत्कालीन एचक्यू र हाम्रो पनि ठम्याइ थियो । त्यतिबेला अनलाइन रेडियोको कल्पना कमसेकम नेपालमा कसैले गरेको जस्तो हामीलाई लागेको थिएन । अनलाइन रेडियो सञ्चालन भयो भने एकातिर देशैभरिका हाम्रा सञ्चार सञ्जालहरु एउटै छातामा केन्द्रित हुन्छन् र वर्ग दुश्मन पनि प्रविधि र चेतनाको उच्च संयोजनले मनोवैज्ञानिक रुपमा हार्छ भन्ने हाम्रो ठम्याइ थियो । तर माथि भनिएजस्तै हाम्रा जटिलताहरु असरल्ल थिए । हामीलाई हामीले गर्नुपर्ने कामबारे प्राविधिक र व्यावहारिक रुपमा असहजता ज्यादा थिए । रोचक कुरा त के छ भने रेकर्डिङ प्रविधि थिएन ।

बल्लतल्ल रेकर्डिङ सफ्टवेयर खोजेर ल्याइयो, एडिटिङ सफ्टवेयर छैन र ज्ञान पनि छैन । हरियाणाको लोडसेडिङ, सुरेश सरले अंग्रेजी समाचार भन्नुहुन्थ्यो, म रेकर्डिङ गर्दै जान्थें, झ्याप्प बत्ती जान्थ्यो । वाचन गरिसकेको सामग्री फेरि शुरुदेखि नै दोहो¥याइ–तेह¥याइ वाचन र रेकर्ड गर्दा हैरान भइन्थ्यो । नेपालीमा आफैले वाचन गर्थें, हालत उही । बल्लतल्ल रेकर्ड ग¥यो, अपलोड गर्न टेम्पो, रिक्सा चढेर धेरै टाढा गयो आधी फाइल अपलोड भइसक्छ, बत्ती जान्छ । फेरि अर्को ठाउँमा गएर अपलोड ग¥यो । जेहोस्, तिथिमिति ठ्याक्कै ख्याल गरिएन तर पनि ०६० असोज–कार्तिकतिर यस्तै–यस्तै परिवेश र परिस्थितिका बीचमा हामीले अनलाइन रेडियो, रेडियो जनगणतन्त्र नेपालको विजारोपण गरेरै छाड्यौं । अहिले नेपाल गणतन्त्र घोषित गरिएको छ । तर त्यतिबेला गणतन्त्रको सायदै कसैले कल्पना गरेको थियो । अहिले सम्झदा लाग्छ, हामीले पनि जीवनमा क्रान्तिको लागि भयङ्कर साहसपूर्ण धृष्टता गरेका रहेछौं । युद्धको मोर्चामा बन्दुक लिएर लड्ने महान् योद्धाहरुको अवमूल्यन गर्न खोजेको होइन, तर म दावीका साथ भन्छु हामीले त्यो भन्दा कैयन् गुणा जोखिम मोलेका थियौं ।

काठमाडौं वा दिल्ली जहाँ भए पनि एकातिर हामी दुश्मनको केन्द्रमा, उनीहरुको घेरामा रहेर मोर्चा सम्हालिरहेका थियौं भने अर्कोतिर प्रविधि, ज्ञानको अभावै भए पनि हामीले हाम्रो समयमा हाम्रो सपनालाई मर्न दिएनौं । केही पछि सुरेश आले मगरसहितलाई गिरफ्तार गरेर नेपाल सुपुर्दगी ग¥यो । त्यहीं ठाउँमा त्यही रुपमा त्यसलाई निरन्तरता दिन हामीलाई कठिन भइसकेको थियो । किनकि भारतीय शासकले हरेक नेपालीलाई खानतलासी र निगरानी गरेर नेपालको दमनलाई बिर्साइरहेको थियो । नयाँ ढंगले थप व्यवस्थित गर्ने तयारी गरिरहेका थियौं । देशका जनगणतन्त्र रेडियोलाई एउटै कमाण्डमा लैजान सेटलाइटमार्फत् नेट जोड्ने कसरत हुँदै थियो । तर, त्यो प्रभावकारी भएको थिएन । जहाँ आवश्यकता त्यहीं उपाय भने जस्तै विचार र प्रविधिलाई जोड्ने हाम्रो खोजी चलिरहेको थियो । सफल हुने विश्वास थियो ।

अहिले क्रान्तिका नायकहरु ढले, गायकहरु छितरवितर भए तर हाम्रो सपना अझै मरेको छैन ।


0 comments

Write Down Your Responses