सिन्धुली(मरिण) ४ चैत्र । ठाकुरेश्वर सामाजिक उद्यमी साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड मरिणको आयोजना तथा युनिभर्सल युथ ग्रुप उर्लाबारी मोरङ्गको प्राविधिक सहयोगमा मरिण गाउँपालिकाका महिलाहरुलाई पाठेघर तथा स्तन क्यानसर तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सोमबार मरिण गाउँपालिकामा सम्पन्न भएको छ ।
सहकारी संस्थाकी अध्यक्ष लोकीमायाँ थापाको अध्यक्षता भएको सचेतना कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै मरिण गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष हर्कबीर माझीले क्यानसर रोग सबैलाई लाग्ने भएपनि बढिजसो महिलाहरु यस्को सिकार हुने गरेको बताउँदै त्यसलाई ध्यानमा राखेर मरिण गाउँपालिकाले बार्षिक रुपमा क्यान्सर स्क्रिनिङ्ग शिविर सञ्चालन गर्दै आईरहेको र सचेतना अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्दै आईरहेको बताउनुभयो ।
क्यानसर तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रममा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्रका डा.रजित सिवाले नेपालमा क्यान्सर रोगको वर्तमान अवस्था, क्यान्सरका कारण, क्यान्सरका उपचार विधि तथा क्यान्सरका विरामीहरुको समस्या लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
क्यान्सर तथा गुप्त रोगहरुको पहिचानमा सहयोग, सचेतना तथा निशुल्क चेकाजाँचको काम गर्दै आईरहेको युनिभर्सल युथ ग्रुपले आगामी दिनमा मरिणको विभिन्न् संघ संस्था तथा स्थानीय सरकारसँगको सहकार्यमा शिविर सञ्चालन तथा सहयोगको काम गर्ने युनिभर्सल युथ ग्रुपका रंजित बहादुर बस्नेतले बताउनुभयो ।
सचेतना कार्यक्रममा मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले मरिण गाउँपालिकाले क्यान्सर तथा अन्य प्रकारका गुप्त रोगहरुको पहिचान र उपचारमा विशेष प्राथामिकताका साथ काम गरिरहेको बताउनुभयो । मरिण गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा सातवटै वडाका झण्डै १ सय ५० भन्दा बढि महिलाहरुको सहभागीता रहेको थियो ।
एक सर्वेक्षणका अनुसार नेपालमा हरेक वर्ष २० हजारभन्दा धेरै क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् ।
जाँडरक्सी र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगत लगायत क्यान्सरका मुख्य कारण हुन् ।
नेपालमा पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् । सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पीडितका लागि एक लाख रुपैयाँसम्मको औषधि उपचारको व्यवस्था गरेको छ ।
0 comments
Write Down Your Responses