मरिणका शिक्षक र विद्यार्थीलाई प्रार्थना ब्यवस्थापन उत्प्रेरणा तालिम
सिन्धुली, १६ मंसीर । मरिण गाउँपालिकाका सामुदायीक विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई प्रार्थना ब्यवस्थापन, असल विद्यार्थी र अभिभावकत्व सम्बन्धी उत्प्रेरणा सम्बन्धी ३ दिने तालिम आईतबारबाट सुरु गरिएको छ । गाउँपालिकाका माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी सहित झण्डै २ हजार शिक्षक र विद्यार्थीहरु कार्यक्रममा सहभागी रहेका छन ।
कालिका मानवज्ञान मावि बुटवलका पिटि शिक्षक तथा प्रशिक्षक हरिश ओलीले संगीतको तालमा ४१ प्रकारका पीटी अभ्यास सिकाउँदै, अनुशासन र फिटनेसलाई नयाँ उचाइमा पुयाउँन मुख्य प्रशिक्षकको भुमीका निर्वाह गर्नुहुनेछ ।
मरिण गाउँपालिकाको सहयोग तथा कपिलाकोट माध्यमिक विद्यालय महेश्वता छापको आयोजनामा सुरु गरिएको कार्यक्रमको आईतबार उदघाटन गर्दै मरिण गाउँपालिका अध्यक्ष विर्मश मोक्तानले शारीरिक व्यायाम तालिमले विद्यार्थीहरुलाई स्वास्थ्य राख्नुका साथै खेल प्रति विद्यार्थीहरु आकर्षण बढ्ने बताउनुभयो । अध्यक्ष मोक्तानले केन्द्र, प्रदेश र स्थानीय सरकारले शिक्षाको समग्र विकासमा उच्च लगानी गरिरहेको र त्यसको सकारात्मक प्रतिफल प्राप्त हुँदै गईरहेको बताउँदै कार्यक्रमले मरिणको शैक्षिक प्रगतिमा महत्वपूर्ण भुमीका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरुलाई कुशलतापुर्वक तालिम लिन र तालिमबाट सिकेका विषय आफ्नो विद्यालयहरुमा सोहि अनुसार दैनिक संचालन गर्न आग्रह गर्नुभयो । स्वास्थ्य मानिसले मात्रै सहि ज्ञान ग्रहण गर्न सक्ने भएकाले विद्यालयहरुमा नियमपुर्वक प्रार्थना ब्यवस्थापन गर्न सकेमा सिकाई पनि प्रभावकारी बन्न् सक्ने उहाँले बताउनुभयो ।
उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिमला माझीले विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई पिटी संचालनको तरिका थाहा नहुँदा समस्या भएको विषयलाई मध्यनजर गरेर गाउँपालिकाले तालिम संचालन गरेको बताउनुभयो । शारीरिक व्यायाम(पिटी) संचालन गर्दा विद्यालयको स्वरुप नै परिवर्तन हुने भएकोले सिकेको कुरालाई विद्यालयमा प्रयोग गर्नुपर्नेमा उपाध्यक्ष माझीले जोड दिनुभयो ।
मरिण गाउँपालिका शिक्षा शाखा प्रमुख नबराज बरालले विद्यार्थीहरुको शारिरिक, मानसिक,वैद्धिक,संवेगात्मक विकासको लागि ३ दिनको उत्प्रेरणा कार्यक्रम संचालन गरेको बताउनुभयो । शारिरिक व्याय तालिमले विद्यार्थीहरुमा अनुसासन,शिक्षण सिकाई क्रियाकलापमा उपयुक्त वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालकै नमुना विद्यालय बुटवलका कलिका मावनज्ञान माविका पीटी (फिजिकल ट्रेनिङ) शिक्षक हरिश ओलीले शैक्षिक स्तर वृद्धि गर्नुछ भने प्रधानाध्यापक मात्र होइन रहेक शिक्षक रोल मोडल बन्नुपर्ने बताउँदै सफलताको लागि खुसी र सकारात्मक सोच पहिलो सर्त रहेको बताउनुभयो ।
कपिलाकोट मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा विभिन्न् विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको सहभागीता रहेको थियो । कार्यक्रमको ब्यवस्थापन कपिलाकोट माविले गरिररहेको र बुधबार भब्य समारोह बीच तालिमको समापन गरिने कपिलाकोट माविका प्रधानाध्यापक अमृत घिसिङ्गले बताउनुभयो ।
0 comments
Write Down Your Responses