Powered by Blogger.
जिल्ला प्रशासन सिन्धुलीले गर्यो ५ करोड राजश्व संकलन

 

सिन्धुलीमा राहदानी र नागरिकता लिनेको संख्या बढ्दै 

सिन्धुली– पछिल्ला बर्षहरुमा सिन्धुलीमा राहदानी र नागरिकता लिने युवाहरुको संख्या बढिरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीको तथ्याकंले देखाएको छ । पछिल्लो ४ बर्षको अन्तरालमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट २५ हजार भन्दा बढि सिन्धुलीका युवाहरुले राहदानी लिएका छन् ।

तथ्यांक अनुसार सन् २०२० देखि सन् २०२४ सम्म २५ हजार ७ सयले राहदानी लिएका हुन । सन् २०२०/२१ मा १ हजार ३ सय ८२ जना पुरुष र ६ सय ९६ जना महिला गरी जम्मा २ हजार ७८ जनाले राहदानी लिएका छन् । त्यस्तै सन् २०२१/२२ मा ३ हजार ४ सय ८ जना पुरुष र १ हजार ३ सय ९ जना महिला गरी ४ हजार ७ सय १७ जनाले राहदानी लिएका छन् ।

सन् २०२२/२३ मा ७ हजार ४ सय ७२ जना पुरुष र २ हजार २ सय ८६ जना महिला गरी जम्मा ९ हजार ७ सय ५८ जनाले राहदानी लिएका थिए भने सन २०२३⁄२०२४ मा ९ हजार १ सय ४७ जनाले राहदानी लिएका छन । त्यस्तै ४३ जनाले द्रुत राहदानीका लागी गत आर्थिक वर्षमा सिफारिस लगेका छन ।  राहदानी लिनेमा सबैभन्दा बढि वैदेशिक रोजगारी तथा अध्यनका लागी विदेशीने युवाहरु छन् भने केहिले भ्रमणका लागि लिने गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयालले जानकारी दिनुभयो ।

राहदानीको लागि जिल्ला प्रशासनबाट सिफारिस लिनेहरु धेरै भएकाले राहदानी लिनेको संख्या अझै बढि हुन सक्ने फुयालको भनाई छ । बिशेषगरी राहदानी लिनेमा २२ बर्ष देखि ३५ बर्ष उमेर समूहका युवाहरु रहेका छन् । पछिल्लो समय राहदानी लिने महिलाहरुको संख्या पनि बढेको छ ।

जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा १५ हजार ६ सय ११ राष्ट्रिय परिचयपत्र दर्ता गरेको छ भने ४ हजार ३ सय १२ राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरेको छ । २६ हजार १ सय ४९ कार्ड वितरण गर्न बाँकी रहेको छ । उक्त कार्ड गाउँपालिका तथा वडाहरुबाट नै वितरणको तयारी भईरहेको सहायक प्रजिअ फुयालले बताउनुभयो । 

त्यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट आर्थिक वर्ष २०८०⁄०८१ मा वंशजको आधारमा नयाँ नागरिता लिनेको संख्या १० हजार ४० रहेको छ ।  वैवाहिक अंगीकृतको आधारमा नागरिकता प्राप्त गर्ने ५ जना रहेका छन् । त्यसैगरी नागरिकता हराएका वा अन्य कारणले नागरिकता गुमाउने ९ हजार ४ सय ५२ जनाले पुनः नगरिकताको प्रतिलिपी लिएका छन् भने १७ जना गैर आवासीय नेपालीहरुले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।  

जिल्ला प्रशासन कार्यालयबाट गत आर्थिक वर्षमा ९ सय ७९ जनाले दलित तथा जनजाती प्रमाणीत को सिफारिस लगेका छन भने नाम, थर र जन्ममिति सच्याउनका लागी ६ सय १४ जनाले सिफारिस लगेको प्रशासनले जनाएको छ । 

५ करोड राजश्व संकलन 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले  आर्थिक वर्ष २०८०⁄०८१ मा ५ करोड बढी राजस्व संकलन गरेको छ । प्रशासनले ५ करोड ४२ हजार ९ सय २ रुपैया राजस्व संकलन गरेको हो ।

राहदनी दस्तुर बापत ४ करोड ९५ लाख ५६ हजार ८ सय राजस्व संकलन भएको प्रशासनले जनाएको छ । यस्तै प्रशासनिक दण्ड जरिवाना मार्फत १ लाख ५५ हजार ६ सय १२ रुपैयाँ, हातहतियार नवीकरणबाट ४६ हजार ५ सय, संस्था दर्ता तथा नविकरणबाट २ लाख ५१ हजार ८ सय, परिक्षा शुल्क वापत ३१ हजार १ सय ९० रुपैयाँ र सरकारी सम्पति विक्रीबाट १ हजार गरी जम्मा ५ करोड ४२ हजार ९ सय २ रुपैयाँ राजस्व संकलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयालले जानकारी दिनुभयो । 



,

0 comments

Write Down Your Responses