Powered by Blogger.
राहतको १५ हजारले लियो श्रीमतीको ज्यान

नुवाकोट, साउन २९ – सरकारले भूकम्पपीडितका लागि दिएको राहत रकम अब मानिसको ज्यानसम्म लिने अपराधको अस्त्र बन्न थालेको छ । नुवाकोट खानीगाउँ–९ चुलेडाँडाका ४० वर्षीय रामबहादुर थापामगरले पत्नी मेनुकाको घाँटी रेटेर बुधवार राति हत्या गरेका छन् । दोषी थापामगरलाई राती नै प्रहरीले पक्राउ गरेको छ ।
बुधवार दिउँसो जस्तापाता बापतको १५ हजार रुपैयाँ बुझेर साँझ अबेरसम्म त्यही पैसाले गाउँमै स्थानीय पसलमा रक्सी पिए रामबहादुरले । रक्सीले मातेर घर फर्किने समयमा उनलाई पछ्याउँदै केही अपरिचित व्यक्ति आएको देखेपछि रक्सी खाएर बाँकी बचेको पैसा लुटिने डरले पसलेलाई राखिदिन भन्दै बुझाएर घर पुगे ।
राती ९ बजेको समयमा श्रीमती मेनुकाले पैसाको खोजी गरेपछि आफुले जोगाउन नसक्ने भएपनि पसलेलाई राख्न दिएको र गएर ल्याउन अ¥हाएका थिए । मेनुकाले तत्कालै मागेर ल्याएपछि आफूलाई त्यो पैसा दिन रामबहादुरले दबाब दिए । तर, उनले फजुल खर्च गर्नसक्ने देखेर दिइनन् । मदिरा सेवन गरेर आएका उनले आवेशमा आई हम्बरले टाउकोमा प्रहार गरे र बेहोस भएर ढलेकै अवस्थामा खुकुरीले घाँटी रेटेर पत्नीको हत्या गरेको स्थानीयले बताए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटकाअनुसार थापामगरले पत्नीको खुकुरीले घाँटी रेटेर हत्या गरेको स्वीकारेको जनाएको छ । रामबहादुरले बुधवारमात्र गाविस कार्यालयबाट जस्तापाताको राहत बुझेको स्थानीय महालक्ष्मी प्राविका प्रधानाध्यापक भीमप्रसाद लामिछानेले जानकारी दिए ।
प्रहरीले रामबहादुरलाई पत्नी हत्याको अभियोगमा बिहीवार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
सरकारले भूकम्पपीडित घर भत्केकालाई जस्तापाता किन्न गाविसमार्फत उपलब्ध गराएको १५ हजार रुपैयाँ अहिले जिल्लाका गाउँगाउँमा वितरण गर्ने क्रम चलिरहेको छ ।
पत्नीको हत्या गर्ने रामवहादुर जिल्ला प्रहरीको हिरासतमा छन् । मृतकको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम भइसकेको र दोषी रामबहादुरलाई जिल्ला अदालतमा म्याद थप गरी कारबहाीको लागि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।(राताेपाटीबाट)


, ,

0 comments

Write Down Your Responses