नवलपरासीमा गोली चल्यो, एक घाइते
३० साउन, नवलपरासी । थरुहट प्रदेशको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेकपा एमालेका सभासद बैजानाथ चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले रबरको गोली चलाएको छ ।
तिलकपुरस्थित मगरमुढामा रहेको चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको हो ।
प्रदर्शनकारी अराजक शैलीमा प्रस्तुत भएपछि रबरको गोली हान्नु परेको स्थानीय प्रशासनले जनाएको छ । प्रहरीले हानेको गोली लागि मनोहराका थारुवान कार्यकर्ता कोमल चौधरी घाइते भएका छन् । घाइते चौधरी परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीसँगको झडपको क्रममा आन्दोलनकारीले हानेको ढुंगा लागि एक प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
थारु समुदायको अधिकार कुण्ठित गर्दा पनि एमाले सभासद वैजनाथ चौधरी मौन बसेको भन्दै थारु कार्यकर्ताहरु सभासद चौधरको घर घेरा हाल्न गएका थिए ।
यस्तै नवलपरासीको बासाबसाही र तुलसीनगर क्षेत्र तनावग्रस्त बनेको छ । पूर्वपश्चिम राजमार्गस्थित बासामा सडक अवरुद्ध गरेका आन्दोलनकारीमाथि प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरीले बल प्रयोग गरेको भन्दै थरुहट कार्यकर्ताहरु आक्रोशित भएका छन् । बासा क्षेत्र पनि तनावग्रस्त बनेको छ । आन्दोलनकारीले शुक्रबार साँझ एमाले परासीस्थित पार्टी कार्यालय तोडफोड गरेका थिए ।
यसैबीच नेकपा एमाले नवलपरासीले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको छ । जिल्ला अध्यक्ष रोशनबहादुर गाहा र कार्यालय सचिव तुलसी पासीद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा घटनाको निन्दा गर्दै दोषीलाई पक्राउ गरी क्षतिपूर्ति भराउन र कारवाहीको लागि समेत माग गरिएको छ ।
0 comments
Write Down Your Responses