Powered by Blogger.
फोरम नेतृको झोला खोतल्दा प्रहरी ‘सेन्टी फ्ल्याट’

साउने सोमबारका दिन महिलाको झोलामा ढुंगा !
३२ साउन, काठमाडौं । साउनको अन्तिम सोमबार परेकाले बिहानैदेखि महिला दिदीबहिनीहरु पूजा सामाग्री बोकेर पशुपतिलगायतका मन्दिरमा धाइरहेका थिए । तर, संविधानसभाको तीन नम्बर गेट छेऊमा चाहिँ दुईजना महिलाका साथमा अर्थोकै सामाग्री भेटियो । बैद्य माओवादी, मधेसी मोर्चासहितका विभिन्न दलको बन्दका कारण सोमबार अधिकांश ब्रतालुहरु हिँडेरै मन्दिर गइरहेका थिए । धेरैका हात र झोलामा पूजा सामाग्री थिए । बानेश्वर चोकमा प्रहरीले यी महिलाको झोला खोतल्दा ढुंगा बोकेर हिँडेको फेला पार्‍यो र पक्रेर भ्यानमा हाल्यो ।
संविधानसभाको तीन नम्बर गेट अगाडि केही महिलाहरु कुराकानी गरिरहेका थिए । सादा पोशाकमा रहेका प्रहरीले उनीहरुको कुराकानी शंकास्पद लागेपछि बानेश्वर वृत्तबाट प्रहरी बोलाइयो । झोला खानतलासी गर्दा त्यहाँ इँटाका टुक्रा र ढुंगा भेटियो ।
प्रहरीले दुईजना महिलालाई ढुंगासहित पक्राउ गरेको छ । बानेश्वरका डीएसपी दानबहादुर कार्कीले भने-‘यसअघि पुरुष बन्दकर्ताले झोलामा पेट्रोलको बोतल बोकेर हिँडेको त भेटिएको हो । तर, बन्दकर्ता महिलाले झोलामा ढुंगा बोकेर हिँडेको मलाई थाहा थिएन ।’
बन्दकर्ताको झोलामा ढुंगा भेटेपछि प्रहरीले अन्य सर्वसाधारण महिलालार्इ समेत झोला खोतलेर सास्ती दिएको छ ।
ढुंगासहित पक्राउ परेका महिलाले सुरूमा अाफू बन्दकर्ता भएको अस्वीकार गरेपनि प्रहरी अनुसन्धानका क्रममा दुबै आन्दोलनकारी भएको खुलेको छ । सुरुमा प्रहरीले उनीहरुलाई वैद्य माओवादीका पूर्व लडाकू होलान् भन्ने सोचेको थियो । तर बुझ्दै जाँदा उनीहरु उपेन्द्र यादवको पार्टीका ठूलै नेतृ पो रहेछन् ।
प्रहरीले ढुंगासहित पक्राउ गरेका उनीहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका महिला संगठन अध्यक्ष निर्मला यादव र केन्द्रीय सदस्य सुनिता राय भएको खुलेको छ ।
सिरहा सुखीपुर-३ की राय र सिरहाकै निर्मला शान्तिनगरमा बस्दै आएका थिए । फोरम नेतृहरुले गाडी फोर्नका लागि ढुंगा बोकेर हिँडेको प्रहरीको दाबी छ ।
तोडफोडको नयाँ तरिका
पार्टीको झण्डा बोकेर सडकमा उत्रिएका बन्दकर्तालाई प्रहरीले पक्राउ गरेपछि आन्दोलनकारीले तोडफोडमा नयाँ तरिका अपनाएका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यात्रु बनेर सवारी साधनमा चढ्ने र तोडफोड गर्ने उद्देश्यले ढुंगा बोकेर हिँड्ने गरेको पाइएको छ ।
आइतबारको बन्दमा बुद्धनगरमा यसरी नै ट्याम्पोमा तोडफोड भएको थियो । यात्रु बनेर चढेकाहरुले नै आफ्नो ट्याम्पोमा तोडफोड गरेको चालकले बताएका थिए । तर, तोडफोड गर्नेहरु प्रहरी आउनु अघि नै भागेका थिए ।
पक्राउ परेका दुबै महिला नेतृलाई तीनकुनेस्थित बानेश्वर प्रहरी वृत्तमा राखिएको छ ।
बन्दकर्ताले झोलामा ढुंगा बोकेर हिँड्ने गरेको थाहा पाएपछि प्रहरीले चाबहिल लगायतका स्थानमा पनि शंकास्पद व्यक्तिहरुको झोला खानतलासी गरेको थियो ।(अनलाइन खबरबाट)


, ,

0 comments

Write Down Your Responses