Powered by Blogger.
सप्तरीका डीएसपी भने: पहिले प्रदर्शनकारीले फायर खोले

प्रहरीले चाउचाउ किनेपछि भड्कियो हिंसा !
१ भदौ, काठमाडौं । सप्तरीको भारदहमा प्रदर्शनकारीले पहिले ‘फायर खोलेपछि’ प्रत्याक्रमणमा गोली चलाएको प्रहरीले दाबी गरेको छ । प्रहरीको गोली लागी २८ वर्षीय राजीवकुमार राउतको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय भारदहका डीएसपी नारायणप्रसाद चिमौरियाले प्रहरी कार्यालयतर्फ लक्षित गरी प्रदर्शनकारी समूहबाट फायरिङ भएको दाबी गरे ।
‘६-७ सय व्यक्तिहरुको समूहले इलाका प्रहरी कार्यालयलाई घेराबन्दी गरी आक्रमण गर्न थाले, ढुंगामुढाका साथै पेट्रोल बम र गोलीका छर्रा प्रहार भएपछि हामीले बल प्रयोग गर्न बाध्य भएका हौं,’ उनले भने ।
‘प्रहरी ज्यादतीको विरोधमा’ भन्दै मंगलबार बिहानै आन्दोलनकारीले भारदह चोकमा प्रदर्शन गरेका थिए । बाटो अवरोध गरेर प्रदर्शन नगर्न सुरुमा प्रहरीले सम्झाएको थियो । तर, प्रदर्शनकारी पछि नहटेपछि बल प्रयोग गरेको डीएसपी चिमौरियाले बताए ।
यसरी भडि्कयो हिंसा
सर्वसाधारणलाई कुटपिट गरेको विरोधमा भारदहवासी तीन गाउँका बासिन्दाले प्रहरीलाई ‘नाकाबन्दी’ गरेका थिए । स्थानीय पत्रकार रामनारायण विश्वासका अनुसार प्रहरीलाई पसलबाट खानेकुरा किन्नसमेत स्थानीयले रोक लगाएका थिए ।
तर, मंगलबार बिहानै एक प्रहरी जवानले भारदह चोकमा चाउचाउ किनेको देखेपछि स्थानीय व्यक्तिहरुले लखेटेका थिए । लखेटिएका प्रहरीको बचाउमा इलाका प्रहरी कार्यालय भारदहबाट अन्य प्रहरीहरु सडकमा निस्के र प्रदर्शनकारीलाई तितर-वितर पार्न थाले । त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न थाले ।
झडपमा प्रहरीतर्फ इन्सपेक्टरसहित चार जना र प्रदर्शनकारीतर्फ ६ जना घाइते भएका छन् । प्रहरीले सुरुमा लाठीचार्ज र त्यसपछि गोली चलाएको थियो ।
‘प्रहरीतर्फबाट रबरका गोली र हवाई फायर भएको सूचना आएको छ । प्रदर्शनकारीको मृत्यु कसरी भयो भन्नेचाहिँ पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ,’ उनले भने ।
प्रदर्शनकारीले मृतकको शव भन्दै एकजना घाइतेलाई एक घन्टाजति सडकमै राखेका थिए । तर, पछि आफन्त आएपछि ज्यूँदै छ भनेर एम्बुलेन्समा हाली धरानतर्फ लगिएको पत्रकार विश्वासले जानकारी दिए । अस्पताल पुग्नासाथै उनलाई मृत घोषित गरिएको थियो ।
आन्दोलनकारीको गोली प्रहारबाट इलाका प्रहरी कार्यालयको भित्तामा परेको प्वाल र तोडफोड भएको गाडी । तस्वीर सौजन्यः प्रहरी
घाइते भएका प्रदर्शनकारीलाई स्थानीय पत्रकार र अधिकारकर्मीले एम्बुलेन्समा हालेर अस्पताल पठाएका थिए । हाल त्यहाँको स्थिति प्रहरीको नियन्त्रणमा रहेको डीएसपी चिमौरियाले जानकारी दिएका छन् ।


, ,

0 comments

Write Down Your Responses