Powered by Blogger.
३५ वर्ष कट्नु भो ? तपाई अखिलको नेता बन्न पाउनुहुन्न !

एमालेका विद्यार्थी नेताको उमेर, आचार र योग्यता तोकिँदै
३ भदौ, काठमाडौं । संविधानमा नेताहरुको शैक्षिक योग्यता तोक्न जनताबाट आएको सुझाव अस्वीकार गरिए पनि एमालेका विद्यार्थी नेताहरुलाई भने शैक्षिक योग्यता र उमेर हद लाग्ने भएको छ ।

एमाले सम्बद्ध सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको शुक्रबारदेखि काठमाडौंमा शुरु हुने विधान सम्मेलनले विद्यार्थी नेताको शैक्षिक योग्यता र उमेर किटान गरिने भएको हो ।
छलफलमा नयाँ र पुराना नेता
बिधान सम्मेलनको पूर्वसन्ध्यामा अनेरास्ववियुभित्र एकै दिनमा दर्जनौं औपचारिक तथा अनौपचारिक छलफलहरु भइरहेका छन् । छलफलमा टंक कार्की, शंकर पोखरेल, योगेश भट्टराई, घनश्याम भुसालदेखि रामकुमारी झाँक्री र माधव ढुंगेल पुस्तासम्मका अखिलका पूर्वनेताहरु सामेल छन् ।
स्थायी कमिटी र सचिवालय तथा विभिन्न कमिटीका छलफलपछि विहीबारको स्थायी कमिटीले विधान संशोधनको प्रस्ताव तयार पार्ने सम्भावना छ ।
उमेर,योग्यता र आचरण तोकिँदै
अखिल उपाध्यक्ष थोमस बास्तोलाले यो बिधान सम्मेलनले अखिलको राजनीति गर्नका लागि निश्चित उमेर,शैक्षिक योग्यता र आचरणको मापदण्ड तोक्ने बताए ।
बास्तोलाले भने-यसपटक गुटभन्दा माथि उठेर व्यापक छलफल भइरहेको छ । संगठनको सिंगो पंक्ति राम्रो अखिल बनाउन एकजुट भएको छ ।
आशन्न बिधान सम्मेलनमा पदाधिकारी हुन स्नातकोत्तर (एमए)पढ्दै गरेको वा पास गरेको हुनुपर्ने प्रावधान राख्न लागिएको छ । यसमा लगभग आम सहमति रहेको महासचिव नविना लामाले बताइन् ।
अखिलको नेता  कति उमेरसम्म बन्न पाइने भन्नेमा चाहिँ एकमत भइ नसकेको अर्का उपाध्यक्ष दीपक गौतमले बताए । उनका अनुसार २८ देखि ३५ को उमेर हदमा छलफल हुँदैछ ।
गौतमले भने- नियमित विद्यार्थी खोज्ने हो भने २८ वर्ष तोकिनुपर्छ, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ३० वर्ष हो, कुनै व्यक्तिलाई हेरेर भन्दा पनि समग्रमा अखिल राम्रो बनाउने ढंगले उमेर तोक्छौं ।
विद्यार्थी नेता बनेर ४०/४५ वर्ष उमेर हुन्जेल पनि संगठनमा बस्ने कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको रोग अखिलमा नसरोस् भनेर उमेर हद लागु गर्न खोजिएको उपाध्यक्ष ऐन महरले बताए ।
महरले भने-शैक्षिक योग्यता पदाधिकारीको एमए, केन्द्रीय सदस्यको बिए तोकिने सम्भावना छ । उमेर ३० वा ३५ को बीचमा छलफल हुँदैछ ।
२८-३५ को बहस
सर्बोच्च अदालतले क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुने उमेर २८ तोकेकाले विद्यार्थी नेताको उमेर ३० वर्ष तोकिनुपर्ने लबिङ पनि भइरहेको छ ।
राधिका खतिवडा, महेश बर्तौला लगायतका पदाधिकारीदेखि सुदेश पराजुली, कमला बोहोरा, सुनिता बराल, आरती लामा, अशेष घिमिरे, ज्ञानु भण्डारीलगायतका सचिवालय सदस्यहरु यो लबिङमा छन् ।
अध्यक्षका दाबेदार ढुक्क
महासचिव लामाले पनि आफू विद्यार्थी राजनीति गर्नेको उमेर २८ वर्ष तोकिनुपर्ने पक्षमै रहेको बताइन् । यो प्रावधान लागुभयो भने उनी स्वयं अखिलबाट बिदा हुनेछिन् ।
लामाले अनलाइनखबरसँग भनिन्-सामान्यतः अहिले २३ देखि २५ वर्षमा एमएम पास गरिसक्छन् । म विदा हुन्छु भन्ने कत्ति पनि डर छैन, म अखिलको अध्यक्ष हुनकै लागि राजनीति गरेको पनि होइन तर २८ गरियो पनि विद्यार्थी संगठनमा विकृति कम हुन्छ ।
त्यसो त अखिल अध्यक्षको दाबेदारी गरिरहेका चार विद्यार्थी नेतामध्ये उमेर हदका कारण अधिकांशले अध्यक्ष नभई बिदा हुनुपर्ने अवस्था पनि आउन सक्छ ।
अखिलको भावी अध्यक्षका लागि थोमस बास्तोला, दीपक गौतम, ऐन महर र नविना लामा प्रमुख दाबेदार हुन् । महर र लामा पार्टी संस्थापन पक्षका हुन् भने बास्तोला र गौतम माधव नेपाल समूहका हुन् ।
कुनै व्यक्ति नतोकी समग्र संगठनको हितका लागि आफूहरु उमेर शैक्षिक योग्यता तोक्न जुनसुकै मापदण्ड बनाउन पनि तयार रहेको उपाध्यक्ष गौतमले बताए ।
गौतमले भने-उमेर ३५ तोक्दा दुई तीनजना साथीलाई मात्र मर्का पर्ने भयो भने २८ तोकौं भन्ने मेरो प्रस्ताव छ । यसमा हामीबीच खुला छलफल हुँदैछ ।
उमेर र शैक्षिक योग्यता मापदण्ड तोक्न पूर्वअध्यक्षहरुले पनि अखिल नेतृत्वलाई सुझाव दिइसकेका छन् । यसमा माउ पार्टी एमालेका दुवै गुटमा रहेका पूर्वविद्यार्थी नेताहरुको एकमत रहेको छ ।
रविन्द्र अधिकारीको ग्रीन सिग्नल
अखिलका पूर्वअध्यक्ष समेत रहेका युवा नेता रविन्द्र अधिकारी अहिले अनेरास्ववियुका इन्चार्ज छन् । उनले अखिलको शुद्धीकरणका लागि उमेर र शैक्षिक योग्यता तोक्न विद्यार्थी नेताहरुलाई प्रेरित गरिरहेका छन् ।
अखिलका पूर्वअध्यक्ष तथा विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्ज माधव ढुंगेलले यसपटक अखिलमा शैक्षिक योग्यता, आचरण र उमेरको मापदण्ड बन्ने देखिएको बताए ।
उनी अध्यक्ष भएकै बेला बिधान सम्मेलनमा यसबारे छलफल भए पनि त्यसबेला पारित हुन सकेको थिएन । अखिल अध्यक्ष किशोर विक्रम मल्लले आफू विदा हुँदा रहरलाग्दो र भरलाग्दो अखिल नयाँ विद्यार्थीलाई जिम्मा लगाएर जान चाहेको बताए ।(साभार अनलाइन खबर डटकम)


,

0 comments

Write Down Your Responses