Powered by Blogger.
मध्यपश्चिम प्रदेश माग्दै जाजरकोटमा कुकुर जुलुस


४ भदौ, जाजरकोट । १३ दिनदेखि मध्यपश्चिम प्रदेशको माग गर्दै आन्दोलनरत जाजरकोटवासीले शुक्रवार कुकुर जुलुस प्रदर्शन गरेका छन् । दलका शीर्ष नेता र जिल्लाका सभासदहरुलाई कुकुरको संज्ञा दिएर जुलुस प्रदर्शन गरिएको हो ।
आन्दोलनकारीले थाप्लेचौर, रानागाउँ, बाहुनवाडा, ठाँटी, काजीवाडा, गैरीखाली लगाएतका ठाउँमा प्रदर्शन गरे । प्रदर्शनमा स्थानीय राजनैतिक दलका नेता, व्यापारी र सर्बसाधारणको सहभागिता थियो ।
जुलुसमा ल्याइएका कुकुरहरुलाई बजारको बीचमा भिडाउने पनि गरिएको छ । नेताहरु कुकुर लडेझै गरेर सीमांकनको खाका आएको भन्दै कुकुर लडाउने काम गरेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए ।
शीर्ष नेताहरुले मध्यपश्चिमबासीको माग सुनुवाइ गर्न ढिलाइ गरेकाले कुकुर जुलुस निकाल्नु परेको उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले वताए । उनले मध्यपश्चिम प्रदेशको माग पूरा नभएसम्म विभिन्न रुपका प्रदर्शन जारी राखिने बताए ।
जुलुसमा स्थानीयले आफूले घरमा पालेका कुकुरहरुलाई व्यानरले बेरेर ल्याएका थिए । ६ नम्वर प्रदेशको सीमांकन खारेज गर, जाजरकोटी सभासदहरु होस गर, मध्यपश्चिम प्रदेश कायम गर र हाम्रो आन्दोलन जारी छ लगाएतका नारा व्यानरमा लेखेर कुकुरको जिउमा बेरिएको थियो ।
आन्दोलनका कारण शुक्रवार पनि जिल्लाका सबै सरकारी कार्यालयको काम ठप्प भएको छ । त्यस्तै बजार, यातायात, उद्योगधन्दा र शिक्षण संस्था पनि पनि पूर्णरुपमा बन्द छन् । लामो बन्दका कारण स्थानीयको जनजीवन कष्टपूर्ण बन्दै गएको छ ।
आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार साँझ मसाल जुलुस निकाल्ने तयारी गरिएको छ ।


,

0 comments

Write Down Your Responses