Powered by Blogger.
भूकम्पको केन्द्रबिन्दु बारपाकमा भ्वाङ !

४ भदौ, गोरखा । वैशाखमा गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँको जमिनमा भ्वाङ देखा परेको छ । विगत १५ दिनदेखि बारपाक क्षेत्रको जमिनमा भ्वाङ पर्ने क्रम चलिरहेको छ । खेती गरिएका खुकुलो माटो भएको क्षेत्रमा ठूलो भ्वाङ परेको स्थानीयवासीले बताएका छन् ।
बारपाक– २ मान्द्रेमा भूकम्पले भत्काएको घरको भनावशेषमा पनि भ्वाङ परेको छ  साथै कोदोबारीमा एकपछि अर्को भ्वाङ परेपछि भूकम्पपीडित त्रसित छन् । भूकम्पपछि चिरा परेको गह्रामा एकपछि अर्को भ्वाङ देखिएको हो ।
मान्द्रे गाउँका आशमान गुरुङका अनुसार गाउँमा भन्दा बारीमा धेरै भ्वाङ परेको छ । “कोदो रोपाइँ गरिएको बारीमा ठूला–ठूला भ्वाङ पर्यो” गुरुङले भने–“खाल्डैखाल्डो देखिएको कोदोबारीमा कोही गएको छैन ।”
टहरो नजिकै पनि भ्वाङ परेपछि छिमेकीहरु त्रसित भएको उनले बताए । मान्द्रे गाउँ क्षेत्रमा मात्रै ५० भन्दा बढी ठाउँमा खाल्डा देखिएका छन् ।
बारपाक पुगेर फर्कनुभएका पर्यटन व्यवसायी साने गुरुङका अनुसार कहीँकहीँ जमिन पनि भासिएको छ । “कतै ठूलो भ्वाङ परेको छ । कतै जमिन भासिएको छ । पहिरो झरेको छ” उनले भने–“बाँझो खनेर बारपाकीले लगाएको कोदोबारीभरि भ्वाङ पर्यो ।” बारीमा खाल्डो देखिएपछि स्थानीयवासी अर्को विपद् आउन सक्ने भन्दै आत्तिएको गुरुङको भनाइ छ ।
भूकम्पले धाँजा फाटेको जमिनमा पानी छिरेपछि खाल्डो पर्न सुरु भएको हो । गोरखाबजारदेखि बारपाक गाउँ ५२ किलोमिटर टाढा पर्छ । बारपाक गाउँमा रहेको टेलिफोनको टावर मर्मत नहुँदा सञ्चार सम्पर्क हुन नसकेको छैन । इन्टरनेट सञ्चालनमा रहेकाले केही मानिसले राहत पाएका छन् । रासस


,

0 comments

Write Down Your Responses