Powered by Blogger.
जनकपुरमा एमाओवादीका मधेसी नेताको जमघट

पेरिसडाँडा जाने र नजानेवीच दुई धार

जनकपुर, ८ असोज । एकीकृत नेकपा माओवादीका मधेसी मूलका केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठक शुक्रबार जनकपुरमा बसेको छ । आइतबारदेखि काठमाडौंमा बस्न लागेको केन्द्रीय समितिको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारे बैठकमा दुईमत देखिएको छ ।

पार्टीभित्रका मधेसी नेताहरुको आन्तरिक बैठकमा एमाओवादी नेता रामचन्द्र झा, महेन्द्र पासवान, रामरिझन यादव, रामकुमार शर्मा र घनश्याम लगायतका केन्द्रीय नेताहरु सहभागी छन् ।
बैठकमा केही रामकुमार शर्मा लगायतका केही नेताले केन्द्रीय समितिको बैठकमा सहभागी बन्न नहुने प्रस्ताव गरेका छन् भने अन्य नेताले बैठकमा सहभागी भएर एकपटक आफ्ना कुराहरु नेतृत्वसमक्ष राख्नुपर्ने प्रस्ताव गरेका छन् ।
रामकुमार शर्माले यसअघि नै लाजिम्पाटस्थित प्रचण्ड निवासमा राजीनामा बुझाइ सकेका छन् । त्यस्तै रामरिझन यादवले पनि पार्टी छाडेको जानकारी लाजिम्पाटलाई गराइसकेका छन् । तर, रामचन्द्र झा, महेन्द्र पासवान लगायतका नेताहरु पार्टी नेतृत्वसँग असन्तुष्ट भए पनि अहिलेसम्म पार्टी छाडेको घोषणा गरेका छैनन् ।
एमालेबाट एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा यसअघि प्रचण्डको प्रशंसक रहेकोमा यतिबेला खरो आलोचक बनेका छन् । एमालेमा हुँदा मधेसीको माग सुनुवाइ नभएर एमाओवादीमा आइयो, तर यहाँ पनि त्यस्तै भयो, भन्दै झाले निकटस्थहरुसँग गुनासो गर्न थालेका छन् ।

एमाओवादी बैठक चुनौतीपूर्ण

आइतबार बस्ने भनिएको एमाओवादीको केन्द्रीय समिति बैठक निकै चुनौतीपूर्ण हुने देखिएको छ । प्रचण्डले कांग्रेस र एमालेसँग सहमति गरेर संविधानमा मधेसी र जनजातिको मुद्दा छाडिएको आरोप प्रचण्डमाथि पार्टीभित्रकै तप्काले लगाइरहेको छ ।
एमाओवादीभित्रकै आदिवासी जनजातिहरु पनि संविधान निर्माण प्रक्रियामा प्रचण्डको भूमिकासँग सन्तुष्ट छैनन् । त्यस्तै पार्टीकै बरिष्ठ नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारयणकाजी श्रेष्ठ पनि प्रचण्डसँग सन्तुष्ट छैनन् ।
आशन्न एमाओवादी बैठकमा संविधान निर्माणमा पार्टीले खेलेको भूमिकाको समीक्षा गरिनुका साथै आगामी सरकार गठन, सभामुखको चुनाव लगायतका विषयमा पार्टीको धारणा बनाइने स्रोतले बताएको छ ।
त्यसैगरी पार्टीभित्रको अन्तरविरोध समाधानका विषयमा पनि बैठकमा छलफल गरिने बताइएको छ । यसका लागि विगतको २५ बुँदेबारे छलफल गरिने बैठकको कार्यसूचि रहेको एक नेताले बताए ।


,

0 comments

Write Down Your Responses