Powered by Blogger.
हेर्नुस बाबुरामले पार्टी छाडेपछि फेसबुकमा यस्ता अाए प्रतिक्रियाहरू ।

काठमाडौं, १० असोज । बाबुराम भट्टरार्इले एमाओवादी परित्याग गरेको समाचारसँगै सामाजिक सञ्जाल फेसबुकमा उनीबारे खाल खालका प्रतिक्रिया देखिएका छन् । आइतबार बिहान फेसबुकको भित्तो हेर्दा यस्ता प्रतिक्रियाहरू भेटिए :

एमाओवादीभित्रको प्रतिक्रिया

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भनेका छन् – क• बाबुराम भट्टराईको पार्टी परित्याग गर्ने निर्णयबाट म दुखी छु। पार्टी र देशले यतिबेला सामना गर्नु परिरहेको असहज परिस्थितिको सन्दर्भमा यो निर्णय अपेक्षित थिएन।
पार्टी र आन्दोलनको रुपान्तरण र पुनर्गठनको निम्ति हाम्रो एकतावद्ध एवं संगठित भूमिकाको आवश्यकता छ। तसर्थ म क• भट्टराई लाई आफ्नो निर्णयमा पुनर्बिचार गर्न बिनम्रतापुर्बक अनुरोध गर्दछु।
अर्का एमाओवादी नेता हरिबोल गजुरेलले बाबुरामको विरोध गर्दै भनेका छन्- तीस बर्षको सहयात्रा गणतन्त्रसम्म मात्र रहेछ, समाजवादसम्मको यात्रामा चुक्नुभयो, पूँजीवाद नै प्रय भयो । प्रगतिशील राष्ट्रवादको पोल खुल्यो !
बाबुराम पक्षधर नेता देवेन्द्र पराजुलीले चाहिँ फेसबुकमा व्यंग्य गरेका छन् – बिगार्ने बाबुराम गइहाले हामी मिलेर पार्टी बनाउँला ।
त्यस्तै बाबुराम पक्षधर केन्द्रीय सदस्य गंगा श्रेष्ठ लेख्छन् – बाबुराम भट्टराईको राजिनामा नेपाल अखण्ड राख्ने अचुक अस्त्र बनोस् ।
प्रचण्ड पक्षका एमाओवादी कार्यकर्ताले भने भट्टरार्इको कडा विरोध गरेका छन् । युवराज चाैलागार्इ लेख्छन्- बाबुराम भट्टराईको आत्मघाती पलायन लज्जास्पद छ। नेपालको स्वाभिमान र आत्मनिर्णयको बाटोमा यो एउटा कठोर व्यंग्य हो, जसको मूल्य स्वयं वहॉलाई निकै महंगो पर्ने छ। जो शहिदहरुले आफ्नो प्राण दिएर वहॉको रक्षा गरे,साथदिए तिनलाई वहॉले लात हान्नुभयो। धिक्कार छ!!
प्रचण्ड पक्षकै अर्का एमाओवादी कार्यकर्ता नहेन्द्र खड्का लेख्छन्- ‘बाबुरामजीसँग कलाकारिताको साह्रै राम्रो अनुभव छ । नाटक र नौटंकी गरिरहने सौख पनि छ । त्यसैले मेरीबास्सैको नक्कली बाबुरामको ठाउँमा आफै अभिनय गरेहुन्छ । स्वतन्त्र नागरिक हुञ्जेल फुर्सद पनि छ । पार्टी फुटाउन न संसदमा ४० प्रतिशत पुग्छ, न त पार्टीमै ।’ खड्काले अब बाबुरामलार्इ पार्टीमा नफर्काउन प्रचण्डलार्इ सुझाव दिँदै फेसबुकमा लेखेका छन्- ‘क. प्रचण्डको सबैभन्दा ठूलो कमजोरी उदारतावादी कमजोरी हो । सो कमजोरी दोहोराउँदै बाबुरामजीलाई अध्यक्ष दिएर फकाउने प्रयत्न नहोस् ।
बिचार र संगठनका अरु कुराहरुमा छलफल हुन सक्छ, त्यसमा हाम्रो मञ्जुरी रहन्छ । रिस उठ्दा बित्तिकै कहिले पद त्याग गर्ने, कहिले पार्टी त्याग गर्नेले अध्यक्ष हाँक्न सक्दैनन्। त्यस्तालाई अध्यक्षको रुपमा विश्वास गर्न सकिँदैन ।’
वाइसीएल नेता दीपशिखाको टिप्पणी छ- ‘यदाकदा एसएलसीमा फेल भएका नानीबाबुहरूले आत्महत्या गरेको सुनिन्थ्यो । आफ्नो राजननीतिक मिशनमा फेल भएका उनले नि आत्महत्या गरेछन्… विस्तृतमा भोलि लेख्छु !’
त्यस्तै पूर्वलडाकू पासाङका छोरा दीपेश पुनको प्रतिक्रिया छ- ‘अध्यक्ष क• प्रचण्डले भन्दा ख्याल ख्याल जस्तो लागेको थियो, आजदेखि त वाध्यता नैं आइलाग्यो भन्या। जस्तोपर्छ त्यस्तैं टर्छ भनेको यही त होला।’
क्रान्तिकारी पत्रकार रोशन खड्का लेख्छन्- पार्टी संकटमा परेका बेला पार्टी बनाउन लाग्नु कहाँ हो कहाँ, उल्टै राजिनामा दिएछ्न् लालध्वज कमरेडले ! उनको विचार ठीक हो भन्दै आफनो तहमा संघर्ष गरेर आजसम्म गल्ती गरिएको रहेछ भन्ने लाग्यो ! पार्टी ठूलो रहँदासम्म त्यही पार्टीबाट मन्त्री, प्रधानमन्त्री हुने, अहिले आएर भत्केको घर भन्दै जिम्मेवारीवाट भाग्न मिल्छ कमरेड लालध्वज ?

एमाओवादी बाहिरको प्रतिक्रिया

एमाओवादीले मात्र नभर्इ फेसबुकमा पत्रकार, हास्य कलाकार र कवि, लेखकले समेत बाबुरामबारे प्रतिक्रिया दिएका छन्-
पत्रकार कनकमणि दीक्षित बाबुराममाथि प्रहार गर्दै फेससबुकमा लेख्छन्- ‘पार्टी परित्याग गर्दा बाबुराम भट्टराईले धेरै कुरामा प्रतिबद्धता जनाए, तर कानुनी राज र मानव अधिकारमा अहँ । न त ‘जनयुद्ध’ मच्चाएकोमा माफी मागे आम जनतासंग । ‘नया शक्ति’ पार्टीको शुरुवात ‘जनयुद्ध’को लागि क्षमायाचना बेगर कसरी सम्भव होला, बुझिएन।’
त्यस्तै पत्रकार बबिता बस्नेतले पनि फेसबुकमा सोधेकी छिन्- डा.बाबुराम भट्टराईको राजिनामालाई लिएर अनेक प्रतिक्रियाहरु आइरहेका छन् । मेरो मनमा उब्जिएको एकमात्र प्रश्न-आखिर त्यतिका मान्छे मारेर गरिएकोमाओवादी युद्धको औचित्य के थियो ?
विश्लेषक मुमाराम खनालले फेसबुकमा बाबुरामबारे लेखेका छन् – बाहिर प्रचार भएजस्तै यदि भारतले बाबुरामजीलाई साँच्चै मन पराउँछ भने कृपया ढिलो नगरी बाबुरामजी नेपालको ‘विशेष दुत’ बनेर भारत जानुस् र समस्या समाधान गर्नुस् । यदि यसो भयो भने मुलुकको लागि फाइदा हुनेछ ।
केही एमाले नेताहरू पनि बाबुराममाथि प्रहार गर्न अघि सरेका छन् । एमाले नेता शंकर पोखरेलको प्रतिक्रिया छ- ‘आफैले हस्ताक्षर गरेको संविधान च्यात्ने र जलाउने अभियानमा सामेलहुन डा.वावुराम भट्टराईजीले पार्टी नै छोड्नुभएछ ।
मोहनीमन्त्र दरै रहेछ क्यारे।’
त्यस्तै एमाले सचिव योगेश भट्टरार्इको रूखो प्रतिक्रिया छ – ‘बाबुराम दाइ ढाडमा भन्दा छातीमा गोली खानु चै बाहादुरी हो कि ? आखिरी मर्नु नै छ भने ?’
हास्य कलाकार मनोज गजुरेलले प्रतिक्रया दिएका छन्- ‘भीरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ बाबुराम भन्न सकिन्न ।’ -The गजुीReal उखान !
कवि हाङयुग अज्ञातचाहिँ बाबुरामप्रति सकारात्मक देखिएका छन् । उनले स्टाटस लेखेका छन्- ‘५२ सालमा प्रतिनिधिसभा छोडेर भूमिगत राजनीतिको बाटो तय गर्दा पनि उनको खिल्ली नै उडाइयो । तर, यसको १० वर्षपछि उनले अर्का नेता पुष्पकमल दाहाललाई लिएर फेरि प्रतिनिधिसभामा फर्किए । आज २० वर्षपछि उनले फेरि व्यस्थापिका संसद र एमाओवादी पार्टी त्यागे । फेरि पनि उनको खिल्ली उडाइदैंछ । तर, मलाई विश्वास छ फेरि नयाँ शक्ति लिएर व्यस्थापिका संसद फर्किने छन् ऊनी ।’
कवि हाङयुग अघि लेख्छन् – ‘संविधान शान्ति र प्रगतिका लागि बन्नुपर्थ्यो तर आधा देश जलिरहेको छ । संविधान बन्यो तर द्वन्द्व त यथावत् रह्यो । १२ वर्षमा उन्यु फुल्यो गुहुको गन्ध ! भनेझैं भयो । सारै दु:खलाग्दो भयो ।मधेसको बिग्रदों राजनीतिक परिस्थिति सम्हालेर फर्किन सकुन् ऊनी ।’
तर, बरिष्ठ पत्रकार किशोर श्रेष्ठ चाहिँ पार्टी छाड्नेहरूको भविश्य खासै राम्रो देख्दैनन् । श्रेष्ठ लेख्छन्- ‘देवी ओझा होउन् या केशरजंग रायमाझी, कमल चौलागाइँ, केशव स्थापित, सलिम मियाँ अन्सारी, कमलराज रेग्मी, उपेन्द्र यादव, भीमबहादुर श्रेष्ठ, आनन्दसन्तोषी राई, आङकाजी शेर्पा, केशरमणि पोखरेल, शरणबिक्रम मल्ल या मोहनचापागाइँ, कम्युनिष्ट आन्दोलनबाट बिभिण्डिएर हिंडेका कसैको ख़ैरियत देख्नुभा’को छ ?’
उता प्रगतिशील लेखक मात्रिका पाेख्रेल डा. भट्टरार्इको समर्थन गर्दै लेख्छन्- ‘बाबुराम भट्टराईले पार्टी छोड्नु भएपछि सकारात्मक / नकारात्मक टिप्पणीहरु पैदा भएका छन् । कसैले त बाबुराम “र” को एजेण्ट भएको भनेर आइडी कार्ड समेत पोष्ट गरिरहेका छन् । बाबुरामले पार्टी छाडे पनि नक्कली आइडी कार्डकाडिजाइनकर्ताहरु यही पार्टीभित्र हालीमुहाली चलाइरहेका छन् । यो पार्टी बिगार्ने मान्छेहरू बाबुरामहरुभन्दा यिनै नक्कली आइडी कार्डका डिजाइनकर्ताहरु हुन् । सबैलाई चेतना भया ।’
आनन्दराम पौडेल पनि नेपालका चिनिएका विश्लेषक तथा स्तम्भबार हुन् । उनले आफ्नो फेसबुकमा बाबुरामलार्इ भारतीय एजेन्डका रूपमा चित्रण गर्दै लघु कथाको शैलीमा यसरी लेखेका छन्-
“नेकपा ( भारतवादी ) ले पार्टीबाट राजिनामा गर्नुभयो ‘रे भन्ने चर्चा छ। कस्ले राजिनामा गरेछ ?” हेटौंडा,नवलपुरकी नानीले सोधिन्।
“खोई….. राजेन्द्र महतो, महन्थ ठाकुरहरुले राजिनामा दिनुभएको छैन। त्यही पनि उहाँहरु त खाँटी नेपालवादी हो। डा.शेखर कोइराला, प्रदीप गिरी, सुरेन्द्र चौधरी, अमरेशकुमार सिंह, अर्जुननर्सिंह केसी, विमलेन्द्र निधीहरुले पक्कै राजिनामा गर्नुभएको छैन। उहाँहरु त झन् एक नम्बर नेपालवादी हो। यस्मा शङ्का गर्ने ठाउँ छैन।
दमननाथ ढुङ्गाना, डा.ओम गुरुङ, मल्ल के सुन्दर, कृष्ण हाचेथु, पुरञ्जन आचार्यहरु पार्टीमै हुनुहुन्न। त्यही पनि उहाँहरु जति नेपालवादी हामी कहिल्यै हुन सकेनौं। खोई…..मैले त पत्ता लगाउनै सकिन त।” नन्दरामले लाचारी दर्शाए।
“उपरोक्त लिष्टमा कोही छुटेका छन् कि ? सम्झनुहोस् त !” नानीले पुन झक्झक्याइन्।
“को छुट्यो त ? डा.बाबुराम भट्टराईजीको नाम छुटेछ। त्यसोभए उहाँले पार्टीबाट राजिनामा दिनुभएछ त ? तराईमा आन्दोलन चर्काउन जानखोज्दै हुनुहुन्थ्यो। ‘तराईमा आउनेभए पार्टीबाट राजिनामा गरेर आउनुपर्छ’ भन्ने सर्त राखेका थिए। त्यसैले, राजिनामा दिनुभएछ।” नन्दराम बल्ल छर्लङ्ग भए।’
सामान्य नागरिक पूर्ण कार्की चाहिँ फेसबुकमा बाबुरामको पक्षमा यसरी तर्क गर्छन्-
‘अहिले सामाजिक सञ्जालमा बाबुराम भट्टराईको बिरोध भएको पायको छु । मलार्इ यो कुरा पनि थाहा छ कि बिश्वमा माफियाको सञ्जाल ठूलो छ, यो समुहले गर्ने काम भनेको यदि देशका लागि राम्रो गर्न खोज्यो भने त्यसलार्इ नंगाउने र पंगु बनाउने र त्यसलाई सडाउने। उदाहरण- बहादुर शाह, काजी भीम मल्ल, भीमसेन थापा र देवसमशेर । अब पालो बाबुराम भट्टराईको ।
कार्की प्रश्न गर्छन्- ‘तपाई के आधारमा भन्नुहुन्छ, बाबुराम देशद्रोही भनेर ? काठमाडौको सडक बढाएर भूकम्पको बेला ४० हजार मान्छेको ज्यान जोगाएको बिर्सनुभयो ? लीलामणि पौड्याललाई ल्याउने को हो ? मापसे कस्को पालामा भयो ? टिचिङमा भगवान कोइरालालाई ल्याउने को हो ? सेती परियोजना ल्याउने को हो ?’
बाबुरामबारे कार्कीको थप तर्क छ- ‘ हो, उनले बाहुनबादको बिरोध गरे। जान्ने बुझ्ने सबैले गर्छन्। म पनि गर्छु। २५० बर्षमा नेपाललाई कँहा पुर्यायो ? दुर्इ दिन भारतको नाकाबन्द भयो, नेपालमा हाहाकार । यही हो बाहुनबादकोप्रगति ? उनले नेवार समुदायको केटी बिहे गर्नु उनको अपराध हो? यो सब मनु नीति हो । चाणक्य नीति हो।’
फेसबुकमा रमाइला कुराहरू पोष्ट गर्ने पत्रकार मिलन तिम्सिनाचाहिँ प्यारोडी गीतको शैलीमा यसरी ठट्टा गर्छन् 
‘गर्नु गर्यौ बाबुराम घर छोडेर..
दुनियाँ जिल खुवाएर,
छविलाललाई एक्लै पारेर !‘
त्यस्तै पत्रकार पर्शुराम काफ्ले फेसबुकमा लेख्छन्- ‘डा. बाबुराम भट्टराईले कस्तो पार्टी बनाउलान्, कम्युनिष्ट कि गैरकम्युनिष्ट बनाउलान् ? नयाँ पार्टीमा को कसलाई मिसाउलान्, एमाओवादीमा उनको बहिर्गमनले के असर गर्ला ?भविश्यमा थाहा हुँदै जानेछ । अर्थशास्त्रीय भाषामा भन्दा उनले अहिलेसम्म सप्लाई पोलिटिक्स गरिरहेका थिए, (कतिपय अवस्थामा उनले डिमान्ड एण्ड सप्लाई राजनीति, अथवा दहिचिउरे राजनीति पनि गरेका हुन् । जस्तो,संविधानमा आफैँ हस्ताक्षर गर्ने, आफैँले त्यसको निन्दा गर्ने ), अब डिमान्ड पोलिटिक्समा हाम फालेका छन् ।(एकजना मित्रको भर्खरै टिप्पणि, यहाँ सान्दर्भिक लाग्यो- बाबुरामजी पार्टीभित्र रहँदासम्म डिमान्ड फ्याक्टरका रुपमा थिए, राजनीतिक जीवनको न्यून क्षणमात्रै उनी सप्लाई फ्याक्टर हुन खोजे तर सकेनन् ।) उनको भावि पार्टी केन्द्रिय राजनीतिका लागि निर्णायक होइन, डिमान्ड र डिस्टर्विङ् फ्याक्टरका रुपमा हुने लक्ष्मण देखिँदै छ । प्रेसर ग्रुप पोलिटिक्सका नेता हुने उनको सपना आज प्रकट भएको छ । अहिलेलाई मैले बुझेको यत्ति हो ।’(अनलाइनखबरबाट)


,

0 comments

Write Down Your Responses