Powered by Blogger.
संविधान घोषणापछि किन उठे तरंग ?


  •  डा. सुरेश आचार्य


नेपालमा नेपाली नागरिकका प्रतिनिधिहरुले संविधान सभाबाट संविधान जारी गरेको नेपालीलाई मन प-यो । नेपाली मन भएकाहरुलाई अझ धेरै मन प-यो । उनीहरुले संविधानको स्वागत गर्दै खुशियाली मनाए । संविधानका लागि आठ वर्षदेखि बल्झदै आएको प्रसव पीडाको मुक्ति खुशीको क्षण हुनु स्वाभाविक थियो । मुलुक संविधान लेखनमा मात्रै अल्झदा मुलुक सबै खालका अस्थिरताको शिकार बन्दै आएको छ । यस अवस्थामा मुलुकले अब आर्थिक, सामाजिक, साँस्कृतिक विकासको ढोका खोल्ने आशा आम नेपाली नागरिकले गर्नु अस्वाभाविक होइन ।
तिनलाई पनि संविधानको स्वागत गर्न मन लाग्यो, जसको भूगोल जहाँ भए पनि नेपाली मन थियो । उनीहरुको मनले स्वागत ग¥यो तर अरु कसैका लागि बिरोध जनाएको सन्देश दिनु पर्ने बाध्यता सिर्जना भयो । उनीहरुको मनले भन्यो– म लोकतन्त्रमा बिश्वास गर्छु, यो भन्दा अर्को लोकतान्त्रिक विधि अर्को हुन सक्दैन । त्यसैले यसमा हस्ताक्षर गर्नु पर्छ, यो ऐतिहासिक अवसरबाट हामी चुक्नु हुन्न । तर उनीहरुको बसोबासको भूगोलले आत्म निर्णय गर्न दिएन । अरुको दवाव र प्रभावमा भोलिको राजनीति गर्नु पर्छ भन्ने लाग्यो । उनीहरु बिरोधी जस्ता भए । उनीहरु संविधानमा कमजोरी छन् भन्ने मान्दछन् तर यो संविधान गलत तरिकाबाट आयो भन्न अझै पनि उनीहरुको मनले मानेको छैन ।
यो संविधान तिनलाई मात्र मन परेन, जसले आफूलाई नेपाली भनाउन खोजे तर नेपाली मन बनाउन सकेका छैनन् । नेपाल एउटा स्वतन्त्र र सार्वभौम मुलुक हो भनेर जसले बिश्वास गरेकै छैनन्, उनीहरुलाई नेपालको संविधान लेखिनु खुशीको विषय बन्न नसक्नु स्वाभाविक थियो । संविधान तिनलाई पनि मन परेन, जसले आफूलाई लोकतन्त्रवादी भनाउन चाहे, तर लोकतन्त्रमाथि बिश्वास गर्न सकेनन् वा चाहेनन् । घरमा बसेकाहरुले घर भित्रकालाई आफ्नो ठानेनन्, छिमेकीहरुले घरको समस्या समाधान गरिदेओस् भन्ने चाहे । मुलुकलाई अराजकतातिर लगेर छिमेकीलाई घर भित्र्याउने खेललाई उनीहरुले आफ्नो अधिकारका रुपमा प्रयोग गरिरहेका छन् ।
नेपालमा संविधान जारी भएपछि यसरी तिन खालका नागरिक वर्ग छुट्टिएको छ । पहिलो वर्गमा कुनै भूगोल मात्रको प्रतिनिधित्व छैन, पहाड, हिमाल, तराइ सबै यसमा समेटिएका छन् । नेपाली मन र नेपाली विकासको चाहना जोडिएको छ । मुलुकको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता उनीहरुको मन र मुटुमा रहेको छ । दोस्रो वर्ग जो संविधानका विषयवस्तुमा असहमत छन्, तर संविधान लेखनको प्रक्रियामा असहमति जनाउने ठाउँ देख्दैनन् । उनीहरुमा नेपाली मन छ तर नेपाली मन नहुनेहरुको दवाव र प्रभावमा परेका छन् । उनीहरुमा अराजकताको चाहना छैन । नेपाल बिग्रदा आफू सप्रिने बिश्वासमा उनीहरु लागेका छैनन् । तेस्रो वर्ग, संविधानतः र कानूनतः नेपाली नागरिक हो, तर मन र मुटुमा नेपाल छैन । नेपालमा अशान्ति सिर्जना गरेर ठूलो भाग खाने दाउमा छ । छिमेकीलाई गुहारेर घरको मुली बन्ने सपना देख्दैछ । यो अराजक समूहले दोस्रो खालका नागरिकलाई पनि दिग्भ्रमित गर्ने प्रयास गरेको छ । केही दिग्भ्रमित भएको आभाष भइरहेको छ ।
संविधानलाई अन्तिम रुप दिने क्रममा नेपाली राजनीतिका चतुर खेलाडी कमल थापाले आफूलाई अरु भन्दा आफूलाई कम लोकतन्त्रवादी प्रमाणित गरेनन् । दरवारको संरक्षणमा पञ्चायती निरंकुशतासँगै राजनीतिमा हुर्किएका उनले लोकतन्त्रमा असहमतिको अधिकारको भरपुर उपयोग गरे । आफ्नो वैचारिक पराजय स्वीकार गरे र लोकतन्त्रले नागरिकको बिश्वास जित्न सकेका दिन आफ्नो भावना संविधानमा समेट्न सक्ने सम्भावना देखे । कुनै अराजकता सिर्जनाले मुलुकको हित नहुने देखे । देश र नागरिकका पक्षमा उभिएर संविधानको स्वागत गरे । चित्रबहादुर केसीले पनि आफ्ना धारणा अन्तिम समयसम्म राख्न छाडेनन् । नारायणमान बिजुक्छे पनि आफ्नो बिश्वासमा कहिल्यै डग्मगाएनन् । कम्युनिष्ट भनेर चिनाउने यी दुबै नेताले लोकतन्त्रमाथि बिश्वास गरे । विषयगत असहमति जनाए तर सिंगो संविधानको बिरोध गरेनन् । नेपाली मन संविधानसभामा यसरी प्रकट भयो । दलगत स्वार्थ मात्र हेरेका भए, उनीहरु पनि तेस्रो कोटीमा उभिन सक्थे । तर उनीहरुलाई नेपाली हुनुको गर्वानुभूति भइरह्यो ।

देशप्रति माया हुनु र नहुनुको भिन्नता संविधान घोषणाले प्रष्ट गरिदिएको छ । संविधान जारी भएपछि निकटको ठूलो छिमेकी हुनुका नाताले भारतले उदार हृदय देखाउन सकेको भए नेपाली मन जित्न सक्थ्यो । जसरी नेपालको संविधान सभामा उभिएर बोलेका कुराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली नागरिकको माया पाएका थिए, त्यसरी नै भारतले नेपालीको बिश्वास जित्न सक्थ्यो । ठूलो हुनुको अर्थ बलमिच्याई मात्र होइन, ठूलो हृदय पनि हुनु हो, उदार सोच राख्नु पनि हो भन्ने बुझेको भए दुई छिमेकीबीचको मित्रता अझ मजबूत हुने थियो । हिजोसम्म संविधान लेखन नेपालको आन्तरिक मामिला हो भनी रहेको भारतले घरभित्रको झगडा आफैं मिलाउन तिमीहरु सक्षम छौ भनेको मात्र भए पनि पुग्थ्यो । तर त्यो उदारता भारतीय लोकतन्त्रले देखाउन सकेन । आफ्नो संविधान जारी हुदा मुश्किलले दुई तिहाइ पुगेको जानकारी नभएर भारतले नेपालको ९० प्रतिशत मतको अपमान गर्न पक्कै चाहेको होइन । घरमा बसेकाको गुहार सुन्न अघि छिमेकीले घरमुलीका कुरा सुनेको भए शायद यस्तो अप्रिय प्रतिक्रिया आउने थिएन । छिमेकीप्रतिको सदभावनामा आँच आउने थिएन ।
नेपालको संविधानका ३०८ धारा हरेकमा कमजोरी खोज्न सकिन्छ । राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतिक हरेक कोणबाट कुनै न कुनै खोट लगाउन पनि सकिएला । तर नेपालको संविधान नेपालको संविधान सभाले पारित गरी जारी भएको हो । त्यो संविधान सभाको चुनावलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायले अनुगमन गरेका हुन् । चुनावको निष्पक्षतामा कसैले प्रश्न उठाएको होइन । सबैभन्दा बढी मत खसेको चुनाव पनि यही थियो । आफूलाई लोकतान्त्रिक ठान्ने कुनै मुलुक वा व्यक्ति वा कुनै संघ संस्थालाई त्यो संविधानसभाले गरेको निर्णयलाई प्रश्न गर्ने कुनै अधिकार रहदैन । कुनै अन्तर्राष्ट्रिय कानुनले नेपालको संविधान जारी गर्ने प्रक्रियामा प्रश्न उठाउने ठाउँ छैन । बरु मुलुकभित्रै एकीकृत नेकपा माओवादीले चुनावको परिणाम स्वीकार गर्न आनाकानी गरेको थियो । यद्यपि, उ आफैं यो संविधानको पक्षमा दह्रो ढंगमा उभिएको छ ।
संविधान जारी भएपछिको प्रतिक्रियालाई हेरेर कतिपयले भारत नेपालको हित चाहदैन र नेपाललाई दुःख दिन चाहन्छ भन्ने ढंगमा बिश्लेषण शुरु भएका छन् । भारत नेपालको छिमेकी मात्र होइन, अन्तर्राष्ट्रिय समुदायको सशक्त सदस्य हो । भूपरिवेष्ठित हुनु नेपालको दोष होइन, अन्तर्राष्ट्रिय कानुनले अग्राधिकार प्राप्त गर्नु पनि हो । नेपाली भनिने मानिसलाई भन्सार नाकामा पुग्ने सल्लाह शुरुमा मिडियाले दियो । त्यसपछि त्यहाँका स्वनामधन्य नेपाली क्रान्तिकारीले उनीहरुलाई त्यहा उभ्याए । चित्त दुखाएको भारतका लागि यसले सहयोग नै पु¥यायो पनि होला । तर जसरी सेनालाई सुरक्षाको ब्याक फोर्स बनाउँदा सेना परिचालन भनियो, त्यसरी नै आफैंले नाकामा अवरोध खडा गरेर भारतले नाकाबन्दी ग¥यो भन्नु गलत हुनेछ । नेपालले लोकतान्त्रिक विधिबाट संविधान जारी गरेका कारण नाकाबन्दी गर्छौ भनेर भारत वा कुनै अन्तर्राष्ट्रिय समुदायले भन्न पाउँदैन ।
नेपालीले आफ्नेपालको संविधानबारे भारतको प्रतिक्रियाले नेपालमा प्रति–प्रतिक्रिया उत्पन्न गरेको छ । त्यो भारत बिरोधी नभई नेपालीले नेपालको पक्षमा व्यक्त गरेको प्रतिक्रिया हो । यसले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई बलियो बनाउन मद्दत गरेको छ । जम्मू कश्मिरका विषयमा प्रश्न उठ्दा भारतीय नागरिकमा जुन राष्ट्रिय भावना पैदा हुन्छ, त्यसरी नै नेपालीलाई आफ्नो मुलुकको स्वतन्त्रता र स्वाधीनता प्रिय लाग्नु स्वाभाविक हो । तर दुबै देशका मिडियामा एक अर्काको सम्बन्धमा नै आघात पुग्ने गरी आउने गरेका सूचनाले दुबै पक्षलाई आक्रोशित र उत्तेजित बनाउन पनि सक्छ । यस तर्फ मिडियाकर्मीको सजगता आवश्यक छ ।
नेपालले आफ्नो संविधान आफैं जारी गर्न सकेकोमा र भारतले नेपालको लोकतान्त्रिक आन्दोलनमा सहयोग गर्न पाएकोमा भारत र भारतीय जनता नेपालीभन्दा बढी खुशी हुनु पर्ने हो । रोटी र बेटीको सम्बन्धबारे जानकार भारतीय प्रधानमन्त्री कसरी नेपाल बिरोधी बन्न चाहलान् ? भारतलाई चिढाएर जसरी नेपालले लिने फाइदा धेरै छैन, नेपाललाई चिढाएर वा अपमान गरेर भारतले पनि ठूलो फाइदा लिन सक्दैन । जसरी नेपाल कतिपय आयातीत वस्तुमा भारत आश्रित जस्तो देखा परेको छ, त्यसरी नै भारतकालागि नेपाल उत्तिकै महत्वपूर्ण छ । सानाले दुश्मनी गर्न खोज्दा क्षमा पाउँछ, ठूलाले दुश्मनी गर्दा कसैको सहानुभूति समेत पाउँदैन ।


,

0 comments

Write Down Your Responses