Powered by Blogger.
भारतको सन्देशः अघोषित नाकाबन्दी तत्काल हट्दैन

काठमाडौं, १२ असाेज । भारतले नयाँ संविधानपछि तराई–मधेसमा उत्पन्न समस्या समाधान नभएसम्म नेपाल–भारत सम्बन्ध पूर्ववत् रूपमा सहज हुन नसक्ने जनाउ दिएको छ । ‘सुरक्षा’लाई कारण देखाउँदै भारतले अहिलेकै अवस्थामा भारतबाट आपूर्ति सहज पार्न नसकिनेसमेत स्पष्ट पारेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापासँग सोमबार साँझ भएको भेटमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले यही सन्देश दिएकी हुन् । नेपालमा नयाँ संविधान जारी भएपछिको भारतीय अघोषित नाकाबन्दी तत्काल नहट्ने सन्देश मन्त्री थापामार्फत भारतले नेपाल सरकारलाई दिएको छ 

प्रमुख रूपमा आपूर्तिका विषयमा केन्द्रित भएको वार्तामा आफूले अत्यावश्यक आपूर्ति सुचारु पारिदिन आग्रह गरेको मन्त्री थापाले बताए । ‘नयाँ संविधान जारी हुने अवस्था र त्यसपछिको अवस्थाबारे मैले विदेशमन्त्रीजीलाई विस्तृतमा जानकारी गराएँ र आपूर्ति व्यवस्था सहज पारिदिन भूमिका निर्वाह गर्न आग्रह गरेँ,’ स्वराजनिवासमा भएको वार्ताबारे थापाले भने । थापाले आपूर्ति रोकिँदा नेपालमा भारतविरोधी जनमत बढेको र त्यसले दुवै मुलुकलाई फाइदा नगर्नेतर्फ भारत सरकारको ध्यानाकर्षण गराएको नयाँ पत्रिकामा खबर छ ।
थापाले भारतका पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानसँग पनि यही विषयमा छलफल गर्नेछन् । तर, मन्त्री थापाले ‘अत्यावश्यक सामग्री आपूर्ति नियमित गराइदिन सहजीकरण र सहयोगका लागि’ गरेको आग्रहमा विदेशमन्त्री स्वराजले राजनीतिक सहमतिमार्फत असन्तुष्ट पक्षलाई समेटेर अघि बढे सबै कुरा सहज हुने जवाफ दिएको स्रोतले बतायो । स्वराजले भारतका तर्फबाट नाकाबन्दी नगरिएको, तर नेपालको तराईमा सिर्जित असुरक्षाका कारण यातायात जान नसकेको जवाफ दिएकी थिइन् । भारतले तराई शान्त नहुँदा यातायात आपूर्तिकर्ताले असुरक्षा महसुस गरेकोबारे पहिले नै नेपाल सरकारलाई जानकारी गराइसकेको पनि स्वराजले दोहोर्‍याएकी थिइन् ।
सोमबार साँझ दिल्लीस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा स्वराजले अहिलेको परिस्थिति समाधानले नै दुई देशबीचको सम्बन्ध बलियो हुने उल्लेख गरेकी थिइन् । ‘भारत सहमतिमार्फत नेपालको जारी राजनीतिक परिस्थितिको समाधान भएको हेर्न चाहन्छ । त्यसले स्थिर र शान्तिपूर्ण नेपालका लागि नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन मद्दत गर्नेछ भन्ने कुरा विदेशमन्त्रीले राख्नुभयो,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ । भेटवार्तामा मन्त्री थापाले कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइराला, दूतावासकी सेकेन्ड सेक्रेटरी शिवानी बस्नेतलाई सहभागी गराएका थिए । भारतका तर्फबाट विदेशमन्त्री स्वराजसँग विदेश मन्त्रालयको नर्थ डिभिजन (नेपाल र भुटान) हेर्ने सहसचिव अभय ठाकुर, उपसचिव प्रियंका चौहान सहभागी थिए । साउथ एसियन इकोनोमिक कन्क्लेभमा सहभागी हुन सोमबार नेपाल एयरलाइन्सको जहाजमा दिल्ली आएका थापाले भारतका पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानसँग मंगलबार कुराकानी गर्नेछन् ।


,

0 comments

Write Down Your Responses