चीनमा विशाल सैन्य परेड
जापान विरोधी युद्धमा विजय भएको ७०औँ वार्षिकोत्सव
पैचिंग, १७ भदौ । जापान विरोधी युद्धमा विजय भएको ७०औँ वार्षिकोत्सवको अवसरमा चीनमा विशाल सैन्य परेडको आयोजना गरिएको छ । आज विहान राजधानी पैचिंगस्थित विश्व प्रसिद्ध थियान आनमन स्क्वायमा आयोजना गरिएको एक भव्य समारोहमा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङलगायतका उच्च नेताहरुको सो समारोहमा उपस्थिति रहेको थियो । चिनिया नेताहरुले चिनिया तथा विदेशी पाहुना र विभिन्न क्षेत्रका सर्वसाधारणलाई हात हल्लाएर स्वागत गर्दा लाखौं जनताले गौरवको अनुभव गरेका थिए ।
सो भव्य समारोहमा सरिक हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका विश्वका ३२ देशका नेताहरु बुधवारै चीन पुगेका थिए । १७ देशका १ हजार सेनाको समेत सहभागीता रहेको सो भव्य परेडको अवलोकन गर्न लाखौ चिनिया तथा विदेशीहरु सबेरै थियान आनमन स्क्वायर पुगेका थिए ।
राष्ट्राध्यक्ष सी चिन फिङले सैन्य परेडको अवलोकन गर्दै समय समयमा जनमुक्ति सेनालाई उत्साही गर्न कमरेडहरु अभिवादन भनी सम्बोधन गर्दा हजारौं सेनाहरुले लाल सलाम भन्दै सम्मान जायर गरेका थिए ।
अन्य समयमा पर्यटकहरुको बाक्लो उपस्थिति रहने थियान आनमन स्क्वायमा आज भने सैयौंको संख्यामा सैन्य टैंक, मिसयल, तोप, ड्रोन लगायतका अत्याधुनिक हतियारहरु प्रदर्शन गरिएको थियो । त्यसैगरी पैचिंगको आकाशमा दर्जनौं सैन्य विमान र हेलिकोप्टरहरु रंगीचंगी धुवा निकाल्दै विभिन्न आकारमा उडान भरेका थिए ।
समारोह सम्पन्न गर्दै समारोहस्थलबाट ७० हजार शान्तिका प्रतीक परेवा र सोही संख्यामा रङ्गीचङ्गी बेलुन उडाइएको थियो । मातृभूमिको गुणगान गीतका साथ समारोह सफल रुपमा सम्पन्न भएको थियो ।
0 comments
Write Down Your Responses