Powered by Blogger.
युवा लक्षित तरकारी कार्यक्रममा चरम लापरबाही

नेता देखी एकै परीवारका २ जनालाई अनुदान रकम

सिन्धुली, १० माघ । युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गरी कृषि उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायीकरण गरी आय आर्जन बढाउने उदेश्यले गत आर्थीक वर्ष देखी नेपाल सरकार कृषि मन्त्रालयले सञ्चालन गरेको युवा लक्षित तरकारी कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय, सिन्धुलीले चरम लापरबाही गरेको तथ्य सार्वजनिक भएको छ । 
कार्यालयले युवा लक्षित कार्यक्रम कार्यान्वयन कार्यविधी–२०७२ अनुसार अनुदानको वितरण नगरी राजनैतिक पहुँचको आधारमा नेताहरुलाई वितरण गरेको छ भने एकै परीवारका २ जना सदस्यहरुलाई समेत अनुदान रकम वितरण गरेको पाइएको छ । 
कार्यविधी अनुसार जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित व्यवसायी तरकारी उत्पादन कार्यक्रम बारे माग भई आएका आवेदनहरुको छनौट प्रक्रिया अगाडि बढाउँदा अनुसुचिमा उल्लेखीत सुचकहरुको आधार एव्म स्किम सञ्चालन हुने स्थानको स्थलगत अवलोकन प्रतिवेदन तयार गरी जिल्ला कृषि विकास समितिमा पेश गनुपर्ने व्यवस्था रहेको छ भने स्किम सञ्चालन हुने स्थानको स्थलगत अवलोकन गर्दा सम्बन्धीत जिल्ला कृषि विकास कार्यालय वा कृषि सेवा केन्द्र र गाविस वा सम्बन्धीत स्थानीय निकायले सयुक्त रुपमा गर्नुपर्ने कार्यविधीमा उल्लेख छ । 
तर कृषि विकास कार्यालयले उक्त प्रक्रिया नै पुरा नगरी अनुदान वितरण गर्दा एकै परिवारका २ सदस्यले समेत अनुदान पाउने भएका छन भने तरकारी खेति नै नगरकाहरुले राजनैतिक पहुँच लगाएर अनुदान पाएका छन । एक पटक अनुदान पाएका र संगोलमा रहेका कृषक परीवारलाई पुन अनुदान नदिने कार्यविधीमा उल्लेख भएपनि गत आर्थीक वर्षमा अनुदान लिएका र एकै परीवारकाले अनुदान रकम पाउँदा कार्यालयले चरम लापरवाहि गरेको प्रष्ट भएको छ । 
अनुदानका लागी जिल्लाका ५ सय २० जना कृषकहरुले आवेदन दिएका  थिए । आवेदन दिएका मध्ये ६० जना किसानले अनुदान रकम प्राप्त गर्ने भएका छन । अनुदान रकम लिनेमा नेकपा(एमाले)का जिल्ला उपाध्यक्ष प्रलाद पोखरेल देखी एकीकृत माओवादीको जिल्ला नेतृ जानुका तिमल्सीना सम्म छिन भने अनुदान पाउनेमा सर्वसाधारण किसान भन्दा पनि राजनैतिक पार्टीका स्थानीय नेताहरुनै बढी रहेका छन । 
कार्यविधीमा आलु र मसला खेती बाहेकका तरकारी खेतिलाई तरकारी भन्ने उल्लेख गरिएको भएपनि आलु खेती गरिरहेका नेता प्रलाद पोखरेललाई कार्यालयले अनुदान रकम दिएको छ । 
उता कार्यालयले प्रकाशन गरेको अनुदान पाउनेहरुको सुचनामा एकै परीवारका २ सदस्यहरु समेत रहेका छन । जलकन्या गाविस–२ की सुमित्रा कुमारी फुयाल र मनोज अधिकारी एकै परीवारका सदस्य हुन अर्थात आमा र छोरा हुन तर कृषि कार्यालयले दुवै जनाको नाम अनुदान पाउने सुचिमा प्रकाशन गरेको छ । 
जिल्ला कृषि विकास कार्यालय प्रमुख होमराज विष्टले एकै परीवारका २ जनाले पाउँने सुचना प्रकाशन हुनु कमजोरी भएको स्वीकार गर्दै सच्याउँने बताए । राजनैतिक पार्टीका नेताहरुलाई वितरण गरेको सन्दर्भमा भने नेताको हिसाबले भन्दा पनि कृषकको हिसाबले अनुदान दिइएको उनको भनाई थियो । 
उता कार्यविधीमा ३० प्रतिशत महिला सहभागीता हुनुपर्ने साथै दलित सामाजिक रुपमा पिछडिएका तथा विपन्न् युवा वर्गको हितमा केन्द्रित रहने उल्लेख भएपनि अनुदान पाउने ६० जनामा ११ जना महिला र ४ जना दलित समुदायका कृषकहरु मात्र रहेका छन । 
सरकारले कृषकहरुलाई अनुदानका लागी दिएको रकम वितरणमा नै कार्यालयले लापरवाहि गर्दा सम्बन्धीत कृषकहरुले अनुदान पाउन सकेका छैनन् भने राजनैतिक पहुँच भएका व्यक्तिहरुले मात्र अनुदान पाएका छन । 









,

0 comments

Write Down Your Responses