Powered by Blogger.
बसपार्क निर्माणमा लाखौं खर्च तर गुणस्तरहिन निर्माण कार्य

सिन्धुली, १६ फाल्गुण । कमलामाई नगरपालिका कार्यालयले सिन्धुलीमाढीमा व्यवस्थित वसपार्क निर्माणको लागी ३ वर्षमा लाखौं रकम खर्च गरेको छ । आर्थिक वर्ष २०७०÷७१ बाट बसपार्क निर्माण कार्य सुरु गरेको नगरपालिका कार्यालयले चालु आर्थिक वर्ष सम्म ९३ लाख ५७ हजार ८८४ रकम खर्च हुने गर्ने छ । 
कमलामाई नगरपालिका कार्यालयको जगेडा कोषबाट सञ्चालित वसपार्क निर्माण कार्यमा आर्थिक वर्ष २०७०÷७१ मा १६ लाख ३९ हजार ६० रुपैयाँ, २०७१÷७२ मा ५० लाख र चालु आर्थिक वर्षमा २७ लाख १८ हजार ८२४ रुपैयाँ खर्च हुने नगरपालिका कार्यालयले जनाएको छ । 
बसपार्क निर्माणको लागी यति ठुलो रकम खर्च गरिएको भएपनि निर्माणको जिम्मा पाएका निर्माण सेवाहरुले गुणस्तरीय काम नगर्दा र कार्यालयले कमिशनको प्रभावमा परी कडाईपुर्वक अनुगमन नगर्दा खर्च अनुसारको निर्माण कार्य र गुणस्तरीय निर्माण कार्य हुन सकेको छैन । कार्यालयकै मिलेमतोमा निर्माण व्यवसायीले गुणस्तरहीन काम गर्ने गरेको स्थानीयबासीहरुको आरोप छ ।  झण्डै १ करोड खर्च गरिसकिएको भएपनि तारजाली लगाउने र केहि सटर निर्माण गर्ने काम बाहेक अरु काम हुन सकेको छैन । अघिल्लो आर्थिक वर्षमा २÷२ ओटा सटर निर्माण गरिएको छ भने चालु आवमा पनि ३ वटा सटर निर्माण गर्न लागीएको छ । 
व्यवस्थित वसपार्क निर्माण सँगै नगरपालिका कार्यालयको आन्तरिक आम्दानीमा बृद्धिका लागी सटर निर्माण गरिएको कार्यालयले जनाएको छ । चालु आवमा निर्माण गर्न लागीएको सटर बरको रुखमुनी निर्माण गर्न लागिएको भन्दै स्थानीयवासीहरुले विरोध जनाएका छन । एक स्थानीयले भने, ‘चौतारो बनाउनु पर्ने ठाउँमा नगरपालिका कार्यालयले सटर बनाउन थाल्यो, खालि ठाउँ त देख्नै नहुने भयो ।’ आन्तरिक आम्दानीको वृद्धि गर्न भौतिक संरचनाहरुको निर्माण गर्दा उपयुक्त ठाउँ हो की होइन भन्ने कुरा नगरपालिका कार्यालयले छनौट गर्न नसकेको उनको भनाई थियो । 
बसपार्क निर्माण कार्यको लगत स्टमेट अनुसार ३ मिटर लम्वाई, १ मिटर चौडाई र १ मिटर उचाई भएको ग्याविन जाली १३५ वटा र २ मिटर लम्वाई, १ मिटर चौडाई र १ मिटर उचाई भएको ग्याविन जाली १५० वटा भर्नुपर्ने स्टमेट छ तर उक्त संख्यामा र उक्त नाप अनुसारको ग्याविन जाली भर्ने काम नभएको स्थानीयहरुको आरोप छ । बसपार्क निर्माणको काम लगत स्टमेट अनुसार हुन नसकेको आरोप स्थानीयहरुले लगाउँदै आएका छन । 
अघिल्ला बर्षहरुमा ठेक्का मिलेको कारण झनै गुणस्तरीय निर्माण कार्य हुन सकेको थिएन । ठेक्का मिल्दा कार्यालयलाई निर्माण कम्पनीले प्रतिशतको आधारमा रकम वुझाउनु पर्ने अवस्थाका कारण पनि गुणस्तरीय निर्माण कार्य हुन नसकेको एक निर्माण व्यवसायीले बताए । यस वर्ष प्रतिसप्रर्धामा काम गरिएको भएपनि गुणस्तरीय काम हुन सकेको छैन । 
यस वर्षको निर्माणको जिम्मा पाएको श्री जगतमैयाँ निर्माण सेवाका प्रतिनिधी नरेश कुँवरले भने लगत स्टमेट अनुसार नै काम गरिएको दावि गरे । उता नगरपालिका कार्यालयका कार्यकारी अधिकृत जगत भुषालले भने सकेसम्म गुणस्तरीय काम गराउनका लागी खबरदारी गरिएको बताए । अहिले सम्म प्राविधिक निगरानीमै काम भईरहेको र प्राविधिक र अनुगमन समितिको सिफारीसमा रकम निकासा दिने भएकाले गुणस्तरहिन काम गरेको पाइएमा रकम रोक्का समेत गरीने भुषालले बताए ।  
नगरपालिका कार्यालय अगाडि नै गरिएको कामको समेत कार्यालयले स्टमेट अनुसार काम गराउन सक्दैन अनुगमन गर्दैन भने अन्य ठाउँमा सञ्चालित योजनाहरुको अवस्था के होला ? एक स्थानीयले प्रति प्रश्न गरे । कार्यालयकै चरम लापरवाहिका कारण बसपार्क निर्माण कार्य गुणस्तरीय हुन नसकेको उनको भनाई थियो । 
नगरपालिका कार्यालयले ७ करोड लगानीमा व्यवस्थीत बसपार्क निर्माण गर्ने गुरुयोजना बनाएको छ । सोहि गुरुयोजना अनुसार बसपार्कको निर्माण कार्य भईरहेको कार्यालयले जनाएको छ । गुरुयोजना अन्र्तगत बसपार्क निर्माण भएमा ग्वाङ्गखोलाको नियन्त्रणका लागी तटबन्धन, पसल तथा टिकट काउन्टरका लागी ब्लकहरुको निर्माण र ठुला तथा साना गरी १६६ वटा गाडिहरु पार्कीङ्ग गर्न सकिने क्षमता भएको व्यवस्थीत बसपार्कको निर्माण हुने नगरपालिका कार्यालयका सुचना अधिकारी विनोद खकुरालले बताए । 


,

0 comments

Write Down Your Responses