Powered by Blogger.
भुकम्प पीडित लघु उद्यमीहरुले गरे मिनी प्रदर्शनी

रामेश्वर दाहाल

सिन्धुली, २६ फाल्गुण । विकास सहजीकरण संजाल (डिफान) उदयपुरको शाखा कार्यालय खुर्कोट क्लष्टर १ र सिड्स सिन्धुलीले आ आफ्ना संस्थाद्धारा सहयोग गरी प्रबद्र्धित भएका लघु उद्यमीहरुको १ दिने मिनी प्रदर्शनी मंगलबार सम्पन्न भएको छ । प्रदर्शनी १०६ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा सञ्चालन गरिएको थियो । 
उक्त प्रदर्शनी संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम, अष्ट्रेलियन सरकारको बैदेशिक मामला तथा व्यापार विभागको लागत सहभागितामा सन्चालन एवम् लघु उद्यम विकास कार्यक्रम र जिल्ला लघु उद्यमी संघ, सिन्धुलीको सहयोगमा सम्पन्न भएको हो । शीघ्र उद्यम पुनरोत्थान परियोजना २०७२ बैशाख १२ गते र २९ गतेको बिध्वंसकारी भूकम्प तथा पराकम्पनबाट पिडित जिल्लावासी लघु उद्यमीहरुको सहयोगार्थ बिभिन्न क्रियाकलापहरु सन्चालनको लागि चालु भएको छ । 
विनाशकारी भुकम्पबाट प्रभाबित उद्यमीहरुको उद्यम व्यवसायमा भएको भौतिक, व्यवसायिक, मानसिक क्षतिलाई कम गर्दै छोडेको व्यवसायहरुलाई पुनः संचालनमा ल्याउन र उनीहरुलाई आवश्यक पर्ने बजारीकरणका लागि समेत सहयोग गर्ने हेतुले संंचालित लघु उद्यमीहरुको उक्त कार्यक्रमहरु सम्पन्न गर्न सिन्धुली जिल्लामा जिम्मा पाएको विकास सहजीकरण संजाल, उदयपुर (डिफान) र सिन्धुली एकीकृत विकास समाज (सिड्स) ले आफ्ना नियमित कृयाकलापहरु सम्पन्न गर्ने क्रममा मिनी प्रदर्शनीको आयोजना गरेको संस्थाले बताएको छ । यस प्रकारको प्रदर्शनीबाट बजारीकरणमा सहयोग पुग्ने, उनीहरुको उत्पादनमा प्रचार प्रसार हुने, स्थानीय उत्पादनलाई प्राथमिकता दिई बजार र प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा लिएको मिनी प्रदर्शनी सञ्चालन गरेका आयोजक एक संस्था डिफानका कार्यक्रम संयोजक बिमला काफ्लेले बताईन् । उद्यमीहरुले पनि छाडेको र मानसिक तथा भौतिक रुपमा विक्षिप्त अवस्थामा यो कार्यक्रमबाट व्यवसाय पुनः स्थापना र संचालनमा सहज भएको बताएका थिए । त्यस्तै मनोपरामर्श तालिम, सिपमूलक तालिम, प्रविधि प्राप्ति र बजारिकरणमा सहयोग जस्ता कार्यहरुले गर्दा उद्यमीहरुको व्यवसायिक निरन्तरतालाई झन् सहयोग पुग्न सकेको प्रदर्शनी आयोजक संस्था (सिड्स) सिन्धुलीका कार्यक्रम संयोजक सुरेश खतिवडाले बताए । 
प्रदर्शनीको अवलोकनकर्ताहरुले प्रशंसा गर्दै यी र यस्तै प्रकारका आयमूलक कार्यक्रमहरुबाट महिला उद्यमीहरुको आयस्तरमा बृद्धि भई उनीहरुको जीवनस्तरमा सुधार हुने कुरा प्रदर्शनी अवलोकनकर्ता महिला विकास अधिकृत शुशिला आचार्यले बताइन । प्रदर्शनी महिला दिवसकै दिन आयोजना गरिएको र अधिकांश उद्यमीहरु समेत महिला भएकै कारण यो प्रदर्शनीबाट महिलाहरुलाई थप हौसला पुगेको आचार्यको भनाई छ । प्रदर्शनीमा संस्थाको सहयोगमा प्रबद्र्धित र व्यवसाय पुनःस्थापीत भएका उद्यमीहरुका उत्पादनहरु ढाका, मह, जुनारको जाम, स्क्वास, क्याण्डी, बाँसको मुडा, दुना टपरी, च्याउ, फाईबर व्याग लगायतका सामग्रीहरु राखिएको थियो । 
डिफान उदयपुर र सिड्स सिन्धुलीले जिल्लाको क्लष्टर १ र क्लष्टर २ मा रहेर जिल्लाका २६ गाविसहरुमा सेप्टेम्बर, २०१६ देखि भूकम्पपिडीत उद्यमीहरुको व्यवसाय पुर्नस्थापना र संचालनमा सहजिकरण गर्दै आईरहेका छन् । 


,

0 comments

Write Down Your Responses