Powered by Blogger.
विवाहकै दिन बालबालिकाले रोके बाल विवाह

राजन गाउँले
सिन्धुली २६, फागनु । यहाँका बालबालिकाहरुले विवाहकै दिन एक बालिकाको बाल विवाह हुनबाट रोकेका छन् ।
स्थानीय मिलिजुली बाल कल्वका बालबालिकाहरुले जिल्लाको सोल्पाठना गाविस–२ स्थित हल्डेकी १६ वर्षिया रमिता खत्रिको बालविवाह रोकेका हुन् । रमिताको असहमतिमै उनको परिवारबाट जिल्लाकै लाम्पानटार गाविसका एक २५ वर्षीय युवासंग मशासिवरात्रीको दिन सोमबार राती विबाहको टुङ्गो टाङ्गी गरिएको थियो । 
तर, रमिताको परिवारबाट जवरजस्ती बाल विवाह हुँदै गरेको थाहा पाएपछि सोमबार दिउँसो रमिताको घरमा पुगेका वाल क्लवका बालबालिकाहरुले तत्काल विवाहका सबै कार्य नरोके कानुनी न्यायका लागि प्रहरीलाई खबर गर्ने दवाव दिएर सम्झाई बुझाई गरेपछि विवाहको केही घण्टा अघिमात्र बाल विवाह रोकीएको हो ।
कानुनले बन्देज गरेको बाल विवाहलाई परिवारले जवरजस्त गराउन लागेको चालपाएपछि गाउँभरीका बालबालिकाहरु गएर बेहुलीलाई जग्गेमा राखेर बेहुलाको जिम्मा लगाउनु भन्दा केही घण्टा अघिमात्र रोक्न सफल भएको कल्वकी अध्यक्ष  सोभा लुइटेलले बताइन् । 
उनले भनिन्, बालिका खत्रीको मन्जुर विनानै उनका बुबा तिलकबहादुर खत्री र आमा बुधमायाँ खत्रीले उमेरमा समेत असमान केटासंग विवाह गर्न लागेको चालपाएपछि गाउँका सबै बालबालिकाहरु उनको घरमै गएर केटाको आफन्त समेत राखेर दवाव दिएपछि रोकीएको हो ।’ बालबालिकाको दवाव पछि दुबै पक्ष रमिताको विवाह रोक्न सहमत भएका थिए ।
रमिता फिक्कल उमावि सोल्पामा कक्षा ६ मा अध्इयन गर्दै थिइन् । उनलाई लाम्पानटारबाट एक युवक आफन्त सहित आएर विवाह गर्न परिवारसंग कुराकानी गरेपछि तिलक र बुधमायाँले छोरी रमिताको यही महाशिवरात्रीको अवसर पारेर सोमबार विवाह गरिदिने निर्णय गरेका थिए । रमितासंग विवाहको तयारी गरीएको युवकको बारेमा भने केही खुलाइएको छैन् ।
रमिताले आफुले छोरी भएकै कारण ढिलागरी पढ्ने अवसर पाएको र कम्तीमा एसएलसी नदिएसम्म विवाह नगर्ने अडान लिएपनि परिवारले विवाहका लागि सबै तयारी पुरा गरेपछि बालकल्वलाई खबर गरेकी थिन् । तर, रमिताको काकाको सहयोगमा बाल कल्वले बाल विवाह गर्नु गैर कानुनी कार्य भएकाले जवरजस्त गरे केटा र केटी दुबै परिवारका विरुद्ध उजुरी गर्ने दवाव दिएपछि दुबै परिवारले रमिताको उमेर नपुगेसम्म विवाह नगर्ने भन्दै विवाह स्थगीत गरिएको स्थानीय तथा वडा नागरीक मन्चकी सदस्य पार्वती नेपालीले बताइन ।
विस वर्ष कम उमेरमै बालिकाको मन्जुरी विना विवाह गर्न नपाईने कानुनी प्रावधान छ । विवाहका लागि कम्तीमा पनि केटीको विस वर्ष र केटाको २२ वर्ष उमेर पुग्नु पर्ने कानुनी व्यवस्था रहेको छ । ‘बालबालिकाको सकारात्मक कदमका कारण इच्छा विपरित बाल विवाह हुनबाट रोक्न सफल भएका छन् । उनिहरुको कदमबाट बाल विवाह हुनबाट जोगीएकी रमिता पनि निक्कै खुसी भएकी छिन्,’ नेपालीले भनिन् । बालबालिकाको कदम पछि केटा पक्षका रित्तै घर फर्केका छन् । बाल कल्वले आफ्नो इच्छा पुरा गरेको रमितिाले बताइन् । उनले आफु अब धेरै पढेर आफ्नै इच्छा अनुसार विवाह गर्ने बताउँछिन् ।
उता छोरीको इच्छा र कानुनी कुरा थाहा नपाएकै कारण आफुहरुले छोरीको विवाहको निर्णय गरेको भएपनि त्यो बालबालिकाहरुको आग्रहमा रोकेको बालिकाको बुबा तिलकबहादुर खत्रिले बताएका छन् । 
उनले भने, ‘मेरो पनि आँखा खुली सकेको रहेनछ । बालिकाहरुले सम्झाएपछि मेरो पनि चेत खुल्यो अब छोरीको इच्छा विपरित कुनै निर्णय गर्दिन् । छोरीले पढ्ने चाहाना गरेसम्म पढाउँछु । बाल विवाह गैर कानुनी कार्यमात्र रहेनछ । यसले छोरीको जिवनसमेत जोखिममा पर्ने कुरा थाहा भयो ।’


, ,

0 comments

Write Down Your Responses