Powered by Blogger.
एसएलसीमा मोवाइलको भाइवबर र म्यासेन्जरबाट चिट !

राजन गाउँले
सिन्धुली २२, चैत्र । प्रबेशीका परिक्षा (एसएलसी) मा शिक्षक र विद्यार्थीविच चिट चोर्ने र चोराउने गरेको आरोप लागेको छ । मोवाइलको भाइबर र म्यासेन्जरबाट शिक्षक तथा अभिभावकले विद्यार्थीलाई चिट चोराउने नयाँ तरीका अपनाइएको आरोप लागेको हो । 
परिक्षा हलमा सहभागि विद्यार्थी तथा परिक्षामा खटिएका शिक्षक गार्डबाट मोवाइलले प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परिक्षा केन्द्र बाहिर रहेका शिक्षक तथा अभिभावकलाई म्यासेज पठाई प्रश्नपत्र आउट गने गरिएको र उक्त आउट प्रश्न पत्रका आधारमा उत्तर समेत तयार गरी पुनः भाइबर र म्यासेन्जरबाटै परिक्षा केन्द्रमा परिक्षा दिइ रहेका विद्यार्थीलाई चिट पठाउने गरिएको पाइएको हो ।
परिक्षाको पहिलो र दोस्रो दिन जिल्ला सदरमुकाम माढी भित्रकै परिक्षा केन्द्रमा भाइबर र म्यासेन्जर मार्फत प्रश्न आउट गर्ने र म्यासेन्जरकै माध्यमबाट उत्तर विद्यार्थीसम्म पुरयाउने नयाँ तरीका अपनाइएको पाइएको शिक्षकहरुबाटै आरोप लागेको छ । 
जिल्ला सदरमुकाम माढी स्थित जनज्योती उमावि परिक्षा केन्द्रमा परिक्षाको पहिलो दिन र दोस्रो दिन यसरी चिट चोराउने र चोर्ने काम भएको बताइएको छ । तर, उक्त परिक्षा केन्द्रका केन्द्राध्यक्ष कृष्णप्रसाद निरौलाले भने, ‘केन्द्रबाट वा बाहीरी कुनै केन्द्रबाट प्रश्न आउट भएको भन्ने एकिन भएन तर, परिक्षा हलमा सहभागि विद्यार्थीहरुमा भने म्यासेन्जर मार्फत यस्तो प्रश्नको तयारी उत्तर फोटो र एसएमएस मार्फत परिक्षा हल भित्रका विद्यार्थीसम्म आएको परिक्षा सम्पन्न पछि थाहा भयो । त्यस विषयमा अनुसनधानका लागि जिल्ला शिक्षा कार्यालयमा समेत जानकारी गराइएको छ ।’ 
परिक्षा केन्द्रमा मोवाइलको म्यासेन्जर र भाइवर मार्फत चिट चोर्ने र चोराउने कार्य भएको भन्ने गुनासो आएपछि आइतबारबाट परिक्षा केन्द्रमा खटिने सबै सुरक्षा गार्ड, सहायक केन्द्राध्यक्ष सहितका शिक्षक र विद्यार्थी तथा अन्य कर्मचारीहरुलाई समेत परिक्षा हलभित्र मोवाइल प्रयोग गर्न निशेध गरीएको र केन्द्र भित्र स्वीच अफ गरेर मोवाइल राख्न थालिएको केन्द्राध्यक्ष निरौलाको भनाई छ ।
‘केन्द्रको नाम लिएर गुनासो आएपछि आफैले शिक्षा अधिकारीलाई जानकारी गराएर मोवाइल प्रयोगमा निशेध गरिएको छ । अहिले परिक्षामा खटिने कुनै पनि शिक्षक तथा कर्मचारी र विद्यार्थीहरुले मोवाइल प्रयोग गर्न पाउने छैनन्,’ उनले भने ।
जिल्लामा मोवाइल मार्फत चिट चोर्ने र चोराउने काम भएको भन्दै शिक्षा कार्यालयमा उजुरी समेत गरीएको छ । यसैविच परिक्षाका क्रममा भाइबर र म्यासेन्जर मार्फत चिट चोर्ने र चोराउने नयाँ प्रविधि अपनाइए पछि गेस गाइट र चिटमा मात्र निगरानी गरेका प्रहरी र शिक्षा कार्यालयका अधिकारीहरुलाई भाइबर र म्यासेन्जर थप चुनौती बनेको छ ।
उता परिक्षार्थीहरुले चिट चोर्न नयाँ प्रविधि अपनाएको थाहा भएपछि शिक्षा कार्यालयले आइतबारबाट जिल्ला भरकै परिक्षा केन्द्रमा मोवाइल प्रयोग नगर्न शिक्षक तथा विद्यार्थीहरुमा निर्देशन गरेको छ । परिक्षाहल भित्र कसैलाई पनि मोवाइल नलैजान भनेको छ । यदि कसैले मोवाइल लगेर त्यसको दुरुपयोग गर्दे परिक्षामा अमर्यादित गतिविधि गरे त्यस्ता कर्मचारी र विद्यार्थीलाई कारबाही गरिने समेतको चेतावनी दिइएको जिल्ला शिक्षा अधिकारी बद्रीबहादुर पाठकले बताए ।
जिल्ला सदरमुकाम माढी भित्रैका केही निजी विद्यालयहरुको प्रतिस्पर्धाका कारण यस्तो अफवाह धेरै भएको र सबै कुरामा सत्यता नभएपनि बाँकी दिनमा यस्तो कमजोरी नहोस भन्नका लागि विद्यार्थीलाई परिक्षा केन्द्रमै लान नपाउने र केन्द्राध्यक्ष बाहेकका अन्य शिक्षक गार्डहरुलाई स्वीचअफ गरी केन्द्राध्यक्षको नियन्त्रणमा राख्न भनेको उनको भनाई छ । अघिल्ला वर्षको तुलनामा परिक्षा केन्द्रमा अभिभावक र शिक्षकको भिड लाग्ने ठुलो परिणाममा गेस गाइटहरु परिक्षार्थीले लैजाने कार्य भने न्यून रहेको बताइएको छ ।
जिल्लाका कतिपय परिक्षा केन्द्रहरुबाट केन्द्रमा खटिने कार्यालय सहयोगी, प्रहरी र चिया पसलका सञ्चालकहरुबाट चिया पुरयाउने बहानामा परिक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर ल्याउने र उत्तर भित्र पुरयाउने गरेको समेत आरोप लागेको छ । यस अघि निजी स्तरका बोर्डीङका विद्यार्थीहरुबाट टाइमा समेत लुकाएर चिट परिक्षा हलमा पुरयाउने गरेको पाइएपनि यस पटक मोबाइलको भाइबर र म्यासेन्जरको प्रायेग गरी नयाँ तरीकाबाट चिट चोर्ने र चोराउने काम भएको पाएको हो । यस्तो कार्य देशै भरी हुन सक्नेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । 
म्यासेज मार्फत जिल्लाका जुनसुकै परिक्षा केन्द्र वा जिल्ला बाहिरबाट समेत चिनेका विद्यार्थी र अभिभावकको मोवाइलमा म्यासेज गर्न सकिने भएकाले त्यस्तो कार्य रोक्न देशै भर परिक्षा केन्द्रमा परिक्षा अवधिभर मोवाइल प्रयोगमा रोक लगाउनु पर्ने नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मिनकुमार दाहाल बताउँछन् । जिल्लामा २५ वटा परिक्षा केन्द्र मार्फत ८ हजार ६ सय ४३ परीक्षार्थीहरु परिक्षामा सहभागि छन् ।


0 comments

Write Down Your Responses