Powered by Blogger.
४५ वर्षपछि बल्ल पाए लालपुर्जा


लालपुर्जा वितरण समाराेहमा उपस्थित राज्य मन्त्री सहित अतिथीहरू । फाेटाेः गाैरव कार्की 

सिन्धुली २९, बैशाख । माग गरेको झण्डै ४५ वर्षपछि बल्ल आफुले भोग चलन गर्दै आएको घर जग्गाको लालपुर्जा पाउँदा बुधबार सिन्धुली भुवनेश्वरी–१ का इन्द्रबहादुर पुर्वछानको खुसीको सिमा रहेन । २०२८ सालमै नापी भए पनि बस्तीका कारण कित्ता काट गर्न नसक्ने भन्दै तत्कालीन नापी टोलीले गाउँ ब्लकका रुपमा छुट्याएपछि उनले आफ्नो घर जग्गाको लाल पुर्जा पाउन सकेका थिएनन् । 
तर, जिल्ला नापी कार्यालयले आवश्यक तयारी पुरा गरी २०२८ सालमै नापी भएको तर, कित्ता काट नभएका घर जग्गा धनीलाई लालपुर्जा वितरण गरेपछि उनी मख्ख परेका हुन् । ‘घर पनि छ । जग्गा पनि ४५ वर्षदेखी भोग चलन गर्दै आएका छौं तर, लाल पुर्जा नहुँदा किनवेच गर्न सकेका थिएनौं । भुकम्पले भत्काएको घर बनाउन समेत सरकारले दिने भनेको अनुदान रकम पाउन समेत लालपुर्जा आवश्यक पर्ने भनेको सुनेका थियौं । लालपुर्जा पाएपछि भने अव अनुदान पनि पाइन्छ भन्ने आशा लागेको छ,’ उनले खुसी व्यक्त गर्दै भने ।
गुर्मछान जस्तै भुवनेश्वरी १ कै इन्द्रबहादुर कार्कीले पनि ४५ वर्ष पछि बुधबार आफ्नो घर जग्गाको लालपुर्जा हातमा पाए । उनी ४५ वर्षदेखीको माग बल्ल पुरा भएको बताउँछन् ।  ‘लालपुर्जा नहुँदा सरकारलेनै खोस्ने होकी भन्ने चिन्तामा थियौं तर, आज ४५ वर्षदेखीको सपना पुरा भयो,’ कार्कीले भने ।
गुर्माछान र कार्की जस्ता गाविसका ३१ जनालाई बुधबार एक कार्यक्रमका विच भुमिसुधार राज्य मन्त्री विक्रम थापाले लालपुर्जा वितरण गरेपछि उनिहरु निक्कै खुसी भएका छन् । उक्त गाविसका ३६ जनालाई यस्तो लालपुर्जा वितरण गरिने भएपनि बुधबार ३१ जनालाई वितरण गरिएको जिल्ला नापी कार्यालय सिन्धुलीका प्रमुख छत्रबहादुर लुङ्गेलीले जानकारी दिए ।
२०२८ सालमै रजिष्टेशन भइ कित्ताकाट नभएका गाउँब्लकका जग्गा धनीहरुलाई नियम पुरा गरी लालपुर्जा वितरण गरिएको उनको भनाई छ । राज्य मन्त्री थापा, प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की, प्रहरी उपरिक्षक उमासंकर पन्जियार, जिल्लाका राजनीतिक दलका नेता तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थितीमा जिल्लाको भुवनेश्वरी गाविसबाट पहिलो पटक लालपुर्जा वितरण सुरु गरेको लुङ्गेलीको भनाई छ ।
‘यस पछि जलकन्या गाविसका ३४ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरिएको छ । यस्तै हत्तपते लगायतका गाविसमा समेत छिट्टै काम थालीने छ,’ उनले भने । जिल्लाको कमलामाई नगरपालिका, जलकन्या, भिमेश्वर, रानीवास, हतपते लगायतका गाविसका लालपुर्जा विहिन २ हजार ३ सय ३९ व्यक्तिले आफ्नो घर जग्गा दर्ताका लागी नापी कार्यालय सिन्धुलीमा आवेदन दिएका हुन् । उनिहरु मध्ये छानविन गरी प्रक्रिया पुरा भएकालाई लालपुजाृ वितरण गर्ने जनाइएको छ । उनिहरुले ४५ वर्षदेखी सरकारलाई तिरो भने तिरी रहेका थिए । 
‘सरकारले विगत ३ वर्ष देखी यस्ता जग्गाको कित्ता काट गरी पिडितहरुलाई लालपुर्जा वितरण थालेपनि जिल्लामा भने चालु आर्थिक वर्षबाट सुरु गरीएको छ,’ उनले भने ।
जिल्लामा ३१ वटा गाविसमा १३२ हेक्टर जमिन गाउँ बल्कमा रहेको मध्ये १३० हेक्टर जमिनको नापी कार्य सम्पनन् गरि सकिएको अधिकृत लुंगेलीले जानकारी दिए । जग्गा दर्ताका लागी १९ वटा गाविसबाट आवेदन परेको र सवैभन्दा बढी दुधौली नगरपालिका क्षेत्रका स्थानीयहरुले जग्गा दर्ताको लागी आवेदन दिएको बताइएको छ । 
भुकम्पबाट प्रभावित स्थानीयहरुलाई पुर्ननिर्माण अनुदान प्राप्त गर्न जग्गाधनी प्रमाणपुर्जा अनिवार्य आवश्यक पर्ने भएका कारण पनि कार्यालयले तदारुकताको साथ गाउँ बल्कको जग्गा नापी र दर्ता प्रक्रियालाई अगाडि बढाएको कार्यालय प्रमुख लुंगेलीले बताए । लामो समय देखी जग्गाधनी प्रमाणपुर्जा विहिन बनेर बसेका स्थानीयहरु पुर्जा पाउने भएपछि भने खुसी देखिएका छन । 


,

0 comments

Write Down Your Responses