पुर्ननिर्माणको कामलाई तत्काल अगाडि बढाउन काग्रेसको माग

बुद्धकुमार आछामी
सिन्धुली, १७ जेठ । भुकम्प पिडित आवास पुर्ननिर्माण लगत संकलनमा प्राधिकरणको गम्भीर लापरबाहिका कारण पुर्ननिर्माण अनुदान पाउने सुचिमा छुट्न पुगेका बास्तविक भुकम्प पीडितहरुलाई समावेश गरी अनुदान बितरण तथा पुर्ननिर्माणको कामलाई तत्काल अगाडि बढाउन माग गर्दै नेपाली काग्रेस सिन्धुलीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
२०७२ बैशाख १२, १३ र २९ गते गएको बिनासकारी भुकम्पले जिल्लामा ब्यापक धनजनको क्षति पुयाएको भएपनि पिडितहरुलाई राहत वितरण तथा क्षतिको विवरण संकलन प्रक्रियामा सरकारले चरम लापरबाहि गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सरकारको लापरबाहिका कारण पिडित परीवारहरुको अवस्था दिनानु दिन नाजुक बन्दै गइरहेकाले ज्ञापन पत्र मार्फत तत्काल पुर्ननिर्माणको कामलाई अगाडि बढाउन माग गरिएको नेपाली काग्रेस सिन्धुलीका सभापति उज्जव प्रसाद बरालले बताए ।
अघिल्लो तथ्याकं अनुसार जिल्लामा भुकम्प पिडितको परीचय पत्र पाउने पिडितहरुको संख्या २२ हजार १ सय ८६ रहेको थियो भने पछिल्लो पुर्ननिर्माण लगत संकलनको क्रममा १२ हजार ७० थपिएर कुल ३४ हजार २ सय ५६ पुगेको छ ।
प्रजिअलाइ ज्ञापन पत्र बुझाउँदै नेपाली काग्रेस सिन्धुली सभापति उज्जव प्रसाद बराल । |
अघिल्लो पटक रु १५ हजार र १० हजार अनुदान पाएका गाउँका हजारौं पिडितहरु आवास पुर्ननिर्माण अनुदान पाउने सुचिमा समावेश भएका छैनन् भने हजारौं गैर पीडितहरु अनुदान पाउने सुचिमा समावेश हुन पुगेका छन । जस्का कारण पुर्ननिर्माण अभियानले गति पाउन सकेको छैन । कतिपय गाविसहरुमा घर जग्गा नै नभएकाहरु समेत रु २ लाख अनुदान पाउने सुचिमा समावेश रहेको तथ्यहरु समेत बाहिर आइरहेका छन ।
पुर्ननिर्माण प्राधिकरणले आफ्नो गल्ती स्वीकार गर्दै आवास पुर्ननिर्माणको सम्झौता र गुनासो संकलन दुवै कार्यलाई सँगै अगाडि बढाउने बताए पनि अहिले सम्झौतको कार्य अगाडि बढ्न सकेको छैन । झागाँझोली रातमाटा, भुवनेश्वरी र सोल्पाठाना गाविसबाट सुरु गरिएको पुर्ननिर्माण अभियान अन्र्तगत झागाँझोली रातमाटा गाविसका लाभकर्ता १ हजार २१ परीवार बाहेक अन्य गाविसमा सम्झौता कार्य समेत सुरु हुन सकेको छैन । हाल गाविस तथा नगरपालिका मार्फत गुनासो संकलनको कार्य भईरहेको जिल्ला विकास समिति सिन्धुलीले जनाएको छ ।
नाम छुटेपछि गुनासाे दर्ता गर्दै कमलामाइ नगरक्षेत्रका पिडितहरू । |
अघिल्लो तथ्याकं अनुसार २ हजार ६ सय ३६ परीवारले राहत पाएको कमलामाई नगरपालिकामा आवास पुर्ननिर्माण अनुदान पाउनेको संख्या बृद्धि भएर झण्डै दोब्बर ४ हजार ३ सय ९६ पुगेको छ । त्यस्तै भुबनेश्वरी गाविसमा अनुदान पाउनेको सख्या ४ सय ४२ बाट घटेर २ सय ४२ मा झरेको छ । अरुणठाकुर गाविसमा अघिल्लो रेकर्ड अनुसार १ जनाले मात्र राहत पाएको भएपनि अहिले ६ सय ७५ जना रु २ लाख पुर्ननिर्माण अनुदान पाउने सुचिमा रहेको तथ्याकं सार्वजनिक भएको छ । भुकम्पबाट बढी प्रभावित सुनकोशी गढतिर क्षेत्रका गाविसहरुमा पुर्ननिर्माण अनुदान पाउनुपर्ने हजारौं बास्तविक पिडितहरुको नाम छुटेको छ भने भुकम्पबाट कम प्रभावित क्षेत्रका गाविसहरुमा अनुदान पाउनेका सख्या बढेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको भुकम्प पिडित आवास पुर्ननिर्माण तथ्याकं आफैमा हास्यास्पद रहेको जिल्ला स्थित राजनैतिक पार्टीका नेताहरुले बताउँदै आइरहेका छन ।
भुकम्प गएको झण्डै १ वर्ष पछि करौडौ खर्च गरेर लगत संकलन गरिएको लगत सार्वजनिक भएपनि त्यो लगत हावादारी हुँदा जनताले पिडामाथि झन पिडा भोग्नु परेको नेपाल विद्यार्थी संद्य सिन्धुलीका सभापति उत्पल खड्का बताउछन ।
जिल्लामा लगत संकलनका लागी विभिन्न् चरणमा १ सय ४६ जना इन्जीनियर र सोहि संख्यामा सामाजिक परीचालक परीचालन गरिएको जिल्ला तथ्याकं कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीमा मात्र तथ्याकं संकलनमा झण्डै १० करोड भन्दा बढी खर्च गरिएको श्रोतले बतायो । यति धेरै रकम खर्च गरेर संकलन गरिएको तथ्याकं सार्वजनिक हुन नपाउँदै विवाद सुरु हुनु र पिडितहरुले १३ महिना वितिसक्दा पनि टहरामै रात विताउन बाध्य हुनु सरकारको गम्भीर लापरबाहि रहेको नेपाली काग्रेस सिन्धुलीले बताएको छ ।
0 comments
Write Down Your Responses