Powered by Blogger.
सिन्धुलीमा पनि मनाईयो राष्ट्रिय पत्रकारीता दिवस



पत्रकारीतालाई विकासमा केन्द्रित गर्न जोड 

बुद्धकुमार आछामी 
सिन्धुली, २४ वैशाख । प्रथम राष्ट्रिय पत्रकारीता दिवस सिन्धुलीमा पनि विकासमा सञ्चारको भुमीका विषयक अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । आज देशैभरि विविध कार्यक्रम गरी सरकारले प्रथम राष्ट्रिय पत्रकारीता दिवस मनाएको हो । 
दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले विकासले नै समाजलाई रुपान्तरणको दिशातर्फ लैजाने भएकाले पत्रकारीतालाई विकाससँग जोड्न आवश्यक रहेको बताएका छन । 
राष्ट्रिय पत्रकारीता दिवस मुल समारोह समिति सिन्धुलीका अध्यक्ष एव्म प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले राष्ट्र निर्माणमा पत्रकार र पत्रकारीताको महत्वपूर्ण भुमीका हुने बताउँदै पत्रकारीतालाई विकासमा केन्द्रित गर्न आग्रह गरेका छन । कार्कीले पत्रकारीताको बारेमा सरकारी निकाय र पत्रकार दुवैमा अतिवादी सोच रहेको र त्यो सोच परीवर्तन गर्दै एकअर्कासँग सहकार्य गर्दै अगाडि जानुपर्नेमा जोड दिए । स्थानीय तहमा रहेका सञ्चारमाध्यहरुको विकासका लागी सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग अपरिहार्य हुने भन्दै कार्कीले सहकार्य गरेर अगाडि बढ्न समेत आग्रह गरे । 
त्यस्तै कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी इश्वर कुमार गीरीले सुचनालाई व्यस्थित गर्न सकेमा मात्र समाज रुपान्तरण हुने भन्दै सरकारी कार्यालयहरुले पनि आफ्ना कमजोरीहरु सुधार गर्न जरुरी रहेको बताए । सरकारी कार्यालयहरुले पनि सार्वजनिक गर्नुपर्ने सुचनाहरु समेत सार्वजनिक नगर्ने गरेको बताउँदै त्यसमा सुधार आवश्यक रहेको गीरीको भनाई थियो । कहिले काँही स्थानीय मिडियाहरुलाई विज्ञापन उपलब्ध गराउन कानुनी रुपमा पनि समस्या पर्ने गरेको बताउँदै गीरीले कानुनी सुधार गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाली काग्रेसका जिल्ला सचिब दिपक घिमिरेले पत्रकारीतालाई ब्यवसायीक, निष्पक्ष र विकासमा केन्द्रित गर्न जरुरी रहेको बताए । पत्रकारीता क्षेत्रमा विकृतिहरु निम्तिदै गएको उल्लेख गर्दै सवै मिलेर सुधार गर्न आवश्यक रहेको उनको भनाई थियो । 
कार्यक्रममा उपस्थित पत्रकार महासंघ सिन्धुलीका सभापति द्धारीका काफ्लेले जिल्लाको पत्रकारीताको अवस्थाको बारेमा जानकारी गराएका थिए । काफ्लेले जिल्लाको मिडियाहरु धारासायी अवस्थाको रहेको बताउँदै सरकारी निकायहरुले विज्ञापन स्थानीय तहका मिडियाहरुलाई उपलब्ध गराउने वातावरण मिलाउन आवश्यक रहेको बताए । पत्रकारीताको विकास सँगै चुनौति पनि थपिएकाले त्यो चुनौतिको सामना सवै पक्ष मिलेर गर्न आवश्यक रहेको काफ्लेको भनाई थियो । 
कार्यक्रममा उपस्थित पत्रकारहरुले पत्रकारीता दिवसलाई समिक्षा र प्रतिबद्धताको दिनको रुपमा लिनुपर्ने भन्दै ब्यवसायीक र निष्पक्ष पत्रकारीताको विकासका लागी सवै पक्ष जिम्मेवार भएर लाग्न आवश्यक रहेकोमा जोड दिएका थिए । श्रमजिवि पत्रकारीता ऐन अनुसार पारीश्रमिक पाउनुपर्ने, रेडियो पत्रिका र अनलाईन सञ्चार माध्यमलाई अझ विकसीत र व्यवस्थित बनाउन राज्य गम्भीर हुनुपर्नेमा सहभागी पत्रकारहरुले जोड दिएका थिए । 
सरकारले यस वर्षबाट राष्ट्रिय पत्रकारीता दिवस मनाउन सुरु गरेको हो । दिवस मनाउनका लागी जिल्लामा प्रमुख जिल्ला अधिकारीतको संयोजकत्वमा विभिन्न् सरकारी कार्यालयका प्रमुख तथा पत्रकारीतासँग सम्बद्ध संघ संस्थाका प्रमुखहरु रहेको समिति गठन गरिएको थियो । 
हाल सिन्धुलीमा तीन दर्जन भन्दा बढी पत्रिकाहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपनि आर्थिक एव्म प्राविधिक समस्याका कारण दुईओटा दैनिक, आधा दर्जन साप्ताहिक र केहि माशिक पत्रिकाहरु मात्र सञ्चालनमा रहेका छन भने तीन ओटा रेडियो स्टेशन र तीन वटा अनलाइन पत्रिका सञ्चालनमा रहेका छन । सञ्चालनमा रहेका सञ्चारमाध्यमहरुको पनि आफ्नै कथा र व्यथा रहेको उनीहरुले बताउँदै आएका छन । राष्ट्रिय पत्रकारीता दिवसको अवसरमा दक्ष पत्रकार र व्यवस्थित सञ्चारमाध्यमहरुको विकासमा सरकार गम्भीर भएर लाग्नुपर्ने उनीहरुको माग रहेको छ । 


,

0 comments

Write Down Your Responses