Powered by Blogger.
दर्जनौं स्थानमा निर्माणाधीन मोवाइल टावर अलपत्र

घाटामा नेपाल टेलिकम, मारमा सेवाग्राही 

बुद्धकुमार आछामी 
सिन्धुली, १७ श्रावण । सञ्चार सेवा प्रदायक सरकारी संस्था नेपाल टेलिकम र मोवाइल टावर निर्माण कम्पनीको लापरवाहिका कारण जिल्लाका दर्जनौं स्थानमा निर्माण हुन लागेका जिएसएम मोवाइल टावर २ वर्ष बित्दा समेत अलपत्र अवस्थामा रहेका छन । 
आर्थिक वर्ष २०७१/०७२ मा निर्माण कार्य सुरु गरिएको मोवाइल टावर झण्डै ३ बर्ष बित्दा समेत निर्माण सम्पनन् नहुँदा सेवाग्राहीहरु मारमा परिरहेका छन भने मोवाइल सेवा प्रदायक निजी कम्पनीहरु मोटाउँदै गएका छन । 
विगत वर्ष भारतले गरेको अघोषित नाकाबन्दी र तराई बन्दका कारण निर्माण कार्यमा ढिलाइ भएको भनिए पनि अहिले सम्म निर्माण कार्य सम्पनन् हुन सकेको छैन । जिल्लाका २० स्थानमा निर्माणाधीन अवस्थामा रहेका जिएसएम मोवाइल टावर मध्ये दुई वर्षमा ५ वटा मात्र निर्माण सम्पनन् भएर सञ्चालनमा आएका छन भने  अन्य अलपत्र अवस्थामा रहेका छन । 
एउँटा टावरको एक करोड भन्दा बढी लगानीमा निर्माण हुन लागेको उक्त टावर निर्माण कार्य समयमै नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका जिएसएम मोवाइल प्रयोगकर्ताहरु प्रभावित भएका छन भने नेपाली टेलिकमले करोडौं घाटा व्यहोरीरहनु परेको छ । चिनीया कम्पनी हुवावेले जिल्लाको २० स्थानमा जिएसएम टावर निर्माण गर्ने जिम्मा पाएको थियो । 
केन्द्रिय निकायले नै कम्पनिसँग सम्झाैता गरेर निर्माण कार्यलार्इ अगाडि बढाएकाेले अाफुहरूले केहि गर्न नसक्ने टेलिकम सिन्धुली शाखाका प्रमुख बताउछन । 
कार्यालयका अनुसार हरीहरपुरगढी, पिपलमाढी, क्यानेश्वर, कपिलाकोट, बस्तीपुर, डाडीगुरासे, महादेवस्थान, मझुवा, झा.रा., कुशेश्वर दुम्जा, खाङसाङ्ग, भिमस्थान, लाम्पान्टार, रतनचुरा, तिनकन्या, अरुणठाकुर र कमलामाई नगरपालिकामा जिएसएम टावर निर्माणाधीन अवस्थामा रहेका छन । निर्माणाधीन मध्ये झारा, कनपाका ३ स्थानका र भिमस्थानको टावर सञ्चालनमा आइसकेको टेलिकम सिन्धुलीले जनाएको छ । टावर निर्माण कार्य सम्पनन् भएपछि जिएसएम मोवाइल प्रयोगकर्ताहरुले जिल्लाभरी जुन सुकै क्षेत्रबाट सेवा प्रयोग गर्न सक्ने छन । 
हाल जिल्लामा नगरपालिका क्षेत्रमा ६ र  हर्षाही, दुधौली, हत्पते, भिमेश्वर, झा.रा., भिमस्थान र भद्रकालीमा सहित जम्मा १३ वटा जिएसएम मोवाइल टावर सञ्चालनमा रहेका छन भने मझुवा, हरिहरपुरगढी, झा.रा., खोलागाउँ, वेलघारी, ककुरठाकुर, महादेवस्थान गाविसमा स्काई मोवाइल टावर सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । कमलामाई नगरपालिका क्षेत्रमा भने सिडिएमए, वाईम्याक्स र लैन्डलाईन सेवाको टावर समेत सञ्चालनमा रहेका छन । 
नेपाली टेलिकम सिन्धुलीको असार मसान्त सम्मको तथ्याङक अनुसार जिल्लामा जिएसएम पोष्टपेड मोवाइल प्रयोगकर्ता ५७६ प्रिपेड प्रयोगकर्ता ३५ हजार ७९८, स्काई मोवाइलको पोष्टपेड प्रयोगकर्ता ६३६ प्रिपेड १३ हजार ४८४ सिडिएमएको पोष्टपेड प्रयोकर्ता ९८, प्रिपेड प्रयोगकर्ता १ हजार ९२२ र लैन्डलाइन प्रयोगकर्ता १ हजार ३६१ रहेका छन । त्यस्तै इन्टरनेट सेवा एडिएसएल ग्राहक संख्या २४७ र वाइम्याक्स प्रयोगकर्ता ६६ रहेका छन । 
जिल्लामा पछिल्लो समय नेपाल टेलिकमबाट प्रदान गरिने मोवाइल तथा इन्टरनेट सेवा प्रभावकारी हुन नसक्दा र ग्रामीण क्षेत्रमा समयमै मोवाइल टावरको निर्माण कार्य हुन नसक्दा सेवाग्राहीहरु निजी मोवाइल सेवा कम्पनि एनसेल र स्मार्टको मोवाइल सेवा लिन बाध्य भएका छन भने जिल्लाको जुन क्षेत्रमा पनि सेवा लिन सकिने भएकाले त्यसतर्फ आकर्षित समेत हुँदै गएका छन । 
उता निजी कम्पनीहरुले भने अफरका विभिन्न् प्याकेजहरु ल्याएर दिनानुदिन ग्राहकहरुलाई आफुतर्फ आकर्षित गर्दै गइरहेका छन जस्ले गर्दा नेपाल टेलिकमको सेवाग्राहीहरु घट्दै गएका छन । 





, ,

0 comments

Write Down Your Responses