Powered by Blogger.
बिपी मार्गमा सडक सूचना बोर्ड जीर्ण हुँदा दुर्घटनाको जोखिम बढ्दै


सिन्धुली, १३ साउन । सडक सुरक्षाका लागि अत्यन्तै महत्वपूर्ण मानिने सूचना बोर्डहरू समयमै मर्मत र अद्यावधिक नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएको देखिएको छ। विशेषगरी बिपि राजमार्गमा पुराना, खिया लागेको वा भाँचिएका सूचना बोर्डहरूले सवारी चालकलाई सही मार्ग निर्देशन दिन नसक्दा दुर्घटना निम्तिएको हो।

बिपि राजमार्गका विभिन्न स्थानमा अवलोकन गर्दा देखिन्छ कि कतिपय सडकहरूमा ‘घुमाउरो बाटो’, ‘उकालो–ओरालो’, ‘सावधानीपूर्वक सवारी चलाउनुहोस्’ भन्ने बोर्डहरू पूरै हराइसकेका छन्, भने कतिपय ठाउँमा पढ्नै नसकिने अवस्थामा छन्। यस्तो अवस्थाले अनभिज्ञ चालकहरूलाई समयमै सावधानी अपनाउन कठिनाई हुने गरेको छ।

सम्बन्धीत निकायले समयमै मर्मत सुधारकाे काम नगर्दा जिर्ण वा हराएका सूचना बोर्डले यात्रु र चालक दुवैलाई असुरक्षित बनाएको छ।

यस्तै, ट्राफिक प्रहरीका अनुसार सडकमा सूचना बोर्ड नभएको वा जीर्ण अवस्थाका कारण हुने दुर्घटनाहरूलाई रोक्न नियमित निरीक्षण र मर्मत आवश्यक छ। “सूचना बोर्ड नहुनु पनि अप्रत्यक्ष दुर्घटनाको कारण हो,” सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख माेहमद कलिम अन्जुमले बताउनुभयाे।

सम्बन्धित सरकारी निकाय र स्थानीय तहले सूचना बोर्डहरूको अनुगमन र मर्मतलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको यात्रीहरू बताउछन। "हाम्रो माग हो — हरेक मोड, पुल, खतरनाक क्षेत्रमा स्पष्ट बोर्ड राखियोस्," झापाका एक सवारी चालकले बताउनुभयाे । 

बिपि राजमार्गकाे रेखदेख र मर्मत संभारकाे जिम्मा पाएकाे सडक डिभिजन कार्यालय खाल्टेका सुचना अधिकारी सुदर्शन उप्रेतिले चालू आर्थिक बर्षमा सुचना बाेर्डहरूकाे मर्मत तथा आबश्यक्ताकाे आधारमा जेब्रा क्रसिङ निर्माण कार्य गरिने बताउनुभयाे । 

सडकमा सूचना बोर्डको भूमिका केवल निर्देशन मात्र होइन, यात्राको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित हुन्छ। त्यसैले सम्बन्धित निकायले सूचना बोर्डको अवस्था मूल्यांकन गरी समयमै मर्मत तथा प्रतिस्थापन गर्नुपर्ने देखिन्छ ।


, ,

0 comments

Write Down Your Responses