Powered by Blogger.
राहत वितरण अनावश्यक रुपमा खर्चिलो र प्रचारमुखी भएको निष्कर्ष


काठमाडौँ,२८ जेठ–  अधिकार र सुशासनको क्षेत्रका क्रियाशिल संघ संस्थाहरुले भूकम्प प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण अनावश्यक रुपमा खर्चिलो र प्रचारमुखी भएको निष्कर्ष निकालेका छन् ।
मानवीय जबाफदेहिता अनुगमन अभियान (हामी) ले भूकम्प अति प्रभावित ५ जिल्लामा भइरहेको राहत र उद्दारको स्थलगत अनुगमनपछि बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा विदेशी संघ संस्थाहरुको राहत वितरणले पीडितलाई सहयोग भन्दा पनि व्यंग्य गरेको उल्लेख छ ।

प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै हामीका कन्भेनर मीनवहादुर शाहीले भूकम्प प्रभावित गाउँहरुमा विदेशीहरुको उपस्थिति धेरै भए पनि उताबाट आएको पैसा अधिकांश विलासितामा खर्च हुने गरेको पाइएको बताए ।


शाहीले भने,‘एउटा मोटरसाइकल भाडामा ४५ हजारसम्म खर्च भएको छ, चार लाखसम्म गाडीको भाडा तिरेका छन, भोलेन्टियर भन्दै दुई चार सय डलर दिइएको छ । जबर्जस्ति आफ्नो काम देखाउने प्रयास गरिएको छ ।’
अन्तर्राष्ट्रिय संघ संस्थाहरुले राहत वितरण तथा पुर्ननिर्माणको काम गर्दा स्थानीय संघ संस्थाहरुसँग सहकार्य अनिवार्य हुनुपर्ने निष्कर्ष स्थलगत अध्ययनका क्रममा निकालिएको शाहीले बताए ।

प्रतिवेदनमा भनिएको छ,‘राहत सामाग्री वितरण गर्ने संस्थाको अनावश्यक उपस्थिति, अनावश्यक रुपमा टेन्ट र पाल हाली विलासी जीवन बिताउने प्रयास गरि पीडितहरुलाई व्यंग्य गरिएको देखियो ।’

विदेशीहरुको स्वच्छद उपस्थितिले पीडितलाई राहत भन्दा पनि भड्काउने काम भइरहेको निष्कर्ष निकालिएको छ । बिभिन्न ठाउँमा सामाजिक सांस्कृतिक समस्याहरु पनि देखा परेको प्रतिवेदनमा उल्लेख छ ।

‘कतिपय ठाउँमा राहत वितरणलाई धर्म प्रचारको रुमपा समेत प्रयोग गरिएको छ, त्यस्ता संस्थाहरुलाई सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने देखिन्छ’ प्रतिवेदन सार्वजनिक गर्दै शाहीले भने ।

शाही स्वयं रसुवाको स्थलगत अध्ययनमा थिए । दोलखाका स्थलगत अध्ययनमा गएकी शर्मिला कार्की, सिन्धुपाल्चोकबाट फर्किएका विनोद पहाडी, गोरखाबाट फर्किएका रेम विश्वकर्मा लगायतले पनि आइएनजिओहरुलाई आफूखुसी काम गर्न दिदा सामाजिक समस्या आउने बताए ।

भूकम्प प्रभावित बस्तिमा सामाजिक सुरक्षाको अभाव र राहत वितरणमा कतिपय ठाउँमा भेदभाव भएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नहुने हो भने राहत वितरणमा जस्तै पुर्ननिर्माणमा पनि सरकार असफल हुने कार्यक्रमका सहभागीहरुले बताए ।



, , , , , , , , , , , , , , ,

0 comments

Write Down Your Responses