Powered by Blogger.
सिडियोकै अगाडि च्यातियो मस्यौदा, प्रहरी मुकदर्शक

रौतहटमा संविधान सुझाव संकलनमा मधेसवादी दलको अवरोध
३१ असार, गौर । संविधानको पहिलो मस्यौदा माथी सुझाव संकलन सम्बन्धी छलफल गर्न विहीबार रौतहटमा आयोजित कार्यक्रम मधेसवादी दलका नेता-कार्यकर्ताहरुले विथोलेका छन् ।
गौर नगरपालिकाको सभाकक्षमा संविधानसभा राय-सुझाव संकलन उपसमितिले छलफल आयोजना गरेको थियो ।
कार्यक्रम शुरु हुनासाथ सदभावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवले आयोजकको हातबाट माइक खोस्दै आफूहरुलाई संविधानको पहिलो मस्यौदाप्रति गम्भीर आपत्ती रहेको बताएका थिए । संविधानको पहिलो मस्यौदामै मधेसप्रति उपेक्षा गरिएको र विभिन्न बुँदाहरुमा गम्भीर त्रुटी रहेको भन्दै यादवले कुरा उठाए पछि अन्य मधेसवादी दलका नेता कार्यकर्ताले सभाकक्ष भित्रै प्रारम्भीक मस्यौदा च्यात्दै नारावाजी गरेका थिए ।
प्रहरी मुकदर्शक
रौतहट क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका सभासद जितेन्द्र यादव, पूर्वसभासद कृष्णा यादव, प्रमुख जिल्ला अधिकारी मदन भुजेल मञ्चमा बसिरहेकै बेला आक्रोशित समूहले कार्यक्रमको ब्यानर, कागजपत्रहरु बाहिर ल्याएर जलाएका थिए ।
प्रमुख जिल्ला अधिकारी कै सामुन्ने कार्यक्रम बिथोलिदा पनि प्रहरी मुकदर्शक बनेको थियो । सभाकक्षामा राखिएका कुर्सी र टेबल फालेर, ब्यानर आगजानी गर्दासमेत प्रमुख जिल्ला अधिकारी भुजेल मञ्चमा चुपचाप बसेका देखिन्थे । कार्यक्रममा असामान्य परिस्थिति सिर्जना हुनासाथ संविधानको मस्यौदामा छलफल गर्न भनेर सभाहलमा आएकाहरु कार्यक्रम छाडेर हिँडेका थिए ।
संविधानको प्रारम्भीक मस्यौदामा नागरिकता, नामांकन तथा सिमांकनका विषयमा आफूहरुको असन्तुष्टि रहेको तराई मधेस लोकतान्त्रिक पार्टीका नेता अनिल सिंहले बताए ।
मस्यौदामा मधेस जनआन्दोलनले ल्याएको संघीयता माओवादीको नाम दिएर प्रकाशन गरिएको असन्तुष्ट मधेसवादी दलका नेताहरुको भनाइ छ ।
कार्यक्रम केहीबेर विथोलिएपछि नागरिक समाज र स्थानिय केही व्यक्तिहरु राखेर छोटकरीमा सञ्चालन गरिएको थियो । कार्यक्रममा सभासद यादवले उग्र बन्नुभन्दा असन्तुष्टि दर्ज गराउन सुझाव दिएका थिए ।
‘हामी मस्यौदा लिएर सुझाव कै लागि आएका थियौं । यसरी कार्यक्रम बिथोल्नु राम्रो होइन,’ रौतहट क्षेत्र नम्बर ५ का सभासद यादवले भने, ‘मस्यौदा लिएर सबै नेता जिल्ला जिल्ला जाँदैछन् । त्यसैले उग्र बन्नु भन्दा पनि आफ्ना कुरा राख्न लगाउनु पर्छ ।’


,

0 comments

Write Down Your Responses