Powered by Blogger.
किन सुन किन्दा जर्तिको मूल्य गाभिन्छ, बेच्दा काटिन्छ

सुन पसलेहरुले सुनका गहना बेच्ने बेलामा जर्तिको रकम पनि  जोडेर बेच्ने गर्दछन्। तर सोही गहना उपभोक्ताले विक्री गर्ने वेलामा भने जर्तिको मूल्य पाउँदैनन्।


विभिन्न सुन पसलेहरुको जर्तिको फरक फरक रकम काट्ने तरिकाबाट उपभोक्ताहरु भने मारमा परेका छन्।

सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले महासंघले व्यवसायीलाई १० प्रतिशत सम्म जर्ति काट्न छुट दिएको बताउँछन्।

उनले भने ‘उत्पादनका समयमा सुनको केहि मात्रा नष्ट हुन जान्छ त्यसैको क्षतिपुर्तिको लागि हामीले जर्ति काट्ने गरेका हुन्छाैँ। जसका कारण हामीले खरिद गर्ने बेलामा सुनको मात्रै पैसा ग्राहकलाई दिने गर्दछौँ।’

पत्थर राखेका गहनामा सुनको जर्ति बढी काटिने शाक्यको भनाई छ। पत्थर राखेका गहना निर्माणको क्रममा सुनको मात्रामा धेरै नष्ट हुने हुदाँ जर्तिको मात्रा धेरै काटिने उनले बताए। औंठी, नेकलेस जस्ता गहना निर्माण गर्दा सुनको मात्रा कमै मात्र क्षति हुने भएका कारण यस्ता गहनामा कम जर्ति काटिने उनको भनाई छ।

न्युरोडमा रहेको रिद्धिसिद्धी ज्वेलर्सले एक तोलाको सिक्री बेच्दा खरिद गर्ने दिनमा कायम भएको सुनको मूल्यमा ६ प्रतिशत जर्तिवापतको रकम काटिने बताउँछ। विभिन्न स्थानमा एउटै गहनाको फरक फरक जर्ति रकम काट्ने गरिन्छ ।
सरकारले उचित मापदण्ड नबनाएका कारण यसमा एकरुपता ल्याउन नसकेको शाक्यको भनाई छ। साथै सुनको गहना निर्माण गर्दाको ज्यालाको भाउ समेत भिन्न भिन्न देखिन्छ।

जर्तिकै कारण आफू नोक्सानमा परेको महसूस गर्ने बानेश्वरकी सविता बस्नेत भन्छिन् ‘पाँच महिना अघि औंठी किन्दा जर्तिको रकम पनि जोडेर पैसा लियो। अहिले बेच्दा मैले जर्तिको मूल्य पाइनँ।’ उनलाई ज्यालाको भाउ नपाएकोमा त्यति आक्रोश छैन तर यसरी ठूलो मात्रामा काटिने जर्ति बापतको पैसा फिर्ता नपाउँदा भने ठगिएझैँ लागेको छ।

बुधबार र बिहिवार छापावाल सुनको भाउ प्रतितोला ४८ हजार कायम भएको छ। यो भाउमा सुनको गहना खरिद गर्दा ४ हजार आठ सय सम्म जर्ति बापतको रकम भनेर सुनचाँदी व्यवसायी महासंघले काट्न पाउने शाक्यले बताए।

ज्याला र जर्ति कुन गहनामा कति काट्न पाउने भनेर एकरुपता ल्याउन सकिएको छैन। जसका कारण सुनचाँदी  व्यवसायीहरुले एकै खालको गहनामा फरक फरक मूल्य कायम गरेका छन्।


,

0 comments

Write Down Your Responses